काठमाडौं । पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले लाकुरी भन्ज्याङमा होटल माउन्ट मोनाष्ट्री निर्माण गरेका छन् । माउन्टेरिङ र ट्रेकिङ व्यवसायमा क्रियाशिल रहेका शेर्पासहितको समूहले एक अर्ब लगानीमा होटल निर्माण गरेको हो ।
त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट १८ किलोमिटर र ठमेलबाट २३ किलोमिटरको दूरीमा रहेको सो होटलमा ६८ वटा कोठा रहने छ । तर, पहिलो चरणमा ४८ वटा कोठामात्र सञ्चालनमा आउने होटलका अध्यक्ष शेर्पाले बताए । उनका अनुसार, होटलमा २ वटा स्विट कोठा, २२ वटा डिलक्स र २४ वटा स्टाण्डर कोठाहरु छन् ।
तीन महिनाअघि नै होटललाई ‘सफ्ट ओपनिङ’ गर्ने तयारी गरिरहेका बेला कोभिड–१९ र त्यसपछि लकडाउन भएकाले होटल भने सञ्चालनमा आउन सकेको छैन । होटलमा केही सजावट र ‘फाइनल टच’ को काम भने बाँकी छ ।
काठमाडौं नजिकका गन्तव्यको रुपमा नगरकोट, गोदावरी र धुलिखेललाई लिदैं आइरहेको बेला लाकूरीभन्ज्याङमा नयाँ होटल निर्माण भएको हो । यसअघि त्यस क्षेत्रमा सुविधासम्पन्न होटलहरु थिएनन् । केही सा–साना होटलहरु रहेपनि गुणस्तरीय पर्यटकहरुका लागि लक्षित गरेर निर्माण गरिएको यो होटल पहिलो भएको शेर्पाले बताए ।
५ वर्षअघि निर्माण सुरु गरेको होटल २८ रोपनी क्षेत्रफलमा रहेको छ । होटलले १.९ वर्ग किलोमिटर क्षेत्रलफल जग्गा सरकारसँग भाडामा लिएको हो ।
जंगलको बीचमा होटल बनेको कारण आफुहरुको मुख्य ‘टार्गेट’ विभिन्न संघसस्थाको बैठक र सेमिनारनै रहेको बताएका छन् । विदेशी पर्यटकसँगै काठमाडौं उपत्यकाको हो–हल्लाबाट एक दिनभएपनि मुक्त हुन चाहनेहरुका लागि नजिकको गन्तव्यको रुपमा होटललाई विस्तार गरिएको अध्यक्ष शेर्पाको भनाई छ ।
काठमाण्डौं उपत्यकाको दक्षिण पूर्वि भागमा २०१० मिटरको उचाईमा रहेको होटल माउन्ट मोनाष्ट्रीबाट हिमालका मनमोहक दृश्यहरू नियाल्न सकिने बताइएको छ ।
उपत्यकाको निकटतम तथा आकर्षित स्थानमा रहेको यस होटलले फुल्चोकी डाँडाको श्रृंखलाको एउटा टुप्पोको रूपमा वरिपरिको शान्तमय प्राकृतिक वातावरणको मज्जा लिन पाउने अध्यक्ष शेर्पाको भनाई छ ।
कोरोना भाइरसपछि नेपालको पर्यटनले कस्तो मोड लिन्छ भन्ने यकिन नभएकै कारण होटलको कोठाहरुको दर रेट सार्वजनिक नगरिएको अध्यक्ष शेर्पाले बताए ।
‘लकडाउन अघि एक किसिमको मूल्य बनाएका थियौं, तर अहिले अवस्था फरक भएको छ, केही तलमाथी हुन सक्छ,’ उनले भने । एशियन ट्रेकिङ, एशियन एड्भेन्चर र ट्राभल कम्पनी सञ्चालन गर्दै आएका शेर्पाको सोलुखुम्बुको खुम्बु क्षेत्रमा ४ वटा होटल र चाबहिलमा १ वटा होटल सञ्चालनमा छ ।
सन् १९६३ बाट पर्यटन क्षेत्रमा लागेका शेर्पा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष समेत हुन् ।