काठमाडौं । सरकारले लकडाउन खुला गरेसँगै पदयात्रामा आउने विदेशी पर्यटकहरुको लागि बुकिङ खुला गरेको छ । ट्रेकिङ्ग एजेन्सी एशोसियसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघले बिहीबारबाट पदयात्राका लागि बुकिङ खुला गरेको हो ।
टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले स्वास्थ्य सम्बन्धी सबै प्रोटोकलहरु पुरा गरी यात्रा गराउने उद्धेश्यले बुकिङ खुला गरिएको जानकारी दिए । ‘सेप्टेम्बर, अक्टोबर र नोभेम्बरका लागि बुकिङ खुला गरेका छौं अध्यक्ष भुजेलले भने, ‘त्यो बेलासम्म सहज हुन्छ भन्ने अपेक्षा लिएका छौं ।’
हिउँदे सिजन पदयात्राका लागि सबैभन्दा उत्तम समय मानिन्छ । पदयात्रामा रुची राख्ने धेरै विदेशीहरु यो सिजनमा आउने भएकोले पनि त्यसलाई मध्यनजर गरी अनलाइन बुकिङ सुरु गरिएको उनको भनाई छ ।
लकडाउन जारी रहेकै बेला धेरै विदेशीहरुले पदयात्राको लागि बुकिङ खुला कहिलेबाट हुने भन्दै चासो दिइरहेको उनले बताए । ‘हामीलाई आशा छ,पदयात्राका लागि यो सिजनमा धेरै विदेशीहरु नेपालमा आउने छन ।’ अध्यक्ष भुजेलले भने ।
विश्वभर कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले २०७६ चैत ७ गतेदेखी पदयात्रामा जान रोक लगाएको थियो । पोखरा हुँदै पदयात्राका लागि घोरेपानी, घान्द्ररुक, धम्पुस, छोमरोङ, सिक्लेस, मर्दी हिमाल, अन्नपूर्ण बेसक्याप र पुनहिल लगाएतका क्षेत्रमा जाने गरेका छन् ।