काठमाडौं । लगातार नोक्सानमा गएपछि गोल्छा समूहले दुई दशकअघि स्थापना गरेको श्रीराम सुगर मिल्स लिमिटेड बन्दको घोषणा गर्यो । मिल्स बन्द भएपछि सर्वसाधारणको लगानी जोखिममा परेको छ ।
मिल्समा सर्वसाधारणको ९ र बाँकी ९१ प्रतिशत संस्थापक लगानीकर्ताको सेयर रहेको छ । कुल ३० लाख ४५ हजार ९९० कित्ता सेयर छ । जसमध्ये सर्वसाधारणको २ लाख ७४ हजार १३९ कित्ता छ ।
मिल्सको सेयर प्रतिकित्ता ३३८ रुपैयाँमा कारोबार भएर बन्द भएको छ । यसलाई आधार मान्दा उद्योगको बजार पुँजीकरण १ अर्ब २ करोड ९५ लाख रुपैयाँ हुन्छ । व्यवस्थापनले उद्योगको चलअचल सम्पत्ति बिक्री गरेर कर्मचारीको तलभत्ता, सञ्चय कोषका साथै अन्य दायित्व भुक्तान गर्ने जानकारी दिएको छ ।
उद्योग सदाका लागि बन्द हुने भएकाले दामासाही कानून बमोजिम सबैभन्दा पहिला कर्मचारीले तलव र भत्ता पाउनेछन । यस्तै सरकारलाई कर बक्यौता, आपूर्तिकर्तालाई भुक्तानी गरेर बाँकी रहेको वचत रकम मात्र सेयरधनीले दामासाहीमा पाउने छन ।
यसका लागि उद्योगले लिक्वडेटर नियुक्त गर्नुपर्ने छ । लिक्विडेटरले कम्पनीको जायजेथ सबै बिक्री र लिनुपर्ने रकम उठाउने छ । २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ सञ्चित नोक्सान भएपछि मिल्स स्थायी रूपमा बन्द गरिएको व्यवस्थापनले सोमबार जानकारी गराएको छ ।
सञ्चालनमा प्रयास भइरहंदा पनि नोक्सान बढेपछि बन्द गर्नुपरेको उद्योगले जनाएको छ । मिल्सले किसानहरुलाई ऊखुको मात्र २८ करोड रुपैयाँ बढी भुत्तानी गर्न बाँकी छ ।
मिल्स सञ्चालनका लागि चालुपूंजी जुटाउन उद्योगले १ बराबर ३ अनुपातमा ८९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । हकप्रद सेयर निष्कासन गर्न नपाएपछि अन्त्यमा गोल्छा समूहले उद्योग बन्दको निर्णय गरेको हो ।
श्रीरामले सर्वसाधारणलाई सेयर निष्कासन गरेको थियो । श्रीराम नेप्सेमा सूचीकृत छ । कम्पनीले हालसम्म कुनै पनि त्रैमासिक विवरण सार्वजनिक गरेको छैन ।उद्योगको ३० लाख ४५ हजार ९९० कित्ता सेयर नेप्सेमा सूचीकृत छ ।
कम्पनीको चुक्ता पुँजी ३० करोड ४५ लाख ९९ हजार रुपैयाँ छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले श्रीरामको सेयर कारोबार स्थगन गरेको छ ।