काठमाडौं । मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित ४ ओटा यातायात संघ संस्थाले संयुक्त पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलन गर्नुको मुख्य उद्धेश्य सार्वजनिक यातायात कहिलेबाट खुल्छ भन्ने मात्रै थियो ।
तर, पत्रकार सम्मेलन हुने स्थल तीनकुनेस्थित सिद्धार्थ कटेज पुग्दा लाग्थ्यो त्यो पत्रकार सम्मेलन होइन्, कुनै ठूलो संस्थाको आम सभा हो । किनकी त्यहाँ पत्रकारभन्दा यातायात व्यवसायीहरुको बाक्लो उपस्थिति थियो । अहिले पनि मुलुक बन्दाबन्दी(लकडाउन) कै अवस्थामा छ । भलै, केही खुकुलो मात्रै भएको हो । तर, कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको छ ।
सरकारले यसअघि पनि कुनै संघ संस्थाले ठूला आयोजना वा समारोह नगर्न भनेको छ । त्यति मात्रै होइन्, २५ जनाभन्दा बढि व्यक्ति एकै ठाउँमा भेला नहुन भनेको छ । तर, यातायात व्यवसायीले सरकारको उक्त नियम पालना गरेनन् । केही व्यवसायी त मास्क बिनै देखिन्थे । भौतिक दूरी कायम त परको कुरा ।
व्यवसायीले पत्रकार सम्मेलन गर्नुको कुनै तुक पनि थिएन् । किनकी, मंगलबार नै यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको संयुक्त वार्ताबाट यस्तो यातायात सञ्चालन गर्ने सहमति भएको थियो ।
केही सञ्चार माध्यमलाई भने आउँदो ८ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने बारे अघिल्लो दिनमै सुचना चुहाइएको थियो । धेरै अनलाइन तथा पत्रपत्रिकाले सार्वजनिक यातायात सञ्चालन गर्न यातायात व्यवसायी तयार भएको समाचार छापिसकेको थिए ।
बरु, यातायात व्यवसायी महासंघ लगायतका संघसंस्थाले संयुक्त प्रेस विज्ञप्तीमार्फत सार्वजनिक यातायात सञ्चालन, सरकारले पूरा गरेका माग र कसरी र कहिलेदेखि सञ्चालन गर्ने भनेर थप प्रष्ट पारेको भए हुन्थ्यो । तर, व्यवसायीले त्यसो गरेनन् । संक्रमण जोखिम बढेपनि प्रचारबाजी ढंगले पत्रकार सम्मेलन गरेको देखिन्छ ।
सरकारले बिना तयारी छोटो दूरीका सार्वजनिक यातायात गर्ने निर्णय गरेको र राहत प्याकेज नल्याएसम्म गाडी नचलाउने अड्डी कसेका थिए ।
यसअघि सरकारले छोटो दुरीमा सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति दिएपनि नचलाउने अड्डी कसेको यातायात व्यवसायी पछि आएर एकीकृत मोडालिटीसहित केही माग पूरा गर्ने भएपनि यातायात खुलाउन राजी भए । तर, उनीहरुले कहिले देखि सार्वजनिक यातायात चलाउने भन्ने मिति तोकेका थिएनन् ।
संयुक्त पत्रकार सम्मेलन भनेर भव्य समारोह जस्तै गर्नुभएछ नी भन्ने प्रश्नमा महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, ‘सार्वजनिक यातायात क्षेत्रलाई परेको मर्का तथा समस्या हामीले सरकार र सञ्चार माध्यमलाई राखेर भन्नु थियो । सबैको चासो सार्वजनिक यातायात कहिले खुल्छ भन्ने थियो । हामी ८ गतेबाट गाडी चलाउन तयार भयौं भनेर जनतालाइ जानकारी दिनुपर्यो नी ।’ उनले उपस्थित यातायात व्यवसायीले मास्क लगाएर आएको बताए ।