काठमाडौं । राजधानीको ठमेल, विदेशी पर्यटकहरुको प्रमुख आकर्षण केन्द्रको रुपमा परिचित छ । नेपालमा आउने ९९ प्रतिशत पर्यटकहरु ठमेलमा पुगेकै हुन्छन् । पर्यटकहरुलाई लक्षित गरी बनाइएका रेष्टुरेन्ट, होटलहरुले उनिहरुको मन सधै लोभ्याइरहेको हुन्छ ।
कोरोना भाइरस (कोभिड –१९) को महामारीले प्रमुख पर्यटकीय बजार ठमेल खाली भएको छ । २४ सैं घण्टा भरिभराउ हुने ठमेल अहिले सुनसान छ । सरकारले साउन १५ गतेबाट होटल र रेष्टुरेन्ट सञ्चालन गर्ने निर्णय गरेसँगै केही होटल तथा रेष्टुरेन्टहरु खुलेका छन् ।
ठमेलमा रहेका रेष्टुरेन्टहरुको भीडमा नर्सिङ चोक नजिकै रहेको के–टु रेस्टुरेन्टले सबैको मन तानेको हुन्छ । बाहिरबाट हेर्दा सामान्य देखिने सो रेष्टुरेन्ट घर भित्रको घर भन्दा पनि फरक पर्दैन् ।
नर्सिङ चोकबाट काठमाडौं गेष्ट हाउस तर्फ जाने बाटोमा छेउमै छ के–टु रेस्टुरेन्ट एण्ड बार । सानो ढोकाबाट भित्र छिर्ने बित्तिकै एकातर्फ ठूलो किचन देखिन्छ भने अर्को तर्फ माथि जाने भर्याङ छ । बाहिर छुट्टै घरबाट छिरिन्छ भने भित्र जादा अर्कै घरमा प्रवेश गरे जस्तो आभास हुन्छ ।
जब रेष्टुरेन्ट भित्र छिरिन्छ, त्यहाँको वातावरण टिपिकल नेपाली छ । रुपमै बनेको जस्ता काठै काठका टेवल र कुर्सिहरुहरुले विदेशी पाहुनाहरुलाई पर्खिरहेका देखिन्छ ।
अक्सफर्ड विश्वविद्यालयका सेफ
रेस्टुरेन्टमा विश्व चर्चित अक्सफोर्ड विश्वविद्यालयका पेस्ट्री सेफ थोमस फिलरोएजले तयार पारेको मेन्यु अनुसारको परिकारहरु पाइन्छ । थोमसँग करिब ५ वर्ष काम गरेका सेफ रोहिनी अर्याल अहिले के–टुमै छन् ।
थोमस ज्याठामा रहेको किलरोएज रेष्टुरेन्टमा १५ वर्षअघि काम गर्न आएका थिए । सो रेष्टुरेन्ट अहिले बन्द भइसकेको छ । किलरोएज एकताकाको सबैभन्दा चर्चित रेष्टुरन्ट हो ।
त्यहि रेष्टुरेन्टको स्वाद अहिले के–टुले मेटाइरहेको सञ्चालक एकराज अधिकारी बताउछन् । के–टुमा पाइने खानाको परिकारको स्वाद कुनै पनि होटल तथा रेष्टुरेन्टमा नपाइने उनको दाबी छ ।
पछिल्लो समय केही कर्मचारीहरुले छोडेर गएपछि अन्य होटल तथा रेष्टुरेन्टमा फाट्टफुट्ट त्यस प्रकारका परिकारहरु पाए पनि स्वादमा आफुहरु पहिलो रहेको उनले बताए ।
के–टुमा फ्युजन खाना पाइन्छ । जुन, अन्य रेष्टुरेन्ट र होटलमा पाइदैन । त्यहाँ किमि मसरुम पेपर सस + एपल मम पाइन्छ । यस्तै चिकेन वेष्ट त्यहाँको मुख्य परिकार हो । चिकेन वेष्टसँग पाइने सस अन्य ठाउँमा पाइदैन ।
२० वर्ष पुरा
ज्याठामा सञ्चालित(जुन अहिले बन्द छ) किलरोएज रेष्टुरेन्ट सञ्चालन रहँदा रहदै सन् २००० मा खुलेको के–टु रेष्टुरेन्टका सञ्चालक थिए क्यानाडाका नागरिक रोवट डिजाडेन्ट ।
किलरोएजमा काम गर्दागर्दै अधिकारीले पनि के–टुमा लगानीकर्ताको रुपमा भित्रिए । किलरोएज बन्द भएपछि रोवट पनि उतै गए । अहिले के–टुमा अधिकारीको मात्र एकल लगानी रहेको छ ।
कोभिडपछि नेपालीलाई भारी छुट
कोभिडपछि नेपाली ग्राहकहरुलाई लक्षित गरी के–टुले मेनुमा भारी छुट दिने भएको छ । गुणस्तरमा कुनै कमि नआउने गरी फुड र ड्रिक्समा २२ प्रतिशतसम्म छुट दिएको छ ।
नेपालीहरुले पनि के–टुको खाना चाख्ने अवसर मिलोस भनेर छुट दिइएको सञ्चालक अधिकारीको भनाई छ । ‘के–टु र अन्य रेष्टुरेन्टको खानाको स्वादमा के फरक छ भन्ने थाहा दिने मुख्य उद्धेश्य रहेको छ,’उनले भने ।
कोभिडले नेपालीहरुलाई के–टुको प्रचार प्रसार गर्ने अवसर मिलेको बताउछन् । नेपालीहरुलाई आकर्षण गरियो भने अफ सिजनमा पनि रेष्टुरेन्ट भरिभराउ गर्न सकिने उनको सोच छ ।
अहिले सामान्य स्टेगको मुल्य ५५० देखि ६०० रुपैयाँसम्म पर्ने गरेको छ । छुट दिनुअघि सोही स्टेगको ८०० देखी १ हजार रुपैयाँसम्म पर्ने गरेको थियो ।