काठमाडौं । कोरोना भाइरस(कोभिड –१९) ले थला परेको पर्यटन क्षेत्रका व्यवसायीहरु मौद्रिक नीतिबाट उत्साहित भएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि ५० अर्बको कोष बनाई व्यवसायीलाई ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने उल्लेख छ । यद्यपी, यो विषयलाई बजेटले नै समेटेको थियो ।
कोभिड–१९ को कारण पर्यटन उद्योग वा परियोजनाको निर्माण संचालन/सम्पन्न हुन नसकेको अवस्थामा पर्यटक स्तरीय होटलको हकमा अधिकतम २ वर्ष, अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा १ वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ९ महिना र न्यून प्रभावित कर्जाको हकमा ६ महिनासम्मका लागि एक पटक ग्रेस अवधि थप गर्न सकिने व्यवस्थाले पर्यटन व्यवसायीहरु उत्साहित भएका हुन् ।
मौद्रिक नीतिमार्फत गर्भनर महाप्रसाद अधिकारीले ५० अर्वको कोषको रकम ५ प्रतिशतसम्ममा पाउने व्यवस्था गरिएको उल्लेख गरेपछि पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । यद्यपी, पर्यटनसँग आबद्ध व्यवसायीहरुले सरकारसँग २ प्रतिशत ब्याजदरमा ऋण पाउनु पर्ने माग राख्दै आएका थिए ।
मौद्रिक नीति मार्फत कोभिड –१९ को संकटबाट अति प्रभावित हवाई उड्डयन व्यवसाय, यातायात,होटल, रेष्टुरेन्ट लगायतका पर्यटन क्षेत्रका उद्यम व्यवसाय पुनरुत्थानका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा प्रवाहमा प्राथमिकता दिइने भएको छ ।
पर्यटन क्षेत्रसँग सम्बन्धित निर्माणधिन आयोजनाहरु निर्माण सम्पन्न गर्न पुँजीको अभाव हुने भएमा त्यस्ता आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट सहज ढंगबाट कर्जा उपलब्ध हुने व्यवस्था गरिएको छ ।
होटल एशोसिएसन अफ नेपाल(हान)का प्रथम उपाध्यक्ष विनायक शाहले पुनरुत्थानका लागि कर्जा तत्कालै पाउने अवस्था आए व्यवसायीहरुलाई ठूलो राहत हुने बताउँछन् । ‘व्यवसायीहरु ५ प्रतिशत ब्याजमा कर्जा लिन तयार छन्, उपाध्यक्ष शाहले भने, तर बैंककोे नीतिले केहि समस्या आउन सक्छ ।’
मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले २०८१ असारसम्म लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा १ करोड रुपैयाँ भन्दा कम रकमका कर्जाहरु आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत पु¥याउनुपर्ने व्यवस्था गरेको छ । अहिले व्यापार व्यवसाय नै पूर्ण रुपमा बन्द भइरहेको बेला बैंकलाई थप कर्जा माग्दा व्यवसायिक योजना माग गरेका कारण धेरै व्यवसायीहरुले अप्ठ्यारो मानेका मात्रै थिएनन् । बैंक तथा वित्तीय संस्थाको नियतमै शंका गरेका थिए । केन्द्रीय बैंकले निर्देशन जारी गर्दा यस्ता विषयमा पनि ध्यान दिनुपर्ने उनले बताए ।
समिट एयरका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुमन पाण्डेले सावाँ ब्याज तिर्ने समय पुस मसान्तसम्म पुर्याउने विषय स्वागतयोग्य भएको बताए । पुससम्ममा नेपालको पर्यटन क्षेत्रले गति लिइसक्ने अनुमान गर्दै सीईओ पाण्डेले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा ५ प्रतिशतको ब्याजमा कर्जा पाउने विषयलाई ‘ग्रासरुट’मा रहेर नीति बनाउन आग्रह गरे ।
‘पर्यटनमा धेरै साना व्यवसायीहरु रहेकोले राष्ट्र बैंकले बनाएको नीतिमा सबैलाई सहज नहुँन पनि सक्छ, सीईओ पाण्डेले भने, ’त्यस्ता व्यवसायीहरुलाई पनि सहज हुने गरी नीति बनाउनु पर्छ ।’
पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले बजेटले नसमेटिएका विषयहरु मौद्रिक नीतिमा आएको भन्दै स्वागत गरेका छन् । धेरै व्यवसायीहरुको मर्मलाई बुझेर ५ प्रतिशत व्याजदरमा कर्जा लिने व्यवस्थालाई बैंकहरुले कसरी कार्यन्वयन गर्छन र नगरे कस्ता कारबाही हुने भन्ने विषयमा राष्ट्र बैंकको निर्देशनमा स्पष्ट आए धेरैलाई राहत हुने उनको भनाई छ ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा)का निर्वतमान अध्यक्ष सीएन पाण्डेले सरकारको क्षमता अनुसार मौद्रिक नीतिले व्यवसायीहरुको माग ९० प्रतिशत सम्बोधन गरेको बताए । ‘हाम्रो माग भनेको सहुलियत दरमा थप कर्जा चाहियो भन्ने थियो, निर्वतमान अध्यक्ष पाण्डेले भने, यसमा सम्बोधन भएको छ, कार्यन्वयनपछि छिट्टै होस भन्ने हो ।’