काठमाडौं । नेपाल वायुसेवा निगमले चार ओटा ¥याम्प बस खरिदको प्रक्रिया अगाडि बढाएको छ । यात्रु तथा क्रु मेम्बर बोक्न बस खरिद गर्न लागिएको निगमले जनाएको छ ।
निगमसँग भएका स्रोत साधनलाई उच्चतम प्रयोग गर्ने र अपुग स्रोत साधन खरिद गरी आफ्नो सेवालाई सदाझैं गुणस्तरीय र सुरक्षित बनाउने उद्देश्यले प्रेरित हुँदै आक्रामक ढङ्गले भूमिस्थ सेवाका लागि विभिन्न उपकरण खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
बस आएपछि बिजनेस क्लास र क्रुहरुले छुट्टै बसको सुविधा पाउनेछन् भने अरु यात्रुहरुलाई पनि थप सुविधा मिल्ने उल्लेख छ । साथै यही हप्ताभित्र निगमले विशिष्ट तथा अति विशिष्ट व्यक्तिहरुका लागि नयाँ भीआईपी ¥याम्प कोच सञ्चालनमा ल्याउने भएको छ ।
भूमिस्थ सेवामा प्रयोग भएका तर अहिले पुराना भै उपयोगमा आउन नसक्ने उपकरणलाई लिलाम प्रक्रियाद्वारा विस्थापन गरिएको छ । लिलामी प्रक्रियाबाट विस्थापन गर्दा निगमलाई ३२ लाख ६४ हजार ४ हजार ४४ रुपैयाँ आम्दानी भएको छ ।
पुरानालाई विस्थापित गर्दै नयाँ प्रविधियुक्त थप उपकरण जस्तै टोबार लेस ट्रयाक्टर, कन्टेनर डली, प्यालेट डली, इलेक्ट्रिक फर्कलिफ्ट, ग्राउन्ड पावर युनिट आदि खरिद गरिने कार्य अघि बढिसकेको जनाइएको छ । सम्पूर्ण उपकरणहरु आएटा मापदण्ड पूरा गरेका हुनाले सेवा पनि चुस्त र दुरुस्त हुनेछ । निगमको भूमिस्थ सेवाको अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले प्रसंशा गरेका छन् ।
सिता लोड कन्ट्रोल सिस्टमअन्तर्गत यात्रुहरुको ब्यागेज ट्रयाकिङ प्रणाली स्तरोन्नति गर्ने काम भएको छ । यसबाट निगमका उडानमा यात्रा गर्ने यात्रुहरुको ब्यागेज थप व्यवस्थित किसिमले ह्यान्डलिङ गर्न मद्दत पुगेको विज्ञप्तिमा उल्लेख छ ।
आन्तरिक उडानका यात्रुहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत आन्तरिक टिकट बिक्री कक्ष खोलेको छ । यसबाट आन्तरिक उडानमा यात्रा गर्ने यात्रुहरुलाई टिकट खरिद गर्न तथा कार्गो बुक गर्न सहज भएको छ । जसले गर्दा निगमको आयस्रोतमा पनि थप वृद्धि भएको जनाइएको छ ।