काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपालमा सञ्चालनमा रहेका फेसबुक लगायतका सामाजिक सञ्जाललाई दर्ता गराएर राजस्व असुली गर्नुपर्ने बताएको छ ।
नेपालमा दर्ता नभई चलेका सामाजिक सञ्जाल र ओभर दि टप (ओटीटी) सेवाहरुको लागि अमेरिकी डलर खाताबाट रकम भुक्तानी समेत भइरहेकोले ती सेवालाई नेपालमा दर्ता गरेर राजस्व असुली गर्न महालेखापरीक्षकको ५७ औं वार्षिक प्रतिवेदनले सरकारलाई सुझाव दिएको हो ।
‘इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने भाइबर, फेसबुक, मेसेन्जर, स्काइप, ह्वाटस् एप, विच्याट, इमो, जुम, बेभेक्स, सिस्कोजस्ता एप्लिकेसनहरु नेपालमा निर्बाध रुपमा सञ्चालन भइरहेको र कतिपय सेवाको लागि अमेरिकी डलर खाताबाट रकम भुक्तानी समेत भइरहेको छ’, प्रतिवेदनमा भनिएको छ ।
इन्टरनेट सेवामार्फत सञ्चालनमा आएका त्यस्ता सामाजिक सञ्जाल र ओभर दि टप (ओटीटी) आयकर ऐनको दफा ६७ बमोजिम नेपालको कराधार क्षेत्रभित्र पर्ने भएकोले सेवा प्रदान गर्नुपूर्व दर्ता हुनुपर्ने महालेखाले औंल्याएको छ।
कानुनअनुसार दर्ता हुनुपर्ने भए पनि अहिलसम्म कुनै पनि सेवाप्रदायक संस्था दर्ता नभएको उसले आफ्नो ५७ औं प्रतिवेदनमा उल्लेख गरेको छ।