काठमाडौं । नेपाल वायुसेवा निगमले अधिकृत पुँजी बढाएर ५० अर्ब रुपैयाँ पुर्याएको छ । यसअघि ३० करोड रुपैयाँ मात्र अधिकृत पुँजी थियो ।
निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले थोरै अधिकृत पुँजी हुदाँ लगानी भित्र्याउन समस्या भएकोले ४९ अर्ब ७० करोडको पुँजीबृद्धि गरेर स्वीकृतिका लागि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइसकेको जानकारी दिए ।
‘निगम सञ्चालक समितिले पास गरि पर्यटन मन्त्रालयमा पठाइसकेका छौं, कार्यकारी अध्यक्ष घिमिरेले क्यापिटल नेपालसंग भने, अब राजपत्रमा प्रकाशन हुन मात्र बाँकी छ ’ । निगम सञ्चालनका लागि विदेशी साझेदारी भित्र्याउने तयारी गरिरहेका बेला निगमले पुँजीबृद्धि गरेको हो ।
यस अघि निगमको थोरै अधिकृत पुँजी हुँदा लगानीका लागि प्रस्ताव गर्न समेत असहज भइरहेको थियो, अब सरकारले समेत लगानी गर्न सहज भएको छ, अध्यक्ष घिमिरेले भने ।
यसअघि तत्कालिन कार्यकारी अध्यक्ष मदन खरेलले पनि निगमको पुँजीबृद्धि गर्ने तयारी गरेका थिए । संस्थाको अधिकृत पुँजीनै कम हुँदा लगानी थप्न असहज भएको भन्दै पर्यटन मन्त्रालयमा समेत पुँजी बृद्धिका लागि सहमति मागेका थिए । मन्त्रालयबाट सकरात्मक जवाफ नपाएपछि उनि पछि हटेका थिए ।
जहाज खरिदका लागि ७ अर्ब प्रस्ताव
निगमले जहाज खरिदका लागि सरकारसँग ७ अर्ब रुपैयाँ बजेटको प्रस्ताव अघि सारेका छन् । आन्तरिक उडानमा निगमको बलियो उपस्थिति गराउने उद्धेश्यले पहिलो चरणमा ५ वटा जहाज खरिदका लागि प्रस्ताव अगाडी बढाइएको निगमका कार्यकारी अध्यक्ष घिमिरेले जानकारी दिए ।
उनले जहाज कस्तो किन्ने, कहाँबाट किन्ने र आवश्यक व्यवसायिक योजना (बिजनेश प्लान) बनाउन समिति गठन गरी आवश्यक कामहरु गरिरहेको उनले बताए । अवको केहिदिन भित्रै प्रतिवेदन तयार हुन्छ, उनले भने त्यसपछि कति सिटको र कुन कुन रुटमा चलाउने भन्ने टुंगो लाग्ने छ ।
निगमले खरिदको लागि प्रस्ताव अगाडी बढाएको जहाज मध्ये तीन वटा पहाडी जिल्लामा र दुई वटा सुगम जिल्लामा उडाउने बताइएको छ । निगमसँग रहेको चिनियाँ जहाज चलाउन नसक्ने प्रतिवेदन मन्त्रालयमा पठाएसँगै नयाँ जहाज खरिदका लागि प्रक्रिया समेत अगाडी बढाएको हो ।
जहाज खरिदका लागि अर्थ मन्त्रालयसँग अनुदानमा रकम माग गरेको छ । ‘आन्तरिक उडानमा बलियो बनाउन जहाज खरिद आवश्यक छ, अध्यक्ष घिमिरेले भने, पुँजीबृद्धि भएकै कारण सरकारले लगानी गर्न सहज भएको छ, आशा छ यो विषयमा छिट्टै निर्णय हुने छ’ ।निगमसँग अहिले दुई ओटा वाइडबडी,२ वटा न्यारोबडी र चीनियाँ जहाजको गरी ४० अर्ब रुपैयाँ भन्दा बढी ऋण रहेको छ ।
आन्तरिक उडान ट्वीनेटर मार्फत
साउन १५ गतेदेखी चिनियाँ जहाज नचलाउने निर्णय गरेको निगमले आन्तरिक उडानका लागि ट्वीनेटर जहाज मात्र सञ्चालन हुने छ । अहिले दुई वटा जहाज चलाउन योग्य रहेको र केहि साता भित्र अर्को पनि जहाज बनिसक्ने हुदाँ तीन वटा ट्वीनेटर मार्फत उडान भर्ने निगमको तयारी छ ।
सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य उडान गर्ने निर्णय गरेपछि निगमले पनि आवश्यक तयारी अगाडी बढाएको हो । अहिले पनि निगमले चार्टर्ड उडान गर्दै आएको छ ।