काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६/०७७ मा भारतबाट बिजुली आयात ४५ प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा साढे २२ अर्ब रुपैयाँको बिजुली भारतबाट आयात भएको थियो ।
गत आवमा झन्डै १३ अर्ब रुपैयाँ बराबरको बिजुली मात्र आयात भएको हो । जुन, आयात समीक्षा अवधिको तुलना गर्दा ४५ प्रतिशतले कमी हो ।
कोरोना भाइरस नियन्त्रण गर्न जारी बन्दाबन्दी (लकडाउन) मा उद्योग, कलकारखाना बन्द हुँदा बिजुलीको माग कम भएको र स्वदेशमै उत्पादन थपिएपछि भारतबाट आयात कम भएको हो । चैत ११ पछि देशभर बन्दाबन्दी (लकडाउन) भएपछि बिजुलीको खपत निकै कम भयो ।
त्यसयता, बर्खायाम सुरु भएपछि जलविद्युत् आयोजना क्षमता बराबर बिजुली उत्पादन दिन थालेपछि भारतबाट आयात कम हुन गएको देखिन्छ ।
गत आव भने आयात ह्वात्तै घटेको हो ।
स्वदेशमै माग अनुसार बिजुली उत्पादन हुन थालेपछि आयात कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।यो अवधिमा भारतबाट २ अर्ब ९० करोड १५ लाख युनिट हाराहारीको बिजुली आयात भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, हाल भारतबाट दैनिक १५३ मेगावाट बिजुली आयात भइरहेको छ । भारतले विहार, उत्तरप्रदेश राज्यका साथै एनभीभीएन विद्युत् व्यापार निगम र पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बाट बिजुली आयात गर्ने गरेको छ । गतवर्ष प्राधिकरणले १ अर्ब रुपैयाँको बिजुली निकासी समेत गरेको थियो ।
सुख्खायाममा नदी बहाव घट्ने तर, विद्युत् माग उच्च हुने कारण भारतबाट विद्युत् आयात गर्नुपर्छ । त्यस्तै, गत आवमा १ अर्बको बिजुली भारत निकासी भएको छ ।
झन्डै १ हजार २०० मेगावाट हाराहारी बिजुलीको माग देशभर हुने गर्छ । हिउँदमा भन्दा बिद्युत् उत्पादन वर्षायाममा बढी हुने गर्छ । अहिले पनि लकडाउनकै समय छ । देशभर ९५० देखि १००० मेगावाट बराबर खपत भइरहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, गत आवमा झन्डै १३५ मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा जोडिएको छ । ५० ओटा आयोजनामध्ये १५ ओटा निजी क्षेत्रका जलविद्युत् आयोजना सो अवधिमा पूरा भएका हुन् । कोभिडका कारण धेरै आयोजना थला परे । जसका कारण प्राधिकरणको लक्ष्यमा धक्का लाग्न पुग्यो । हालसम्म जडित क्षमता बढेर १ हजार ३८० मेगावाट पुगेको छ, आगामी वर्ष धेरै बिजुली थप हुने अनुमान गरिएको छ ।
यता, विद्युत चुहावट पनि घटेको छ । गत आवको असार मसान्तसम्म आइपुग्दा विद्युत् चुहावट १४ प्रतिशत झरेको प्राधिरकणका कार्यकारी निर्देशक घिसिङले जनाएका छन । यसअघि चुहावट १५.३ प्रतिशत थियो । गत आवमा चुहावट १.३ प्रतिशत विन्दु घटेको छ ।
घिसिङका अनुसार, चालू आर्थिक वर्षमा भने भारतबाट बिजुली आयात झनै घट्नेछ । उनले चालू आवमा ४/५ अर्ब रुपैयाँको मात्रै बिजुली भारतबाट आयात गरे पुग्ने जानकारी दिए ।
यता, यो वर्ष विद्युत् उत्पादन १००० मेगावाट भन्दा बढि हुने उनको भनाई छ । माथिल्लो तामाकोसीसहित अहिले निर्माणको अन्तिम चरणमा रहेको अधिकांश जलविद्युत् आयोजना यो वर्ष सम्पन्न भएर बिजुली थप हुनेछ ।