काठमाडौं । साउन १९ गते जनैपूर्णिमाको दिन पूजा गर्न मन्दिर हिँडेकी २५ वर्षीया फुलमाया गुरुङ दोर्दीखोलामा तुइन तर्ने क्रममा डोरी चुडिएर बेपत्ता भइन् । उनको खोजी भइरहेको छ ।
साउन ७ गते नै हेटौंडामा तुइनबाट खसेर ७७ वर्षीय कृष्णबहादुर पराजुलीले ज्यान गुमाए । राप्ती र सामरी खोला दोभानमा रहेको तुइन तर्न खोज्दा खसेर उनको मृत्यु भयो ।
साउन महिनमै तुइनको यी दुइओटा प्रतिनिधिमूलक घटनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ गिज्याएको छ । किनकी, उनले वि.सं २०७२ सालमा आफु पहिलोपटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र देशभरका तुइन हटाउने घोषणा गरेका थिए ।
त्यसको, ५ वर्षपछि पनि सरकारको नेतृत्वमा उनै प्रधानमन्त्री केपी शर्मा ओली नै छन् । तर, उनले घोषणा गरेअनुसार तुइन हट्न नसक्दा सर्वसाधारणले तुइनबाट खसेर अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ ।
देशका विभिन्न स्थानमा अहिले पनि सर्वसाधारणले जोखिम मोलेर नै तुइनबाट वारपार गर्ने गरेका छन् । त्यति मात्रै होइन्, तुइनबाट जोखिमपूर्ण यात्रा गदौ वर्षेनी तुइनबाट औसत ३÷४ जनाले ज्यान गुमाउनु परेको प्रहरीको तथ्यांक छ ।
प्रहरीका तथ्यांकअनुसार,नेपाल भारत सीमाको महाकाली नदीमा तुइन तर्दा २०७२ असारदेखि २०७५ असार मसान्तसम्म १५ जनाले ज्यान गुमाए भने दर्जन बढी बेपत्ता भएका छन् । वि.सं २०७२ सालमा ५ जना र २०७३ मा ४ जनाले तुइनबाट ज्यान गुमाए । त्यस्तै, २०७४ मा दुइजनाले ज्यान गुमाए भने २०७५ मा ४ जनाले ज्यान गुमाएका थिए ।
सरकारले पनि सार्वजनिक तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने कार्यक्रमअन्र्तगत देशभर १४८ तुइन हटाउनु पर्ने भएपनि हालसम्म १२८ विस्थापन भई झोेलुङ्गे पुल निर्माण भएका छन् ।
सस्पेन्सन बृज डिभिजनबाट १२ ओटा, स्थानीय तहबाट २ ओटा तुइन विस्थापित भइ त्ुइन बनेका छन् । अझैपनि २० ओटा तुइन विस्थापित हुन सकेको छैन् ।
२०७६ असोज १ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार स्थानीय तहबाट प्राप्त भएको तुइनको विवरण अनुसार, लागत अनुमान र डिजाइन गरी २०७६/०७७ मा निर्माणधीन ५ ओटा झोलुङ्गे पुल बनाउन समावेश गरिएको छ ।
नेपाल भारत सम्बन्धका कारणले महाकालीमा नदीमा ४ ओटा तुइन अझै विस्थापित हुन सकेका छैनन् । यता, पञ्चेश्वरमा भएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्न हालसम्म भारतको सहमति प्राप्त हुन सकेको छैन् ।
नवलपरासीको बक्कुफाँट, बझाङको इकुलबारे, सुर्खेत, लमजुङ, दार्चुलाको उत्तरी क्षेत्र दुम्लिङ रिठान र मालघाट, वडा नं ४ को बर्तीबगर, मालघाट तल्लो र मालघाट माथिल्लो तथा वडा नं ५ को डोकट र नाजीमा अहिले पनि तुइन यथावतै छन् ।
झोलुङ्गे पुल भएपनि तुइन हटाउन सर्वसाधारण र जनप्रतिनिधिले हस्तक्षेप गर्ने कारणले पनि तुइनबाट हुने दुर्घटना भएको सरोकारवाला बताउँछन् । यसअघि यातायात पूर्वाधार निर्देशनालय हेटौडा, मकवानपुरले राप्ती नदि पारीको मैनाटारमा भएको तुइनको ठाउँमा झोलुङ्गे पुल बनायो ।
झोलुङ्गे पुल बनेपछि तुइन हटाउन प्रशासनले वडाअध्यक्ष सविन न्यौपानेलाई सिफारीस पत्र लेख्यो । तर, वडाअध्यक्ष लगायत त्यहाँका स्थानीयले तुइन हटाउन दिएनन् । फलस्वरुप, साउन ७ गते तुइनबाट खसेर ७७ वर्षीय कृष्णबहादुर पराजुलीले ज्यान गुमाए ।