काठमाडौं । पाकिस्तानले जम्मु र कस्मिरका साथै गुजरातको जुनागढलाई समेत समेटर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री इमरान खानले दुई देशबीच लामो समयदेखि विवाद हुँदै आएको भारतीयको नियन्त्रणमा रहेका जम्मु र कस्मिरका साथै जुनागढलाई समेटेर मंगलबार नयाँ राजनीतिक नक्सा जारी गरेका हुन्।
भारतले गएको वर्ष अगस्ट ५ मा जम्मु र कस्मिर क्षेत्रको विशेषाधिकार खारेज गरेको वर्ष दिन पुग्न एक दिनअघि पाकिस्तानले नयाँ नक्सा जारी गरेको भारतीय दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ ।
भारतले जम्मू कस्मिरबाट लेहलद्धाखलाई विभाजन गरी यी दुबै राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको थियो। विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको थियो ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रलाई सम्बोधन गर्दै यो पाकिस्तानका लागि सबैभन्दा ऐतिहासिक दिन भएको बताएको हिन्दुस्तान टाइम्सले अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
उनले आत्म निर्णयको अधिकार कस्मिरी जनतासँग रहेको भन्दै यो नै पाकिस्तानको आधिकारिक नक्सा हुने बताएका छन्। भारतले केन्दको शासन लागु गरी त्यहाँका नेताहरुलाई नजरवन्दमा राखेको छ ।
जेठको अन्तिम साता नेपालले पनि भारतले मिचेको कालापानी, लिपुलेक, कुटी हुँदै लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको थियो ।
यसबीचमा भारत र चीनबीच लद्धाखको ग्वालान उपत्यकामा सीमा विवाद भएको थियो । चीनले सो उपत्यकालाई आफनो नियन्त्रणमा लिइसकेको छ ।