काठमाडौं । लगातार नोक्सानमा गएपछि गोल्छा समूहले दुई दशकअघि स्थापना गरेको श्रीराम सुगर मिल्स लिमिटेड बन्द भएको छ । २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ सञ्चित नोक्सान भएपछि उद्योग स्थायी रूपमा बन्द भएको व्यवस्थापनले सोमबार जानकारी गराएको हो । सञ्चालनमा प्रयास भइरहंदा पनि नोक्सान बढेपछि बन्द गर्नुपरेको उद्योगले जनाएको छ ।
उद्योग बन्दको जानकारी श्रम तथा रोजगार कार्यालय, उद्योग विभाग, आन्तरिक राजस्व विभागका साथै नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई दिइएको छ । किसानहरुलाई ऊखुको भुत्तानी गर्न बाँकी रहेको उद्योगले जानकारी दिएको छ ।
आर्थिक रुपमा जर्जर भएपछि ४ महिनादेखि कर्मचारीहरुलाई तलवका साथै सञ्चय कोष समेत जम्मा गर्न नसकेको श्रीरामले जानाएको छ । गत वर्ष १३ दिन मात्र उद्योग सञ्चालनमा आएको थियो । गएको फागुन १३ गतेदेखि स्थायीरुपमा बन्द गरिएको छ ।
उद्योग सञ्चानलमा ल्याउन पुँजी नभएको र अब सञ्चालनमा आउन नसक्ने उद्योगले स्पष्टपारेको छ । उद्योगले चलअचल सम्पत्ति बिक्री गरेर तलव, भत्तालगायत अन्य दायित्व भुक्तान गरिने उद्योगले जानकारी दिएको छ ।
चालुपूंजी जुटाउन उद्योगले १ बराबर ३ अनुपातमा ८९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । हकप्रद सेयर निष्कासन गर्न नपाएपछि अन्त्यमा गोल्छा समूहले उद्योग बन्दको निर्णय गरेको हो ।
श्रीरामले सर्वसाधारणलाई सेयर निष्कासन गरेको थियो । श्रीराम नेप्सेमा सूचीकृत छ । कम्पनीले हालसम्म कुनै पनि त्रैमासिक विवरण सार्वजनिक गरेको छैन ।उद्योगको ३० लाख ४५ हजार ९९० कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कम्पनीको चुक्ता पुँजी ३० करोड ४५ लाख ९९ हजार रुपैयाँ छ ।