काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन) को अन्त्य घोषणा गरेपछि साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्ट खोल्ने निर्णय गरेको थियो । सरकारले खुला गरे पनि पाँचतारे ठूला होटलहरु अझै सञ्चालनमा आएको छैन ।
काठमाडौंका दुईओटा पाँचतारे बाहेक अन्य होटलहरु सञ्चालनमा आएको छैन । नक्सालमा रहेको होटल म्यारियट र ठमेलमा रहेको अल्फट बाहेक व्यवस्थापनले अन्य पाँच तारे होटल सञ्चालनमा ल्याएका छैनन् ।
ती दुई होटल लकडाउनका बीचमा पनि सञ्चालनमा थिए । स्वास्थ्य सम्बन्धी आवश्यक प्रोटोकलहरु पुरा गरेर दुई होटलहरु सञ्चालन भइरहेको थियो भने अन्य ठूला होटल भने अझै सञ्चालनमा नआएका हुन ।
बैशाख १ गतेबाट पुस १५ सम्म लागू हुने गरी ठूला होटलका कर्मचारीहरुलाई न्यूनतम १० हजार रुपैयाँ तलब दिने गरी मजदुर संगठनहरुबीच सहमती गरेको थियो । कुनै मजदुरलाई बोलाइयो भने साविकको तलब दिने भनिएको थियो । त्यहि भएर पनि अहिले ठूला होटलहरु सञ्चालनमा ल्याउन नचाहेको बुझिएको छ ।
काठमाडौं भित्र रहेका पाँच तारे होटलहरु अन्नपूर्ण, र्याडिसन, साङग्रिला, सोल्टी, एभरेष्ट, हायात, याक एण्ड यती सञ्चालनमा आएको छैन । उनिहरुले अन्तर्राष्ट्रिय उडान सुचारु नभएसम्म आफ्ना ग्राहकहरु नआउने भन्दै होटल बन्द गरिरहेका छन् । सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने भएको छ ।
होटल एसोशिएसन अफ नेपाल (हान)को तर्फबाट भने सरकारसँग सहुलियत दरको कर्जा मागेको थियो । हानले मागेको सहलियत दरको कर्जा दिने सरकारको निर्णय भइसक्दा समेत ठूला होटलहरु सञ्चालनमा नआउनु गलत भएको साना होटल व्यवसायीहरुको भनाई छ ।
अहिले तारे होटलहरु र साना होटलहरु सञ्चालनमा आइसकेका छन् । उनिहरुले सीमित जनशक्ति लिएर १५ गतेबाटै होटल सञ्चालनमा ल्याइसकेका छन् । हानका महासचिव साजन शाक्यले केही होटलहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरी सञ्चालनमा आएको बताए ।
उनले होटल खोल्ने वा नखोल्न भन्ने विषय सञ्चालकको भरमा पर्ने भएकोले हानको तर्फबाट व्यवसायीहरुलाई कुनै दबाब दिन नमिल्ने बताए । हामीले सरकारले गरेको निर्णयको स्वागत गरेका छौं र होटलहरु सञ्चालनमा ल्याएका छौं, महासचिव शाक्यले भने,अरु साथीहरुले खोल्ने वा नखोल्ने भन्ने उनिहरुको स्वविचार हो’ ।
तारे होटल क्राउन प्लाजाका सञ्चालक युवराज श्रेष्ठले कोरोना भाइरसको जोखिम न्यूनकरणका लागि आवश्यक सबै प्रोटोलहरु पुरा गरी सञ्चालनमा ल्याइसकेको जानकारी दिए । होटल सञ्चालनमा आएसँगै केही ग्राहकहरु समेत आउन थालेको उनको भनाई छ ।
राजधानीमा रहेको होटल एयरपोर्ट पनि सञ्चालनमा आइसकेको छ । सो होटल तीन तारे हो ।
पाँच तारे होटलहरु के कारणले सञ्चालनमा नल्याएको हो भन्ने विषयमा हानका अध्यक्ष एवंम अन्नपूर्ण होटलका सञ्चालक सिर्जना राणासँग प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन ।