काठमाडौं । डिश मिडिया नेटवर्क अन्तर्गतको डिजिटल होम इन्टरनेसनलले लकडाउनमै २ लाख भन्दा बढी सेट–टप बक्स उत्पादन गरेको छ । डिजिटल टेलिभिजन प्रयोगकर्ता बढेसँगै कम्पनीले सेटटप बक्स उत्पादनलाई प्रथामिकता दिएको हो ।
डिजिटल होम इन्टरनेसनलले केही महिनाअघि सेटटप बक्स उत्पादन थालेको थियो । उत्पादन प्रभावकारी रुपमा हुन नसकेपनि पछिल्लो पटक नेपालमै पहिलो पटक सेटटप बक्स धमाधम उत्पादन हुँदै आएको छ ।
लकडाउन भएपछि कम्पनीले २ लाख भन्दा बढी सेटटप बक्स उत्पादन गरिसकेको डिजिटल होमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव पौडेलले जानकारी दिए । उनका अनुसार यस्तो संकटको समयमा पनि कम्पनीले प्रथामिकताका साथ उत्पादन गरिरहेको छ ।
डिजिटल होम इन्टरनेसनलले सुरुमा ४० करोड रुपैयाँ लगानीमा उक्त सेटअप बक्स उत्पादन थालेको थियो । बजारमा सेटअपबक्सको माग अत्याधिक रहेको भन्दै कम्पनीले लगानी दोब्बर बनाउने तयारी गरेको जनाएको छ । पौडेलले सेटटप बक्सको एसेम्बल प्लान्ट गोदावरीमा राखिएको र उत्पादनको काम निरन्तर भइरहेको जानकारी दिए ।
कम्पनीले उत्पादन सुरु गरेको सेटटप बक्सको प्रविधि चीनको भएपनि डिजाइन भने नेपालमै भइरहेको छ । उत्पादन सुरु गरेदेखि नेपालको माग अनुसार डिजिटल होमले बार्षिक १० लाख यूनिट सेटटप बक्स उत्पादन गर्ने जनाएको थियो । लकडाउनले अपेक्षित काम गर्न नदिएको सीईओ पौडेलको भनाई छ । ।
नेपालमा सेटटप बक्सको माग ८० लाख भएपनि आवश्यकता अनुसार उत्पादन र आयात नभएकाले हाल ३५ लाखमात्र ग्राहक डिजिटल टेलिभिजनको पहूँचमा छन् ।
इन्टरनेट सेवामा आक्रामक बजार विस्तार गर्दै डिसहोम
डिटिएच सेवा मार्फत टेलिभिजन सेवा दिइरहेको डिसहोमले इन्टरनेट सेवामा पनि आक्रामक बजार विस्तार गरिरहेको छ । डिश मिडियाले फाइबर टू दी होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा विस्तार सुरु गरिसकेको छ ।
गत माघमै नेपाल दूरसञ्चार प्राधिकरणद्धारा इनटरनेट सेवाको लाइसेन्स अनुमति पाएको डिसहोमले आक्रामक बजार विस्तारको योजना सहित सेवा सुचारु गरेको छ ।
डिसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यका अनुसार भैसेपाटी, कपन बानेश्वर कोटेश्वर क्षेत्रतिर सेवा विस्तार भइसकेको छ । विस्तारै अन्य स्थानमा पनि डिसहोमको इन्टरनेट सेवा पुर्याउन कम्पनी लागिपरेको र महिनादिन भित्र १० हजार प्रयोगकर्ता इन्टरनेट प्रयोगकर्ता थप्ने योजना रहेको छ ।