ब्लुम्वर्ग । पाँचौ धनी मुकेश अम्वानीको नियन्त्रणमा रहेको रिलायन्स इन्डष्ट्रिज लिमिटेड विश्वको दोस्रो ठुलो ऊर्जा कम्पनी भएको छ । अमेरिकाको एक्सोन मोविल कर्पोरेशनलाई पछि पार्दै रिलायन्स विश्वको दोस्रो ठुलो ऊर्जा कम्पनी बनेको हो ।
विश्वको सबैभन्दा ठुलो ऊर्जा कम्पनी साउदीआरएम्को रहेको छ । आरएम्कोपछि दोस्रो ठुलो कम्पनी रिलायन्स भएको छ । भारतको सबैभन्दा ठुलो तेल प्रशोधन कम्पनी रिलायन्सले ४.३ प्रतिशत आम्दानी बढाएको छ ।
शुक्रबार मात्र रिलायन्सको बजार पुँजीकरण ८ अर्ब अमेरिकी डलर बढेर १ खर्ब ८९ अर्ब डलर पुगेको छ । एक्सोन मोविलको बजार पुँजीकरण १ अर्ब डलर घटेको छ । यसबीचमा रिलायन्सको सेयर मूल्य ४३ प्रतिशत बढेको छ ।
बन्दाबन्दी (लकडाउन) का कारण तेलको माग विश्वव्यापी घटेपछि यसको असर एक्सोन मोविलमा परेपछि बजार पुँजीकरणमा गिरावट आएको हो । विश्वको सबैभन्दा ठुलो ऊर्जा कम्पनी आरएम्कोको बजार पुँजीकरण १.७६ ट्रिलियन डलर छ ।
गत मार्चसम्म रिलायन्सका आम्दानीमा ८० प्रतिशत ऊर्जा व्यवसायको योगदान रहेको छ । मुकेशको कम्पनी जिओ प्लेटफर्म लिमिटेडको डिजिटल र खुद्रा व्यवसाय विस्तारले थप २० अर्ब डलर विदेशी लगानी प्राप्त गरेको छ ।
यसले यो वर्ष अम्बानीको सम्पत्ति २२ अर्ब ३० करोड डलर थप भएको छ । मुकेशको कुल सम्पत्ति बढेर ७७ अर्ब ४० करोड डलर पुगेको छ । उनी अहिले विश्वकको पाँचौ सर्वाधिक धनीको सूचीमा छन ।
हालैका महिनामा मुकेशले फेसवुक र गुगल इंक जस्ता बहुराष्ट्रिय कम्पनीलाई डिजिटल प्लेटफर्ममा लगानी गर्न लगाएका छन । सर्वाधिक धनी मुकेशले तेल प्रशोधनका अतिरित्त प्रविधि र खुद्रा व्यवसायमा लगानी विस्तार गरेका छन । ६३ वर्षिय मुकेशले सन २००२ मा पिता धिरुभाई अम्बानीको निधनपछि रिलायन्सको नेतृत्व गरेका हुन ।
माग घटेपछि तेल उत्पादक ओपेकलगायतले उत्पादन कटौती गरेका छन । लाखौ व्यारेल कच्चा तेल बिक्री नभएपछि एक्सोन र सेर्भन कर्पोरेशन संकटमा परेका छन ।