काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएसँगै बन्द भएको आन्तरिक उडान भदौ १ गतेदेखि सुचारु हुदैछ । आन्तरिक उडान खुला भए पनि साविकको भन्दा ७५ प्रतिशत कम उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तयारी गरिरहेको छ । सरकारले २०७६ चैत १३ देखी आन्तरिक उडानमा रोक लगाएको थियो ।
यात्रुहरुलाई कुनै किसिमको जोखिम नहोस भन्ने उद्धेश्यले दैनिक ३० उडान गर्ने तयारी गरे पनि क्यानले केही उडानहरु थप्न गृहकार्य गरिरहेको छ । ठूला एयरलाइन्सहरुले आफुहरुको उडान संख्या थप्न सुझाव दिएसँगै क्यानले यसमा थप गृहकार्य गरिरहेको हो ।
विमानस्थलमा प्यासेन्जरको भीड कम होस भन्ने उद्धेश्यले १ घण्टामा ३५० भन्दा बढी यात्रुहरुलाई ओसार्न भने नदिने भएको छ । साविकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता १ घण्टामा ६०० जना यात्रुहरुलाई थेग्न सक्ने भए पनि अहिले भीड नबढाउने उद्धेश्यले यस्तो प्रावधान ल्याइएको क्यानको भनाई छ ।
प्यासेन्जर कम हुदाहुदैपनि एयरलाइन्सहरुले भने भाडा नबढाउने भएका छन । सार्वजनिक यातायातका साधनहरुले भाडा बृद्धि गरिरहेको बेला एयरलाइन्सहरुले पनि भाडा बढाउने आकंलन गरिएको थियो । वायुसेवा संचालक संघका प्रवक्ता योगराज कंडेलले तत्कालका लागि हवाई भाडा नबढ्ने बताए ।
यात्रुको संख्या जति नै भए पनि भाडा नबढ्ने प्रतिस्पर्धाको लागि नघटाउने सहमति भएको छ, उनले भने । “यस्तो बेलामा एयरलाइन्सबीच भाडा घटाघट र बढाबढमा लागियो भने व्यवसायनै जोखिममा पर्छ,प्रवक्ता कंडेलले भने, साविकको मूल्यमै यात्रुहरुले सुविधा पाउनु हुने छ” ।
यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुज रिमालले पनि हवाई भाडा नबढ्ने बताए । हामी पहिलेकै भाडामा यात्रुहरुलाई सेवा दिन तयार भइरहेका छौं,सीईओ रिमालले भने । “अहिलेको प्राथमिकता भनेको यात्रुलाई सहज र सरल तरिकाले सुरक्षित साथ सेवा दिएर हाम्रो व्यवसायलाई पनि केहि चलायमान बनाउने हो,उनले भने त्यहि भएर भाडा बढाउने विषयमा केही सोचेकै छैनौं ”।
बजेट मार्फत हवाई इन्धनमा लगाउदै आएको १० रुपैयाँ पूर्वधार कर घटाएसँगै वायुसेवा सञ्चालक संघले लकडाउन खुल्नु अघिनै आन्तरिक एयरलाइन्सहरुको भाडा घटाएको थियो । घटेको मूल्यअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीका लागि १ हजार १०५ रुपैयाँ र सबैभन्दा कम काठमाडौं–सिमराको रुटमा २२५ रुपैयाँले भाडा समायोजना गरिएको छ ।
स्वास्थ्य प्रोटोकल तयार
हवाई उडानका लागि आवश्यक स्वास्थ्य प्रोटोकलहरु सबै एयरलाइन्सहरुले बनाएर स्वीकृती लिइसकेका छन् । बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, सीता एयर, तारा एयर, सिम्रिक एयरलाइन्सले स्वास्थ्य प्रोटोकल तयार पारेर क्यानमा बुझाइसकेका छन् ।यस्तै १० वटै हेलिकप्टर कम्पनीहरुले पनि आवश्यक प्रोटोकलहरु तयार पारी स्वीकृती लिइसकेका छन् ।
यस्तो छ भाडादर