काठमाडौं । लकडाउनका कारण होटल बन्द भएपछि रोकिएका होटलहरुका श्रमिकहरुले तलब पाउने भएका छन् । लामो समयको विवादपछि होटल एशोसिएसन अफ नेपाल(हान) र विभिन्न ट्रेड युनियनका पदाधिकारीहरुबीच भएको सम्झौता अनुसार अप्रिल १३ (बैंशाख १) देखी डिसेम्बर ३१(पुस १६) सम्म तलब पाउने भएका हुन् ।
सम्झौता अनुसार डिलक्स पाँचतारे(दुईसय भन्दा माथि कोठा भएको) होटल तथा सोहि स्तरको रिसोर्टमा कार्यरत प्रत्यक श्रमिक तथा कर्मचारीहरुलाई मासिक १० हजार रुपैयाँ पाउने भएका छन् ।
दुई सय कोठा भन्दा कम भएको पाँच तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरुलाई मासिक ९ हजार,सय कोठा भन्दा बढि भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरुलाई मासिक ८ हजार ४५५ रुपैयाँ पाउने छन् ।
यस्तै सय सय कोठा भन्दा कम भएको चार तारे होटल तथा सोही स्तरका रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीलाई मासिक ८ हजार, तीन तारे तथा सोहि स्तरका रिसोर्टका श्रमिक र कर्मचारीले मासिक ५ हजार, दुई तारे तथा सोहि स्तरका रिसोर्टका कर्मचारी तथा श्रमिकहरुले ४ हजार ३ सय र एक तारे र पर्यटक स्तरीय होटल तथा रिसोर्टहरुले आपसी समझदारीमा श्रमिक तथा कर्मचारीहरुलाई पारिश्रमिक दिनु पर्ने छ ।
श्रमिक तथा कर्मचारीहरुले तलब सुविधा बाहेक अन्य कुनै सुविधाहरु पाउने छैनन् । होटल सञ्चालन गर्नका लागि आवश्यकता बमोजिम व्यवस्थापनले चक्रिय प्रणाली अनुसार आलोपालो गरी काममा लगाइएका श्रमिक, कर्मचारीहरुलाई साविक अनुसार पारिश्रमिक पाउने छन् ।
काममा नबोलाइएको÷ नलगाएको श्रमिक,कर्मचारीहरुलाई सम्झौतामा उल्लेख गरिए बमोजिमको रकम पाउने छन् ।