काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को महामारीबाट लामो समय थलिएको अटो क्षेत्रलाई मौद्रिक नीतिले साथ नदिएको पाइएको छ । कोरोना कहरबाट संकटमा परेको अटो क्षेत्रलाई मौद्रिक नीतिले पुनर्उत्थान गर्न नसकेको सम्बन्धित क्षेत्रका व्यवसायीहरुले बताएका छन् ।
बजेटले समेट्न नसकेको अटो क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गर्ने आशा पनि भत्किएको लक्ष्मी हुन्डाईका निर्देशक निराकार श्रेष्ठले जानकारी दिए । ‘व्यवसायलाई असर पर्न नदिने गरी अटो कर्जा खुकुलो बनाउनुपर्ने माग सुनुवाई नहुनु दुःखद हो’ श्रेष्ठले भने ।
मौद्रिक नीतिमा अटो मोबाइल व्यवसायीबारे केहि पनि नसमेटिनु अचम्मको बिषय बनेको उनको भनाई छ । उनका अनुसार व्यवसायीले सवारी साधन किन्दा ५० प्रतिशत बैंक फाइनान्सिङलाई ८० प्रतिशत पुर्याउनुपर्ने माग राखे पनि केहि सम्बोधन भएको छैन् । ठूलो पुँजी फसेर बसेको अटो क्षेत्रलाई कतैबाट पनि नछोएको श्रेष्ठले जानकारी दिए ।
अटो व्यवसायीले भने सवारी साधन खरिदका लागि ९० प्रतिशतसम्म ऋण सुविधा दिन माग गर्दै आएका थिए । नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसन (नाडा) ले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिमा खुकुलो व्यवस्था गर्न माग गर्दै औपचारिक रुपमै ज्ञापनपत्र समेत बुझाए पनि मौद्रिक नीतिले कुनै बिषयलाई पनि समेटेको छैन् ।
त्यस्तै, नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले चालु आर्थिक बर्षको मौद्रिक नीतिले अटो व्यवसायलाई उकास्ने किसिमको कुनै पनि राहत प्याकेज नल्याएको भन्दै विरोध जनाए । ‘सरकारसँग हामीले लामो समयदेखि अटो क्षेत्रको समस्या सम्बोधन गर्न लबिङ गर्दै आएका थियौं, तर केन्द्रीय बैंकले केही गरेन’ दुलालले भने ।
अटो क्षेत्रलाई नै स्थिर गर्ने गरि यसअघिको मौद्रिक नीतिले व्यवस्था गरेको अटो लोन (सवारी कर्जा) को दायरा बढाउन सरकारलाई भनेका थियौं । तर मागको कुनै सुनुवाई नभएको दुलालाको भनाई छ ।