काठमाडौं । सुनसरीको इनरुवादेखि झापाको काँकडभिट्टासम्मको रेलमार्ग निर्माण आउँदो मंसिरदेखि सुरु गरिने भएको छ । रेलमार्ग निर्माणको सम्पूर्ण प्रक्रिया अघि बढेको रेल विभागले जनाएको छ ।
रेलमार्गखण्डको बनक्षेत्रमा पर्ने झन्डै साढे ८ हजार रुख काट्नुपर्ने भएको छ । मोरङ र झापामा १ हजार ९५९ हेक्टर बन क्षेत्रमा ८ हजार ४३० ओटा रुख काटनुपर्ने भएको हो ।
रेलमार्ग निर्माणका लागि वातावरणीय प्रभाव मुल्यांकन(ईआए) स्वीकृत भएकाले रुख कटानको काम छिट्टै सुरु हुने विभागले जनाएको छ ।
वनक्षेत्र पर्ने ४ किलोमिटरमा रुख कटान गरेर रेलमार्ग बनाइने छ । त्यसक्षेत्रका विभिन्न ५ ओटा बनक्षेत्रको जग्गा र रुख रेलमार्ग बनाउनका लागि अधिग्रहण गर्नुपर्छ ।
रेल विभागले उक्त रेलमार्ग निर्माणका लागि टेण्डर आह्वान गरिसकेको छ । जग्गा अधिग्रहण र रुख कटानको काम सँगसँगै अघि बढाइएको छ । दुइ चरणमा गरी ३० अर्ब रुपैयाँका झन्डै ५४ ओटा ठेक्का निकालिसकिएको छ ।
गत आर्थिक वर्ष २०७५/०७६ मा सो. रेलमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्न २ अर्ब रुपैयाँ खर्च भइसकेको छ । कुल १०६ किलोमिटरको उक्त रेलमार्ग खण्ड बहुबर्षीय ठेक्काको आयोजना हो । स्वदेशी निर्माण व्यवसायी मात्र ठेक्कामा भाग लिन पाउने व्यवस्था छ ।
बन तथा वातावरण मन्त्रालयमार्फत सो खण्डमा पर्ने बन र रुख कटानको स्वीकृती, राष्ट्रिय योजना आयोगमार्फत बहुबर्षीय ठेक्काको स्वीकृती र अर्थ मन्त्रालयमार्फत स्रोत सुनिश्चितता भइ ठेक्का प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक बलराम मिश्रले बताए । ईआए स्वीकृत भएपछि टेण्डर गरिएकाले कुनै कानुनी प्रक्रिया नमिचिएको उनले बताए ।
रेलमार्गको उक्त खण्डमा ८० ओटा पुल बन्नेछन् । राष्ट्रिय गौरवका आयोजना पूर्व–पश्चि विद्युतीय रेलमार्गअन्र्तगत इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माण गर्न झन्डै ५७ अर्ब रुपैयाँ बजेट सुनिश्चितता भएको छ ।