काठमाडौं । नेपालमा कोरोना भाइरसको कारण चैत ११ गतेदेखि देशभर लकडाउन भयो । लकडाउन भएपछि काठमाडौं उपत्यका लगायतका स्थानका अधिकांश शैक्षिक संस्था, सरकारी तथा अन्य कार्यालयहरु पूर्णरुपमा बन्द भए ।
बन्दाबन्दीको समयमा कार्यालयहरु बन्द रहँदा सबै घरबाट अफिसको काम गरे भने केही रोजगारी पनि गुम्यो । त्यसैले सबै मानिस घरभित्रै बस्नुपर्ने बाध्यता आयो । तर, बन्दाबन्दीमा सेवाग्राहीको दिन कटाउने र घरैबाट काम सारथी बन्यो दूरसञ्चार सेवा । बन्दाबन्दीको समयमा सबै कार्यालय अफिसहरु बन्द रहँदा निरन्तर सेवामा खटिइरहने एउटा मात्रै क्षेत्र बन्यो दुरसञ्चार ।
सेवाप्रदायकले अधिकांश मानिस घर भित्रै रहँदा निरन्तर सेवामा गुणस्तर कायम गरी जनतालाई सेवा दिइनै रहे । जसको कारण इन्टरनेट, भ्वाइस लगायतका टेलिकम कम्पनीका सेवाको आवश्यक्ता र महत्वबारे उपभोक्ताले नजिकबाट नियाल्ने मौका पाए ।
लकडाउनको समय देखिनै जनतालाई राहत पुग्ने खालका प्याकेज, अफर र सेवाबाट नेपाली दूरसञ्चार कम्पनीहरुलाई सक्षममात्र तुल्याएनन, आम सेवाग्राहीलाई सेवाको विश्वनीयता र गुणस्तरमा प्रश्न उठ्ने ठाउँ दिएनन् ।
विशेषगरी बन्दाबन्दीको अवधिमा इन्टरनेट सेवाप्रदायक कम्पनीहरु र नेपालका तीन ठूला दूरसञ्चार टेलिकम कम्पनी नेपाल टेलिकम, एनसेल, स्र्माट टेलिकमको भूमिका महत्वपूर्ण रह्यो । दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणको शक्रियतामा टेलिकम कम्पनीहरुले सेवाहरुमा विभिन्न प्याकेज ल्याए । जसले सम्पूर्ण सेवाग्राही उपभोक्तालाई राहत मात्र मिलेन । घरैबाट काम गर्ने अवरस पनि मिल्यो । लकडाउनको चार महिनाको अवधिमा दूरसञ्चार क्षेत्रको सेवामा कुनै अवरोध सिर्जना भएन ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले लकडाउनमा आम जनतालाई घरभित्रै बसेर दैनिक काम कार्यलाई निरन्तरता दिनुपर्ने बाध्यतालाई परिपूर्ति गरिदिएको बताए । संकटको समयमा टेलिकमले सरकारको निर्देशन अनुरुप नेपाल टेलिकमले सेवाको गुणस्तरमा कुनैपनि ‘कम्प्रमाइज’ नगरी सेवा दिएको उनको भनाई छ ।
‘संकटको घडीमा आम उपभोक्तालाई टेलिकमको साथ रहिरहने छ भन्ने सन्देश दिएका छौं’ अधिकारीले भने । उनका अनुसार, लकडाउनपछि सेवाग्राहीले टेलिकमको एफटिटिएच सेवा, सिमकार्ड लिनेको चाँप समेत बढेको छ ।
लकडाउनको समयमा दूरसञ्चार क्षेत्रले आम उपभोक्तालाई धेरै राहत पुर्याएको छ । यो लकडाउनको बिचमा जनतालाई दिने सेवा परिपूर्ति गर्दा दूरसञ्चार सेवाप्रदायक कम्पनीको आम्दानीमा भारी गिरावट भएको टेलिकम कम्पनीले जनाएका छन् ।
पहिले भन्दा डेटा खपत ५० प्रतिशत बढेपनि राहत प्याकेजको कारण आम्दानी वृद्धि नभएको भनाई छ । लकडाउनमा सबै मानिस घरभित्रै भएपछि भ्वाइस सेवा सबै ‘ओभर दी टप’ मा कन्भर्ट भएका कारण पनि भ्वाइस र डेटा दुबैको आम्दनीमा भारी गिरावट आएको टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए ।
यसअघि पनि २०७२ सालमा गएकाे विनाशकारी भूकम्पका बेला पनि दूरसञ्चार मोबाइल सेवाप्रदायक कम्पनी र इन्टरनेट सेवाप्रदायकले पनि दरिलो साथ दिएका थिए । महाभुकम्प जस्तै अहिले कोरोना भाइसरको महामारीमा कम्पनीहरुले जनतालाई गुणस्तरीय सेवा दिइरहेका छन् ।
बिशेषगरी इन्टरनेट सेवाप्रदायक कम्पनीले लकडाउनको अवधिमा महत्वपूर्ण भुमिका खेलेका हुन् । मानिसहरु सबै घरभित्रै भएको अवस्थामा लकडाउन अवधिमा सेवाग्राहीले पैसा भुक्तानी नगरेपनि सेवा अवरुद्ध गराएनन ।
सरकारले इन्टरनेट सेवामा २५ प्रतिशत छुट दिन इन्टरनेट सेवाप्रदायकलाई निर्देशन दिएको थियो । सेवाप्रदायक आफै आर्थिक संकटमा परेको भन्दै छुट भने दिएनन् । तर, ग्राहकलाई पछि रकम लिने शर्तमा सेवा प्रवाह भने निरन्तर गरिनै रहे ।
संकटका बेला सीमित कर्मचारीको सहयोगमा उपत्यका लगायतको देशभर इन्टरनेट सेवाप्रदायकले निरन्तर सेवा दिएको इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए । ‘हामीलाई सरकारले इन्टरनेट सेवामा २५ प्रतिशत छुट दिन निर्देशन दिएपनि कम्पनीहरु आफै संकटमा गुज्रिरहेकाले लागु गर्न सकेनौं’ उनले भने ‘तर सबै मानिस घर भित्र रहिरहँदा उच्च ब्यान्ड विथ खपतलाई समेत धानेर निरन्तर सेवा दियौं।’ उनका अनुसार, उपत्यकामा बस्ने सबै ग्राहक गाउँतिरै रहेकाले अझै ३० प्रतिशत रकम उठ्न सकेको छैन् ।
त्यसैगरी, टेलिकम र एनसेलले लकडाउनको समयमा रिर्चाज बराबरकै बोनस सुविधा दिए । बन्दाबन्दीमा उपत्यका लगायत अधिकांश स्थानमा पसल बन्द भएका कारण रिचार्ज कार्डको सप्लाई हुन सकेको थिएन । जसले निश्चित समयावधि तोकेर ग्राहकलाई एक सय २० प्रतिशत सम्म रिर्चाज बोनस उपलब्ध गराए ।
त्यसैगरी, टेलिकम कम्पनीहरुले २०० रुपैयाँ सम्म लोन सापटी लिएका थिए । यो सेवाले पनि रिचार्ज नपाएको अवस्थामा ग्राहकलाई थप राहत दिएको थियो ।
सेवाप्रदायकले बन्दबन्दीमा घरभित्रै रहेका ग्राहकलाई सस्तो दरमा स्टे होम प्याकेज, अनलाइन प्याकेज लगायतका अफरहरु समेत ल्याएका थिए । जसका कारण विद्यार्थीले शैक्षिक संस्था बन्द हुँदा पनि घरमै बसेर अनलाईनमार्फत कक्षा लिन पाएपछि मख्ख भए ।
टेलिकमले अनलाईन प्याकेज ल्याएपछि घरमै बसेर पढ्न पाएको विजय स्मारक विद्यालयमा अध्ययरत मैतीदेवीका शिव पौडेलले बताए ।
देशभित्र सबै शैक्षिक संस्था बन्द भएको अवस्थामा विद्यार्थीलाई अनलाइनमार्फत शिक्षा दिन टेलिकम कम्पनी अनलाइन प्याकेजहरु समेत उपलब्ध गराएका थिए । जसले अहिलेपनि अनलाइन विद्यार्थी प्याकेजको प्रभावकारी देखिएको छ । तर, निजी विद्यालयले अनलाईन कक्षा बन्द गरिसकेका छन् ।
नियामक निकाय दूरसञ्चार प्राधिकरणका अध्यक्ष पूरुषोत्तम खनालले कोरोना महामारीको संकटमा दूरसञ्चार क्षेत्रको भुमिका अतुलनीय रहेको बताए ।
सबै मानिस घर भित्रै रहेको अवस्थामा नेटवर्कले धान्न नसक्ने अवस्थालाई प्राधिकरणको निर्देशनमा धान्न सक्ने बनाएर, थप ब्यान्डविथ खरिद गरेर र ग्राहकलाई सेवाप्रदायकले सेवा दिएको उनको भनाई छ ।
इन्टरनेट तथा मोबाइल सेवा मर्मतका लागी सबै निकायसँग समन्वय गरेर सेवा प्रवाह भएको खनालले बताए । लकडाउनको समयमा दूरसञ्चार क्षेत्रलाई चलाएमान राख्न र सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको पनि भुमिका उत्तिकै महत्वपूर्ण छ ।
टेलिभिजन सेवा प्रदायकहरुको भुमिकापनि उस्तै
लकडाउनमा जनताको पट्यारलाग्दो समयलाई सहज बनाउँन टेलिभिजन सेवाप्रदायकले पनि महत्वपूर्ण भुमिका खेलेका छन् । गाउँमा होस या सहर बन्दाबन्दीको अवधिमा घरभित्रै बसिरहँदा धेरैलाई समय बिताउन सकस भइरहेको मानिसलाई डिजिटल टेलिभिजन सेवाप्रदायक घरभित्रको साथी बनेका छन् ।
विशेषगरी सबै स्थानमा सेवा पुगेको कारण डिशहोममार्फत टेलिभिजन हेरेर समय बिताउन सहज बनाइदिएको थियो । आकर्षक प्याकेज, सिनेमा हलजस्तै मनोरन्जनात्मक बिषय हेर्न सिमित रकम तिरेर घरमै सेवा उपलब्ध गराएका थिए । नेपालमा सञ्चालित डिस होम लगायत, क्लियर टिभी, म्याक टिभी, स्काई केबल, प्रभु टिभी, मेरो टिभी लगायतका डिजिटल टेलिभिजन सेवाप्रदायकले लकडाउनको समयमा घर भित्रबाट अनावरत रुपमा सेवा दिएका थिए ।