काठमाडौं । बिहीबार विभिन्न पर्यटन क्षेत्रसँग आबद्ध संघस्थाहरुले सामूहिक रुपमा सरकारलाई आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्न दबाब दिएका छन् । नेपालको अहिलेकै अवस्थामा हवाई उडान खुला गर्ने वित्तिकै पर्यटकहरु आइहाल्छन त भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
पछिल्लो समय नेपालमा संक्रमितको संख्या बढिरहेको र विदेशमा कम भइरहेको बेला यहाँका पर्यटन ब्यवसायीहरुले भने हवाई उडान सुचारु गरी पर्यटनसँग सम्बन्धित सबै क्षेत्र खुला गर्न माग गर्दै आएका छन् ।
पहिलो संक्रमित भेटिदा लकडाउन गर्ने र अहिले हजारौंको संख्यामा संक्रमित पुग्दा लुजडाउन गरेको भन्दै व्यवसायीहरुले अगष्ट १ मा आन्तरिक र १५ बाट अन्तर्राष्ट्रिय हवाई उडानसँगै सिमा नाकाहरु खोल्नु पर्ने उनीहरुको माग छ ।
ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल(टान)का अध्यक्ष खुमबहादुर सुवेदीले भने ‘लुजडाउन गर्दा की सबै क्षेत्रलाई खुला गर्नुपर्छ, हैन भने पर्यटन क्षेत्रलाई मात्र बन्द गराएर हुँदैन ’ । सरकारले निर्णय गरे हामी आवश्यक तयारी गर्न लाग्छौं’ अध्यक्ष सुवेदीले भने ।
लकडाउनका कारण पर्यटन क्षेत्रको खर्बाै रुपैयाँ डुब्ने खतरा बढेको भन्दै सरकारले तत्कालै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानको मिति सार्वजनिक नगरे रिले अनशन गर्ने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का अध्यक्ष अच्यूत गुरागाईले चेतावनी दिए ।
‘विश्वका धेरै मुलुकले हवाई उडान सुचारु गर्न लागेको र पर्यटकका लागि खुला गरिसकेको बेला हाम्रो सरकार निधाएको छ, अध्यक्ष गुरागाईले भने, कहिलेबाट खोल्ने हो कम्तीमा त्यो सुचना त दिनुपर्योनी ’ ।
होटल एशोसिएसन अफ नेपाल(हान)का प्रथम उपाध्यक्ष विनायक शाहले पर्यटनको प्लानिङमा सरकार चुकेको बताए । ‘अहिले हाम्रो माग भनेको पर्यटनको कुन कुन क्षेत्र कहिले खुल्छ र हामी त्यहि तयारी गर्छौ भन्ने हो, यसमा सरकारले हामीलाई स्पष्ट पारिदिनुपर्छ । पर्यटनको पनि कुन कुन क्षेत्र पहिलो चरणमा खोल्ने र त्यसका आवश्यक स्वास्थ्य प्रोटोकलहरु के के बनाउने भन्ने निर्देशिका अनुसार तयारी रहन सरकारले जानकारी गराउनु पर्ने उनको भनाई छ ।
गत बर्ष बुकिङ गरेका मध्ये ४० प्रतिशतले अहिले पनि रद्ध नगरेको भन्दै सरकारले ढिलाई गर्दै जाने हो भने नेपालप्रतिको विदेशी मोह घट्दै जाने भएकोले त्यसतर्फ गम्भिर भएर लाग्नु पर्ने अवस्था आएको उनले बताए ।
अन्तर्राष्ट्रिय उडान खुला गरी जहाँ मानिसको चाप कम हुन्छ त्यस क्षेत्रमा पर्यटकहरुलाई पठाउन तर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यान जानुपर्ने प्रथम उपाध्यक्ष शाहको भनाई छ ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पर्यटन क्षेत्रलाई आवश्यक स्वास्थ्य प्रोटोकलको सिमा भित्र रहेर खुलाउने गरी आवश्यक छलफल भइरहेको बताए ।
‘पर्यटन ब्यवसायीहरुको पिडा मन्त्रालयले राम्रो सँग बुझेको छ,’ पर्यटन सचिव अधिकारीले भने, ‘आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सुचारुका लागि कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरी समितिमा लिखित प्रस्ताव लैजान लागेका छौं ’ ।