काठमाडौं । टेलिकम कम्पनीहरुकोे अस्वस्थ प्रतिस्पर्धाको कारण सेवा लिने बिद्यार्थीहरु चेपुवामा परेका छन् । पछिल्लो समय नेपाल टेलिकम र एनसेल दुबै सेवाप्रदायकले अनलाइन क्लास सञ्चालनको लागि विभिन्न डेटा प्याकेज उपलब्ध गराएका छन् ।
कुन सेवाप्रदायकको सेवाबाट कक्षा सञ्चालन गर्ने भन्ने बिषयमा बिवाद हुँदै आएको छ । नेपाल टेलिकम र एनसेल विद्यार्थीलाई अनलाइन कक्षाको सेवा दिन रस्साकस्सी सुरु भएको छ ।
निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन नेपाल (प्याब्सन)ले आफ्ना सदस्य स्कुलहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न टेलिकमको सेवा गुणस्तरीय नभएको भन्दै एनसेलको सिम प्रयोग गर्नु भन्ने परिपत्र जारी गरेको छ । प्यावसनले यस्तो परिपत्र जारी गरेपछि विद्यार्थीहरु दोधारमा परेका छन ।
अनलाइन कक्षाका लागि टेलिकमको सेवा कमजोर रहेको आरोप लगाएपछि टेलिकमले प्याब्सनको सो अभिव्यक्तिको खण्डन गरेको थियो ।
सेवाको उपभोग गर्ने अधिकार विद्यार्थीमा रहेपनि प्याब्सनको ठाडो निर्देशनमा विद्यार्थी एनसेलको डेटा प्याक मार्फतनै कक्षा लिन बाध्य बनाईएको छ ।
जबकी कतिपय स्थानमा एनसेलको सेवा गुणस्तर राम्रो नएको अवस्थामा टेलिकमको सेवा उत्कृष्ट चल्ने पनि हुन्छ । आर्थिक चलखेलको प्रलोभनमा प्याब्सनले विद्यार्थीको सेवाप्रयोग गर्ने अधिकार हनन गरेको छ । हाल प्याब्सनको क्षेत्राधिकर भित्र मुलुकभर ६ हजार धेरै स्कुलका १८ लाख विद्यार्थी छन् ।
नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालनको लागी आफुसँग नियमित छलफल भइरहेको अवस्थामा एक्कासी एनसेलसँग सम्झौता गरेपछि प्याब्सन र टेलिकम विवादित बनेका थिए । हाल यो बिवाद झन पेचिलो बन्दै गएको छ ।
प्याब्सनले आफ्ना विद्याथीहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न एनसेलको छुट्टै सिम लिन समेत निर्देशन दिएको छ । कुन सेवाप्रदायको सेवा लिने भन्ने बिषयमा बिद्यार्थीकै हातमा हुने भएपनि अस्वस्थ प्रतिस्पर्धाको कारण तीनै पक्ष विवादित बनेका छन् ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले एन्सेलले ३१३ रुपैयाँमा २३ जीबी डेटा प्याक दिएकाले एमओयू गरेको जानकारी दिए । टेलिकमले सस्तोमा सेवा नदिएपछि एनसेलसंग सम्झौता गरेको उनको जिकिर छ । ‘हामीले सहुलियत दिएका छौं त्यहीअनुसार विद्यार्थीलाई सेवा प्रयोग गर्न आग्रह गरेका हौं’ उनले भने ।