काठमाडौं । गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणको नाफा वृद्धि भएको छ । गत आर्थिक वर्ष२०७६/०७७ मा विद्युत प्राधिकरणले ११ अर्ब रुपैयाँ खुदनाफा गरेको छ । प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को तुलनामा ३३ करोड रुपैयाँ नाफा बढी कमाएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ खुदनाफा कमाएको प्राधिकरणले गत वर्ष ११ अर्ब नाफा कमाएको एक उच्च अधिकारीले बताए ।
‘अघिल्लो वर्षभन्दा नाफा घटेको छैन् । केही बढेको छ’ प्राधिकरणका एक उच्च अधिकारीले क्यापिटल नेपालसंग भने, ‘ लकडाउनका कारण भएको छुटका कारण नाफा अझ कम भएपनि ११ अर्ब रुपैयाँ नाफा भएको छ ।’
विद्युत् प्रसारण, वितरण र विद्युत् चुहावटमा सुधार गरेका कारण नाफा बढेको ती अधिकारीले बताए । आव ०७५/०७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
यो पनि पढ्नुहोस
विद्युत प्राधिकरणको नाफा १० अर्ब ६६ करोड, चुहावट घटेपछि आम्दानी बढ्यो
आव ०७२/०७३मा ८ अर्ब ८९ करोड खुद घाटामा थियो । यस्तै जगेडा तथा संचित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सानीमा रहेको थियो । कुलमान घिसिङ कार्यकारी निर्देशक भएपछि चालिएका सुधारका कार्यक्रमहरुले गर्दा विद्युत प्राधिकरणले फड्को मार्दै खुदनाफा उकालो लागिरहेको छ ।
ऋणात्मक रहेको संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । प्राधिकरणले आर्थिक वर्ष ०७३/०७४ र ०७४/०७५मा खुद नाफा क्रमश १ अर्ब ४६ करोड ७३ लाख र २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ गरेको थियो ।
विद्युत चुहावट नियन्त्रणमा हासिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्यपछि ऊर्जा खपतमा बृद्धि, प्राधिकरणका जलविद्युत आयोजनाहरुको उत्पादनमा बृद्धि, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वय लगायतबाट संस्था ४ वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको हो ।
६० मेगावाटको खिम्ती आयोजनाको आधा स्वामित्व आएको छ । महंगो डलरमा भएको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) पनि सकिएकाले चालु आर्थिक वर्षमा नाफा अझ बढ्ने देखिएको छ।
आव ०७२/०७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावट आव २०७६०७७ मा आईपुग्दा १४ प्रतिशतमा झरेको छ । घिसिङले निर्देशक हुँदा लोडसेडिङ अन्त्य गर्ने, प्राधिकरणलाई नाफामा लैजाने र मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउने मुख्य तीनवटा प्रतिबद्धता जनाएका थिए ।