काठमाडौं । सबैलाई थाहै छ, आँट गरेर काममा लागेपछि त्यसले अवश्य सफल बनाउँछ । सफलता हासिल गर्न सपना देख्नैपर्छ । ती सपना साकार पार्न जोकोहीलाई सजिलो भने छैन । कठिन परिस्थितिको सामना गरेर निरन्तर लागियो भने अवश्य एक दिन सफलता मिल्छ ।
त्यस्तै सपना देखेको करिब १९ वर्षपछि नै किन नहोस्, पूरा गरिछाडेका युवा व्यवसायी हुन्, केदार थापा । प्रदेश ३ को सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ का ३५ वर्षीय थापाले जिपलाइन (डोरीमा झुन्डिएर खेलिने साहसिक खेल) बनाउने सपना सोह्र वर्षे किशोर वयमै उनेका थिए ।
थापाले नेपालमै पहिलो सुपरम्यान जिपलाइन खेल सञ्चालनमा ल्याएका छन् । करिब ४ करोड रुपैयाँ लगानीमा वल्र्डवाइड एडभेन्चर प्रालिका नाममा धुलिखेल–८ थाक्लेडाँडादेखि पाँचखाल–५, खावासम्म जिपलाइनको खेल उनले सुरु गरेका छन् ।
एसएलसीपछि सिन्धुपाल्चोकको लास्ट रिसोर्टमा रहेको बन्जी जम्पमा केहि समय काम गरेका थापाले त्यही बेला सोचेका थिए, भविष्यमा केही नयाँ गर्ने र डोरीमा झुन्डिने खेल सञ्चालनमा ल्याउने । तर १६ वर्षकै उमेरमा उनले त्यो काम गर्न सकेनन् । आखिर पैसा पनि त थिएन, त्यति बेला ।
पारिवारिक अवस्थाका कारण पनि तत्कालै करोडौं रुपैयाँ जम्मा गर्न सक्ने क्षमता उनमा थिएन ।
तर पैसा नभए पनि उनले हिम्मत हारेनन् । गाउँमै बसेर आफ्नो सपना पूरा गर्न सकिन्न भन्ने सोचका साथ उनी काठमाडौं छिरे । यहाँका विभिन्न क्षेत्रमा काम गरे । र अरनिको यातायात समितिसँग नजिकिन पुगे । केही समय त्यहाँ उनले आफ्नो व्यवसायलाई अघि बढाए । बस व्यवसाय गरे पनि उनको मनमा भने एडभेन्चर टुरिजममै केही गर्ने हुटहुटी सवार भएको थियो ।
‘भनिन्छ, भगवान्ले तँ आट म पूरा गर्छु भन्छन्,’ उनले भने, ‘मेरो जीवनमा पनि त्यस्तै पो भएको हो कि ?’ थापाको जीवनमा पनि त्यस्तै भएको छ । कामकै सिलसिलामा शङ्खमूल निवासी २७ वर्षीय रुपेश श्रेष्ठसँग भेट भयो । उनी तिब्बतबाट सामान ल्याएर नेपालमा बिक्रीवितरण गर्दै आएका थिए । तातोपानी नाका बन्द भएपछि फुर्सदिला भएका श्रेष्ठ पनि केही नयाँ र दिगो किसिमको व्यवसाय गर्ने सोचमा थिए । दुवै जनाको सोच मिलेपछि उनीहरु ठाउँको खोजीमा लागे ।
राजधानीबाट नजिकको पर्यटकीय गन्तव्य पनि भएकाले उनीहरुको रोजाइमा काभ्रेको धुलिखेल प¥यो । पर्यटकीय गन्तव्य भए पनि होटलबाहेकका अन्य कुनै गन्तव्य नभइरहेको बेला जिपलाइनले थप सहयोग पुगेको छ । नेपालमा विशेषगरी हिमालय पर्यटन र एडभेन्चर पर्यटन फस्टाउँदै गएको छ ।
एडभेन्चर पर्यटनअन्तर्गत जिपलाइन खेल खेल्न दैनिक ठूलो सङ्ख्यामा पर्यटक जाने गरेका छन् । विशेषगरी शुक्रबार र शनिबार जिपलाइनमा भीड लाग्ने गरेको छ ।
आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई लक्ष्य गरी वल्र्डवाइड एडभेन्चर प्रालिले नै काठमाडौं उपत्यकाभित्र पनि जिपलाइन सुरु गर्ने तयारी गरिरहेको छ । केही महिनाभित्रै जिपलाइनका लागि ठाउँ तय हुने र सन् २०२० भित्रमै सञ्चालनमा ल्याउने सञ्चालक थापा जानकारी दिए ।
धुलिखेलमा आफूहरुले सञ्चालनमा ल्याएको जिपलाइनमा धेरैको रुचि देखिएको पर्यटक पनि बढ्दै गएका कारण काठमाडौं उपत्यकासहित विभिन्न पर्यटकीय स्थलमा पनि जिपलाइन विस्तार गर्ने सोच रहेको उनको भनाइ छ । धुलिखेलको जिपलाइनमा २० जनाभन्दा बढीले रोजगारी पाएका छन् ।