काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) का कारण पुष्प व्यवसाय धराशायी बनेको छ । लकडाउनका कारण भेटघाट, आतिथ्यता सत्कार, मेला, महोत्सव, विहे लगायतका अन्य गतिविधि हुन छोडेपछि पूmल व्यवसाय चौपट बनेको हो ।
फागुनदेखि नै सरकारले कुनै पनि कार्यक्रम नगर्न भनेपछि फूलको व्यापारमा कमी आउन थाल्यो । चैत ११ गतेपछि लकडाउन यता फूल व्यापार शुन्य प्रायः छ ।
राजधानीमा मात्रै दैनिक १ करोड रुपैयाँको फूलको कारोबार हुने गरेको थियो । लकडाउनकै कारण कारोबार चौपट हुन थालेपछि फूल फाल्नु परेको फ्लोरिकल्चर एशोसियसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।
समग्र लकडाउनको अवधि (४ महिना)मा १ अर्ब रुपैयाँ भन्दा बढिको फूल मलखाँदमा फालेको उनले जानकारी दिए । फागुनदेखि मंसिरसम्म विदेशबाट फूल आयात शुन्य हुने भएकाले त्यसमा भने कुनै असर परेको छैन् । मंसिर, पुस र माघ गरी तीन महिना मात्रै विदेशबाट फूल आयात हुने सिजन हो । ९ महिनामा हुने फूलको उत्पादनले झन्डै देशलाई नै आत्मनिर्भर बनाउने अवस्था रहेको कसजु बताउँछन् ।
ठूलो र साना पुष्प उद्यमी निकै तनाबमा र पेशाबाटै पलायन हुने अवस्था पुगेको उनले सुनाए । ‘लकडाउनले यति धेरै क्षति भयो कि ठूलो लगानी र प्रविधि प्रयोग गरेर पुष्प खेती गर्ने उद्यमी तथा व्यवसायीलाई बचाउनका लागि धेरै गाह्रो स्थिति छ । पलायन हुने अवस्था आइसक्यो’ उनले भने, ‘सबै पुष्प उद्यमी ‘फ्रस्टेसन’मा छन् । के गर्ने भन्ने नै अन्योल छ ।’
उत्पादित फूलको अवधि कम्तीमा ३ हप्ताको हुन्छ । निरन्तर फूल उत्पादन भएर कारोबार हुन्छ । अहिलेको फूल ‘डम्प’ गर्ने तथा कम्पोष्ट मल बनाउन प्रयोग भएको छ । ‘सबै फूल टिपेर भकारोमा हाल्नुपरेको छ । कतै पनि फूलको माग र कारोबार नहुँदा हामी पेशाबाट पलायन हुने अवस्था आयो’ गोदावरीका एक पुष्प व्यवसायीले गुनासो गरे ।
लकडाउनका कारण फ्यानले हरेक वर्ष फागुनमा आयोजना गर्न पुष्प प्रदर्शनी स्थगित समेत गरेको थियो । आउँदो कात्तिकमा पनि पुष्प मेला गर्ने भने पनि त्यो हुने अवस्था छैन् ।
सरकारले पुष्प खेती र व्यवसायमा लगानी गर्नेलाई बचाउने खालको नीति नल्याएको श्रेष्ठ बताउँछन् । भोली, पुष्प व्यवसाय बचेमा मात्रै कर तिर भन्ने नीति लिएको उनले बताए ।
किसानको समस्यालाई कृषि तथा पशुपन्छीं मन्त्रालयले पनि त्यति चासोका साथ हेरेको छैन् । कृषिमन्त्री घनश्याम भुसाल समेत पुष्प खेती गर्ने किसान र व्यवसायीको समस्यामा जानकार नै छन् । उनले तत्काल सम्बोधन गर्न सक्ने गरी ठोस योजना ल्याएका छैनन् ।
मन्त्रालयले लकडाउनका कारण धराशायी उन्मुख भएको व्यवसायीका समस्या सम्बोधन र यसलाई बचाउन के गर्नुपर्छ भन्नेबारे प्रष्ट हुन सकेको छैन् । यस विषयमा बुझ्न खोज्दा कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी सम्पर्क बाहिर रहे ।
साढे ६ अर्ब लगानी जोखिममा, २० हजारले गुमाए रोजगारी
अहिले फ्यानसँग आवद्ध भई फूल उत्पादन गर्ने देशभर ७०० भन्दा बढि पुष्प व्यवसायी छन् । पुष्प व्यवसायका क्षेत्रमा अहिलेसम्म साढे ६ अर्ब रुपैयाँ लगानी भएको छ । झन्डै आत्मनिर्भर बन्ने अवस्था रहेको व्यवसाय लकडाउनका कारण नै धराशायी भएको श्रेष्ठको गुनासो छ । कोभिड १९ को संक्रमणको अवस्था झन्डै बढ्दै गयो भने पुष्प व्यवसाय नै नरहने बताउँछन् । हालसम्म १५७ हेक्टरमा फूलको व्यवसायीक उत्पादन हुने गरेको छ ।
४३ हजार पुष्प किसान तथा उद्यमी आवद्ध छन् । उनीहरुले प्रत्यक्ष रोजगारी पाएका थिए । लकडाउनले अहिले नै २० हजार बढीले पुष्प व्यवसायबाट रोजगारी गुमाइसकेका छन् । यही अवस्था रहिरहने हो र सरकारले राहत प्याकेज नदिए यो व्यवसाय क्षेत्र धराशायी नै हुने श्रेष्ठको जिकिर छ ।
भ्रमण वर्ष लक्षित फूलको लगानी क्षति
पुष्प व्यवसायीले लकडाउनको अवधिमा मात्रै होइन्, भ्रमण वर्ष २०२० का लागि आवश्यक पर्ने फूल स्वदेशमै उत्पादन गर्न झन्डै २० करोड रुपैयाँ थप लगानी गरेका थिए । कोभिड महामारीकै कारणले भ्रमण वर्ष स्थगित हुँदा खेतीमा गरेको लगानीबाट पनि पुष्प उद्यमीलाई ठुलो नोक्सान भयो ।
भ्रमण बर्ष २०२० का लागि समेत फूलको उत्पादन बढाउन गरिएको लगानी समेत प्रभावित हुँदा पुष्प उद्यमी निराश भएका छन् । पुष्प खेतीमा लागेका किसान र प्रविधिमैत्री तरिकाले व्यवसायमा लगानी गरेकालाई समेत सरकारले नीतिगत रुपमा समेट्न सकेको पुष्प व्यवसायीहरु बताउँन् । यसअघि हरेक वर्ष फूलको कारोबार तथा बजार १२ प्रतिशत बढिरहेको थियो ।
कृषिमन्त्रीको वेवास्ता
फागुनमै सरकारले कुनै पनि समारोह नगर्न भनेपछि अधिकांश सभा, समारोह र अन्य कार्यक्रम रोकिए । त्यसपछि फूलको व्यापार सुस्ताउन थाल्यो । त्यसपछि पुष्प व्यवसायीले कृषिमन्त्री भुसाललाई भेटेर आफ्ना समस्या र गुनासा राख्न खोजे । मन्त्रीले विभिन्न बाहना बनाएर मन्त्रीले भेट नगरेको आरोप व्यवसायीको छ ।
पुष्प फार्म जान परिचयपत्र नदिएको र पास उपलव्ध नगराएको श्रेष्ठ बताउँछन् । ‘हामीले पुष्प फार्म बचाउन कृषिमन्त्री भेट्न चाहन्थ्यौं । तर, उहाँले आजभोली भन्दाभन्दै अहिलेसम्म पनि भेट हुने समय दिनुभएन’ उनले भने, ‘मन्त्रीज्यूले नै चारचोटी भेट्ने समय दिएपछि चारै पटक भेट स्थगित गर्नुभयो ।’