काठमाडौं । एयर डेष्टिनेसन जिल्लामा कोरोना संक्रमण उच्च गतिमा फैलिन थालेसँगै उडानको तयारीमा रहेका एयरलाइन्सहरु उडान भर्ने/नभर्ने विषयमा थप अन्यौलमा परेका छन् ।
भदौ १ गतेबाट आन्तरिक उडान गर्न आवश्यक सम्पूर्ण तयारी गरेका एयरलाइन्स सञ्चालनहरु उडान गर्ने/नगर्ने विषयमा अन्यौल भएका छन् । खासगरी तराईका जिल्लामा कोरोना संक्रमण उच्च गतिमा फैलिन थालेपछि त्यहाँका सरकारले लकडाउन गरेका छन् । लकडाउन हुने वित्तिकै उडान अन्यौल भएको एयरलाइन्सहरुले बताएका छन् ।
चैत ११ गतेदेखि बन्द रहेको हवाई उडान भदौ १ गतेबाट खुलाउन केन्द्र सरकारले अनुमति दिएको थियो । तर, वीरगन्ज, बिराटनर, पर्सा, जनकपुर, सप्तरी र नेपालगञ्जलगायतका क्षेत्रमा स्थानी सरकारले लकडाउन गरेपछि उडान थप अन्यौल बनेको हो ।
करिब ५ महिनापछि उडान सुचारु गर्न पाउने भएपछि उत्साहित भएर तयारी थालेका व्यवसायीहरु एक्कासी भाइरसको संक्रमितहरु बढेपछि अन्यौलमा परेका हुन् । अहिले तराई क्षेत्रका अधिकाशं जिल्लाले साउन ३२ गतेसम्मलाई लकडाउन गरिरहेको छ ।
यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनोज रिमालले लकडाउन बढीरहे उडान नगर्ने बताए । ‘सरकारको निर्णयसँगै आन्तरिक तयारी तीब्र पारेका छौं,’ सीईओ रिमालले भने ‘तर, संक्रमतिको संख्या बढ्दै गए उडान रोक्ने छौं ।’ अहिलेकै अवस्थामा तराईका क्षेत्रमा उडान गर्ने अवस्था नरहेको उनले बताए ।
श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले तयारी तीब्र पारे पनि बढ्दो संक्रमणका कारण दोधारमा परेको बताए । ‘बढ्दो संक्रमणलाई हेर्दा १ गतेबाट आन्तरिक उडान सबै ठाउँमा हुने सम्भावना न्यून छ,’ प्रवक्ता मानन्धरले भने, ‘जोखिम कम भएका क्षेत्रमा उडानका लागि तयारीमा छौं ।’
बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले संक्रमण बढिरहेमा निर्धारित मितिमा निर्धारित ठाउँमा उडान गर्न नसकिने बताए । यात्रुहरुको चापको आधारमा पहिलो प्राथमिकता तराईका क्षेत्र परेपनि कोरोनाको जोखिम धेरै रहेकोले ती ठाउँमा तत्कालै उडान गर्न समस्या हुने उनको भनाई छ ।
पछिल्लो समय काठमाडौंमा पनि संक्रमण बढिरहेको छ । आइतबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले संक्रमितको संख्या बढिरहेमा यातायातका साधानहरुलाई जोरविजोर प्रणालीमा चलाउनेदेखि नाकाहरु बन्द गरेर कडा लकडाउन समेत गर्नुपर्ने अवस्था आउने बताएका थिए ।