काठमाडौं । कोभिड –१९ को प्रभावपछि बन्द रहेका रेष्टुरेन्ट एण्ड बारका श्रमिकहरुले न्यूनतम तलब पाउने भएका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान) र त्यससँग आबद्ध विभिन्न्न मजदुर संघसंगठनबीच न्यूनतम ४ हजार ३०० रुपैयाँ दिने सहमति भएको हो ।
यसअघि होटल एशोसिएन अफ नेपाल (हान) ले आफ्ना श्रमिकहरुलाई न्यूनतम तलब भन्दै ४ हजार ३०० देखि १० हजार रुपैयाँसम्म दिने सहमति गरेको थियो । रेबानले पनि हानकै सहमतिलाई नजिर राखेर सबै श्रमिकहरुलाई बराबर रकम दिन लागेको हो ।
रेबानका महासचिव एकराज अधिकारीले श्रमिकहरुको गाँस नटुटोस भन्ने उद्धेश्यले चैतदेखि मंसिरसम्म लागू हुने गरी सो रकम दिन लागिएको जानकारी दिए ।
सामाजिक सुरक्षा करबापत १ प्रतिशत काटेको रकम पनि अहिले सरकारले नदिएको र थप राहत नदिंदा आफुहरु समस्यामा पर्दा समेत श्रमिकहरुको समस्यालाई मध्यनजर गरी न्यूनतम रकम दिन लागिएको उनले बताए ।हानले १ स्टार र पर्यटकीय स्तरका होटलका श्रमिकहरुलाई ४ हजार ३०० रुपैयाँ दिने सहमति गरेको थियो ।
रेष्टुरेन्टका श्रमिकहरुले पनि होटलको जस्तै सबै तहका श्रमिकले समान रुपमा रकम पाउने छन् । “यो हामीले तलब भनेर दिने हैन, महासचिव अधिकारीले भने ,हाम्रा श्रमिकहरुलाई गाह्रो नहोस भनेर राहत दिन लागेका छौं ” ।
४३ सय रुपैयाँ दिने विषयमा हामी सहमति नजिक पुगेका छौं,सम्भवत एक/दुई दिन भित्रमै हस्ताक्षर हुन्छ,महासचिव अधिकारीले क्यापिटल नेपालसंग भने ।
सरकारले साउन १५ गतेबाट रेष्टुरेन्ट र होटलहरु सञ्चालन गर्ने निर्णय गरेको छ । योसँगै भदौ १ गतेबाट आन्तरिक एवंम बाह्य उडान पनि खुला गरेको छ । तर, भदौ १ बाटै पर्यटकहरु नआउने भएकोले पर्यटकीय स्तरका रेष्टुरेन्टहरु पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने व्यवसायीहरुको आंकलन छ ।
त्यो अवधिभर व्यवसाय टिकाउन, कर्मचारीलाई पारिश्रमिक दिन र घरभाडा तिर्न चुनौती हुने महासचिव अधिकारीको भनाई छ । लकडाउन हुनु अगाबै पर्यटक लक्षित रेष्टुरेन्टहरु बन्द भइसकेका थिए ।
चैत ११ गतेदेखि भएको लकडाउनका कारण रेष्टुरेन्टहरु पूर्ण रुपमा बन्द भएका थिए । व्यवसाय नै बन्द भएपछि त्यहाँ आबद्ध श्रमिकहरुले तलब पाउन सकेका थिएनन् । रेबानसँग काठमाडौं, पोखरा र सौराहका रेष्टुरेन्टहरु आबद्ध छन् । ती रेष्टुरेन्टमा ७० हजारभन्दा बढी श्रमिकहरु कार्यरत छन् ।