काठमाडौं । कोभिड–१९ को संक्रमणबाट बच्न भन्दै सरकारले गरेको लकडाउनका कारण चार महिनादेखि बन्द भएका नेपालका होटलहरु खुलेका छन् । साउन १५ (आज) बाट होटल र रेष्टुरेन्टहरु खोल्ने सरकारी निर्णय अनुसार होटलहरु सञ्चालनमा आएका हो ।
सरकारी निर्णय अनुसार व्यवसायीहरुले होटल सञ्चालनमा ल्याएपनि होटलमा बस्ने ग्राहक नभएको व्यवसायीहरुको गुनासो छ । अन्तर्राष्ट्रिय, आन्तरिक उडान खुला नभइरहेको र लामो दुरीका सवारी साधानहरु सञ्चालन नहुँदा होटलमा बस्ने ग्राहकहरु नआएको होटल व्यवसायीहरुको भनाइ छ ।
पछिल्लो समय नेपालमा कोभिडको संक्रमितहरु दैनिक रुपमा बढीरहेकै कारणपनि होटलमा गएर बस्न डराइहेका छन् । होटल एशोसिएसन अफ नेपाल(हान)का महासचिव साजन शाक्यले सरकारको निर्णय अनुसार होटल सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘होटलमा बस्ने ग्राहक नभए पनि सञ्चालनमा ल्याएका छौं, महासचिव शाक्यले भने सिमित कर्मचारीहरुलाई बोलाएर सरसफाइ सहितको तयारीलाई अगाडी बढाइरहेका छौं’।
होटल सञ्चालनका लागि नेपाल पर्यटन बोर्डले स्वास्थ्य प्रोटोकल बनाएको छ । त्यही प्रोटोकल अनुसार होटल सञ्चालन गरिएको हानका महासचिव शाक्यको भनाई छ । आफ्ना सदस्य होटलहरुले पनि स्वास्थ्य प्रोटोकल लाई अपनाएर होटल सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । अहिले होटल क्षेत्रका श्रमिकहरुसँग डिसेम्बरसम्मका लागि काम नभएको दिनमा पनि न्यूनतम तलब दिने सहमति भइसकेकोले होटल क्षेत्रमा कुनै समस्या नभएको महासचिव शाक्यको भनाई छ ।
कोभिडपछि हानले भदौसम्म तारे होटलहरु बन्द गर्ने निर्णय गरेको थियो । तर, श्रमिकहरुसँग पारिश्रमिकको विषयमा कुरा मिलेको र मौद्रिक नीति मार्फत ५० अर्वको कोष खडा गरी ५ प्रतिशत व्याजदरमा ऋण दिने सरकारी निर्णय गरेपछि सो निर्णयको स्वागत गर्दै होटलहरु खोल्ने सहमति भएको महासचिव शाक्यले जानकारी दिए ।
सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य उडान खुला गर्ने साथै लामो दूरीका सार्वजनिक यातायातका साधानहरु सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै अहिले एयरलाइन्सहरुले पनि उडानका लागि तयारी गरिरहेको छ ।
सबै पाँच तारे होटल सञ्चालनमा नआउने
सरकारले होटल सञ्चालन गर्ने निर्णय गरेपनि सबै पाँच तारे होटलहरु सञ्चालनमा भने नआउने भएको छ । विदेशी पर्यटकहरु नेपालमा नआएसम्म होटल सञ्चालन नगर्ने अडानमा पाँच तारे होटलका सञ्चालकहरु रहेका छन् । तारे होटलहरु केहिले सञ्चालनका लागि तयारी गरेपनि दरबार मार्गमा रहेको अन्नपूर्ण, बौधमा रहेको हायात होटल सहितका पाँच तारे होटलहरु तत्कालै सञ्चालनमा नआउने भएका छन् ।
जुन लकडाउनका बीचमा पनि सञ्चालन भए
सरकारले लकडाउन अवधिमा होटल सञ्चालन नगर्ने निर्णय गरेपनि काठमाडौंका केहि पाँच तारे होटलहरु भने बन्द भएनन् । नक्सालमा रहेको म्यारियट, ठमेलमा रहेको अलफ्ट र कालिमाटीमा रहेको सोल्टी होटल बन्द भएनन् । जुन अहिलेपनि सञ्चालनमा रहेको छ ।
तारे होटल सञ्चालनमा
एयरपोर्ट नजिकै रहेको तीन तारे होटल एयरपोर्ट, नक्सालमा रहेको सोल्टीक्राउन प्लाजा लगाएतका तारे होटलहरु भने सञ्चालनमा आएका छन् । ग्राहकहरु आउने अपेक्षा सहित होटल सञ्चालनमा ल्याइएको क्राउन प्लाजाका सञ्चालक युवराज श्रेष्ठले जानकारी दिए । ग्राहक नआएपनि तयारी पुरा गरिएको छ, संक्रमणबाट पूर्ण सुरक्षीत महसुस गराउने प्रयास गरेका छौं,उनले भने ।