काठमाडौं । सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य उडान खुला गर्ने निर्णय गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र एयरलाइन्स कम्पनीहरुले आफ्नो तयारीलाई तीब्र पारेका छन् ।
विमानस्थलमा भिडभाड कम गराउने उद्धेश्यका साथ पहिलो चरणमा २५ प्रतिशत मात्र उडान गर्ने गरी प्राधिकरण र एयरलाइन्स कम्पनीहरुबीच सहमति भएको छ । सहमति अनुसार दैनिक ३० उडानसम्म गर्ने र एक घण्टामा ३ सय ५० भन्दा बढी यात्रुहरुलाई उडान नगर्ने भएको हो । यदि उडान रद्ध भएको खण्डमा पनि ती यात्रुहरुलाई छुट्टै राख्नका लागि आवश्यक ठाउँको व्यवस्थापन विमानस्थलले गरेको छ । यस अघि घण्टामा ६ सय जनालाई उडाउने क्षमता थियो ।
वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता एवंम हेलि एभरेष्टका सिईओ योगराज कडेलले २५ प्रतिशत मात्र उडान गर्ने गरी सहमति गरिएको बताए । केहि एयरलाइन्स बाहेक सबै एयरलाइन्सले स्वास्थ्य सम्बन्धी प्रोटोकल तयार पारिसकेको जानकारी दिदै बाँकी रहेका एयरलाइन्सले पनि एक साता भित्रमा बनाएर पास गरिसक्ने गरी काम भइरहेको उनले बताए ।
प्राधिकरण र एयरलाइन्स सञ्चालकहरुबीच भएको सहमति अनुसार हवाई टिकटको मुल्य बढाउन नपाउने र लिमिटभन्दा घटाउन समेत पाउने छैनन् । अहिलेको तयारी अनुसार एउटा जहाजमा १२ देखी १५ जना मात्रले यात्रा गर्ने छन् ।
केहि समय अघि प्राधिरकणले ५० प्रतिशत मात्र यात्रुहरु राखेर उडान गर्ने प्रस्ताव राखेको थियो । तर, एयरलाइन्स सञ्चालकहरुले भने ५० प्रतिशत मात्र यात्रुहरु राखेर उडान गर्न नसक्ने जवाफ दिएका थिए । भदौ १ गतेदेखी हुने उडानमा जहाजभरी नै यात्रुहरु राख्न पाउने छन् ।
हेलिकप्टरको पनि तयारी पुरा
भदौ १ गतेबाट हवाई उडान खुला गर्ने निर्णय गरेसँगै हेलिकप्टर कम्पनीहरुले पनि स्वास्थ्यका प्रोटोकलहरु तयार पारिसकेका छन् । अहिले पनि केहि हेलिकप्टरहरुले उद्धार उडान गरीरहेको छ । तर,धेरै हेलिप्टरहरु ग्राउण्डेड रहेको छ ।
नियमीत उडान खुला गर्ने सरकारको निर्णयपछि हेलिकप्टरहरुले पनि आवश्यक तयारी गरेर उडान सुचारु गर्न लागिएको हेलि एभरेष्टका सिईओ कडेलको भनाई छ ।