काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) का कारण जयनगर–कुर्था रेल सञ्चालनमा ढिलाई हुँदै गएको छ । बन्दबन्दी(लकडाउन) हुनु अघि नै रेल चलाउनले भनेपनि नेपालमा ल्याएको त्यसको रेखदेख तथा शुरक्षा र जनशक्ति व्यवस्थापन हुन नसक्दा सञ्चालनमा ढिलाई भएको हो ।
भारतीय रेल्वे निर्माण कम्पनीले निर्माण गरेको दुइ सेट डेमो रेलका डब्बा अहिले भारतकै हाजीपुर ल्याएर राखिएको छ । नेपालमा ल्याएर तत्काल सञ्चालनकाे तयारी नभएका कारण रेल हाजीपुरमै थन्किएका हुन् । तत्काल जनशक्ति तथा चलाउने प्राविधिक व्यवस्थापन नभएका कारण त्यहाँ राखिएको रेल विभागले जनाएकाे छ ।
तत्काल ल्याएर सञ्चालन गर्ने वातावरण नभएकाे र ल्याइहाले पनि त्यसको मर्मत, रेखदेख तथा सुरक्षा हुन सक्ने अवस्था छैन् । रेल चलाउन जनशक्ति व्यवस्थापन भएमा ४ घण्टाभित्र उक्त रेलका डब्बा जयनगर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।
बन्दाबन्दीका कारण रेल चलाउन जनशक्ति व्यवस्थापन गर्न नसक्दा रेल सञ्चालनमा ढिलाइ भएको बताए । ‘रेल चलाउन नसक्नुको मुख्य समस्या कर्मचारी व्यवस्थापन नै हो । लकडाउन सुरु भएपनि त्यो गर्नै सकिएन् । इन्डियाबाट कर्मचारी हायर गरेर करारमा ल्याउनुपर्ने त्यो पनि रोकियो’ उनले भने ।
भारतबाट करारमा जनशक्ति हायर गर्ने प्रक्रिया लकडाउनकै कारणले अघि बढ्न सकेको छैन् । स्वदेशी प्राविधिक कर्मचारी आवश्यकताबारे सुचना निकालेपनि कसैको पनि निवेदन परेन् ।
यसअघि सरकारले रेल चलाउन २६ जना प्राविधिक जनशक्ति भारतबाट करारबा ल्याउने निर्णय गरिसकेको छ । तर, लकडाउनका कारण भारतसँग त्यो प्रक्रिया अघि बढाउन नसकेको मिश्र बताउँछन् । रेल चलाउन झन्डै २०० जना प्राविधिक जनशक्ति आवश्यक पर्छ ।
रेल ल्याउन २० प्रतिशत मोबिलाइजेशन दिइसकेको र ८० प्रतिशत भुक्तानी रेल ल्याइसकेपछि दिइनेछ । निर्मित रेल नेपालमा ल्याउँदा परिक्षण गर्नुपर्ने, मर्मत गर्नुपर्ने र त्यसको शुरक्षा हुन नसक्ने भएपनि भारतीय रेल्वे कम्पनीलाई त्यसको जिम्मा दिइएको छ ।
अहिले पनि रेल चलाउन आन्तरिक तयारी पूरा नहुँदा रेल निर्माण भइसक्दा पनि भारतमे थन्किन लागेको हो । ६९ किलोमिटर लामो जनकपुर–बर्दिवास रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्मको ३४ किमि रेलमार्गमा रेल चल्नेछ ।
झन्डै १ अर्ब रुपैयाँ लागतमा नेपालले आफ्नै स्वामित्वको रेल सञ्चालन गर्नेछ । दुई सेट डिब्बा डेमो ट्रेन र इन्जिन खरिद हुन हुनेछ । यो रेल सेवा डिजेल इलेक्ट्रिक मल्टिपल युनिट मोडेलको हुने छ ।
यसअघि नै जयनगर–कुर्था रेल सञ्चालनका लागि आवश्यक पूर्वाधारका काम सकिएका छन् । रेल स्टेसन भवन, कर्मचारी क्वार्टर, पुल निर्माण, ट्र्याकबेल्ट तथा स्ट्रक्चर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेका छन् ।
रेल सञ्चालनमा आएपछि धार्मिक क्षेत्र जनकपुर क्षेत्रसँगै प्रदेश नम्बर २ को पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।