काठमाडौं । स्मार्टफोनको विकाससँगै यसका प्रयोगकर्ताहरुको संख्या पनि दिनानुदिन वृद्धि भइरहेको छ । भन्सार विभागका अनुसार वार्षिक २० अर्ब रुपैयाँ बढिको मोबाइल फोन आयात हुने गरेका छन् । तर, सस्तो होस् या महङ्गो मोबाइल खरिद गर्दा ध्यान नदिँदा बिग्रने र नचल्नेलगायतका विभिन्न समस्या आउने गरेका छन् ।
बजारमा सबै कम्पनीले आफूलाई अरुभन्दा राम्रो भएको दाबी गर्दछ, जसका कारण ग्राहकहरुलाई राम्रो स्मार्टफोन खरिद गर्न समस्या हुने गरेको छ । कहिले काहिँ मोबाइल फोन किन्दा वा साना गल्ती गर्दा ठूलो समस्यामा फस्ने सम्भावना हुन्छ । यो समस्याको समाधानका लागि हामीले केही नयाँ टिप्स दिएका छौं ।
स्मार्टफोनको डिस्प्ले र आकार
पछिल्लो समय नयाँ स्मार्टफोनमा फोनको डिस्प्ले आकर्षक मात्र बन्न थालेका छन् । टिकाउयोग्य नभएको भन्दै सेवाग्राहीहरुको गुनासो समेत छ । स्मार्टफोन केबल कल वा मेसेज गर्नका लागि मात्र सीमित छैन, यो मनोरञ्जनको साधन पनि भएको छ, साथै मानिसहरूले यसमा भिडियो सम्पादन गर्न पनि थालेका छन् । तसर्थ, यदि एक राम्रो स्मार्टफोनमा ५.५ इन्चदेखि ६ इन्चको फुल एचडी वा क्वाड एचडी डिस्प्ले छ भने यो उत्कृष्ट मान्नु पर्छ ।
क्यामराको गुणस्तर
आजकल अन्य सिस्टममा भन्दा स्मार्टफोन उत्पादकहरुले क्यामेरालाई बढी फोकस गरेका हुन्छन् । जसले सेवाग्राहीको मन जित्न सकोस् । तर, अधिक मेगापिक्सेल र जूमको विषयमा कुरा गरे पनि वास्तविकतामा त्यस्तो हुँदैन । कम्पनीहरुले भ्रम छर्ने मात्र काम गरेका हुन्छन् । त्यसैले अधिक मेगापिक्सेलको क्यामरा फोनको चक्करमा जानु हुँदैन । यदि तपाईंको फोटोहरु केबल तपाईको स्मार्टफोन वा ल्यापटपमा मात्र हेर्न चाहेको हो भने यसको लागि कम्तिमा १२ मेगापिक्सेल क्यामेरा सहितको स्मार्टफोनले पनि धेरै राम्रो नतिजा दिन्छ । फोटोको क्वालिटी यसको लेन्स, अपार्चर र आईएसओ लेभलमा निर्भर गर्दछ । धेरै मेगापिक्सेल क्यामरा भएको फोनहरु व्यावसायिक फोटोग्राफी गर्नेहरुले मात्र खरिद गर्दा हुन्छ ।
प्रोसेसर
विश्व स्मार्टफोन बजारमा पछिल्लो समय ५ जी प्रोसेसर भएको स्मार्टफोन भित्रिसकेको छ तर नेपालमा फोरजी नै काफी छ किनकि फाइभजी प्रविधि नेपालमा भित्रिसकेको छैन । गेमिङका लागि वा सम्पादनलगायतका काम गर्न चाहाने हो भने कम्तिमा क्वालकम स्न्यापड्रागन ६०० सिरिजको प्रोसेसर तपाईंको फोनमा हुनुपर्छ । तर दैनिक रुपमा सामान्य प्रयोगको लागि मात्र फोन किन्ने हो भने मिडिया टेक प्रोसेसर नै उपयुक्त हुने छ ।
ब्याट्री
स्मार्टफोनमा अर्को मेरुदण्डको रुपमा ब्याट्रीलाई लिइन्छ । आजकल मानिसहरु लामो समय चार्ज टिक्ने व्याट्री नै बढि खोज्छन् । विशेषगरी केही फोनहरुमा ६००० एमएएचसम्मका ठूला ब्याट्रीहरु दिन थालेका छन् । तर तपाईले जुनसुकै फोन किने पनि कम्तिमा ४००० एमएएचको ब्याट्री हुनु राम्रो हुन्छ ।
अपरेटिङ्ग प्रणाली
पछिल्लो समय बजारमा एन्ड्रोइड १० संस्करणका एन्ड्रोइड स्मार्टफोनमा भित्रिरहेका छन् । तर नयाँ फोन किन्दा सो स्मार्टफोनमा कम्तिमा एन्ड्रोइड ९.० राखिएको हुनुपर्छ ।
स्मार्टफोनको बडी
स्मार्टफोनको बडी आजकल कमसल खालकै आउन थालेका छन् । प्रयोगकर्ताले यो विषयमा जानकारी नपाउँदा घाटासमेत व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । स्मार्टफोनको बडी ग्लास कोटिङ्गका साथ आउन लागे पनि बलियो र सुरक्षित भने हुँदैन । विशेषगरी स्मार्टफोनमा प्लास्टिकको बडी सुरक्षित र धेरै राम्रो हुन्छन् तथा खसे पनि फुट्दैनन् । यसैले प्लास्टिकको बडी भएका फोनहरू उत्तम र लामो अवधिसम्म चल्ने हुन्छन ।