काठमाडौं । कोभिड–१९ को प्रभावले तीन महिनाभन्दा अघिबाट लकडाउन हुँदा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न क्षेत्रका खर्बौ रुपैयाँ जोखिममा परेको भन्दै अगष्ट १५ बाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने गरी तालिका सार्वजनिक गर्न माग गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै विभिन्न ३० वटा संघसंगठनका तर्फबाट अगष्ट १ बाट आन्तरिक र १५ बाट अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी थाल्न सरकारसँग माग गरेका हुन् ।
ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल(टान)का अध्यक्ष खुमबहादुर सुवेदीले आन्तरिक तथा वाह्य उडान ठप्प भएसँगै नेपाली पर्यटन उद्योग शून्य हुँदै असीमित दायित्व वहनसँगै ऋणात्मक भई १० औं लाखको रोजगारी तथा खर्बौंको लगानी समेत संकटमा परेको बताए ।
अन्तर्राष्ट्रिय अभ्यास र अनुभव समेत हेरी नेपालले पनि सरकार, पर्यटन मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकलहरुको परिपालना गरी पर्यटन क्षेत्रसँग सम्बन्धीत क्षेत्रहरु विस्तारै खुला गर्दै लैजानुपर्ने उनले बताए ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा) का अध्यक्ष अच्यूत गुरागाईले सरकारले असार १ गतेपछि लकडाउनलाई लुजडाउन बनाएपनि होटल, रिसोर्ट, होमस्टे, हवाई तथा सार्वजनिक, पर्यटक सवारी यातायात लगायत समग्र पर्यटकीय क्षेत्रहरु पूर्णतः बन्द भएकोले ती क्षेत्रहरुपनि खुला गरी जनजीवन सहज बनाउन माग गरिएको बताए ।
नियमीत उडान नभएकै कारण अहिले नेपाली नागरिकले महंगो शुल्क तिर्न बाध्य भएको उनको भनाई छ । हवाई उडान सँगै सडक मार्गबाट आउने पर्यटकहरुलाई पनि लक्षित गरी सिमा नाकाहरु खोल्नु पर्ने बताएका छन्। सरकारले साउन १७ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय सँगै सिमा नाकाहरु बन्द गर्ने यस अघि नै निर्णय गरेको छ ।