काठमाडौं । ६ वटा चिनियाँ जहाज सञ्चालन नगर्ने नेपाल एयरलाइन्स (एनएसी)को निर्णयसँगै आन्तरिक उडानमा निजी एयरलाइन्सहरुको रजगज चल्ने भएको छ ।
सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य उडान खुला गरिसकेको छ । उडान सुरु गर्न निजी क्षेत्रका एयरलाइन्सहरुले आन्तरिक तयारी तिब्र पारे पनि नेपाल एयरलाइन्स भने सुस्त देखिएको छ ।
अहिले नेपाल एयरलाइन्ससँग आन्तरिक उडानका लागि ३ वटा मात्र जहाजहरु छन् । १७ सिट क्षमता भएको दुई वटा वाई १२ र ६० सिट क्षमता भएको एमए ६० जहाज छ । यी जहाजहरुको उडान कहिले पनि निश्चित नहुने भएकाले धेरैको रोजाई निजी एयरलाइन्सहरुमै पर्ने गरेको छ ।
आन्तरिक उडान कम गरेर निजी क्षेत्रका एयरलाइन्सलाई सघाउने गरेको आरोप एनएसीलाई लागिरहेका बेला उसले पूर्व तयारी नै नगरी ६ वटा चिनियाँ जहाज सञ्चालन गर्न नसक्ने जानकारी संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयललाई गराएको छ ।
एनएसीसँग हाल रहेको तीन वटा जहाज मध्ये वाई १२ ले पोखरा,सिमरा र भैरहवा उडान गर्दै आएको छ । यस्तै एमए ६० जहाजले नेपालगन्ज, धनगढी, विराटनर र चद्रगढी उडान गर्दैै आएको छ ।
एनएसीका कार्यकारी अध्यक्ष सुशील घिमिरेले केही समयका लागि आन्तरिक उडानमा अबरुद्ध हुने बताए । उनले आन्तरिक उडानका लागि १ वटा वाई १२ जहाज मर्मत गरिरहेको बताउदै ४ वटा जहाज मार्फत सेवा दिने तयारी भइरहेको उनले सुनाए ।
आन्तरिक उडानलाई प्रतिस्पर्धा बनाउन एनएसीले पहिलो चरणमा ५ वटा जहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाइरहेको उनको भनाई छ । चिनियाँ जहाज बिक्री गर्ने वा एक्सचेन्ज गर्ने विषयमा पर्यटन मन्त्रालयको जिम्मेवारी भएको उनले बताए ।
एनएसीले आन्तरिक उडानमा रहेका ६ वटा जहाज नचलाउने निर्णय गरेपछि अहिले निजी क्षेत्रका एयरलाइन्सहरुले आफ्नो तयारीलाई तिब्र बनाएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा एयरलाइन्स सञ्चालकबीच भएको छलफलमा वुद्ध एयरको १७ यति एयरलाइन्सले ११, श्री एयरलाइन्सले ८, सिम्रिकले २, समिटले ३ वटासम्म उडान गर्ने भएका छन । सरकारी स्वामित्वमा रहेको एनएसीलाई भने कति उडान गर्न दिने भन्ने कुनै निर्णय भएको छैन ।