काठमाडौं । गत असार १६ गते सिन्धुली पुगेका कृषि मन्त्री घनश्याम भुसालले पत्रकार सम्मेलनमा अमेरिकी हेभी मेटल म्युजिकले सलह कक्रक्कै हुने र भाग्ने बताए । उनले त्यो संगीत नेपाल झिकाउने भनेपछि उनको भिडियाे सामाजिक सञ्जालदेखि सवैतिर भाइरल नै बन्यो ।
साँच्चीकै मन्त्रीले भनेअनुसार नै नियन्त्रण गर्न प्रक्रिया थालेको छ कि छैन भनेर हामीले बुझ्न खोज्दा मन्त्रालयका एक कर्मचारी मन्त्रीको एक फगत तर्कका रुपमा अथ्र्याए । उनले त्यसखालको कुनै प्रक्रिया अघि नबढेको बताए । ‘त्यसका लागि त्यस्तो कुनै प्रक्रिया अघि बढेको छैन् । मन्त्रीज्यूले आफ्नो तरिकाले भन्नुभए होला । उहाँलाई नै बुझ्नुस’ ती कर्मचारीले भने ।
त्यसपछि सलह सुचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले पनि यो सम्वन्धी प्रक्रिया अघि नबढेको बताए । जुन, अहिले पनि मन्त्रीको कुरा गफैमा सीमित छ ।
यसअघि सलह नियन्त्रणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा गठित कार्यदलले सलह आउने सम्भावना टर्यो भनेर झुक्यायो । त्यतिवेला सलह आउने जोखिम थियो । नियन्त्रण र व्यवस्थापनको कुनै पनि तयारी गरिएन् ।
सलह भित्रिएपछि पनि तत्काल गर्नुपर्ने नियन्त्रण र व्यवस्थापनमा सरकारको तदारुकता देखाइएन् । बरु, जुम मिटिङ र बैठक भए । प्रदेश र स्थानीय सरकारलाई नियन्त्रण र व्यवस्थापनमा परिचालन गर्ने भनेर कोरा जिम्मेवारी सुम्पियो । तर, ठोस नियन्त्रणको पहल अहिलेसम्म पनि भएन् ।
विज्ञहरुले अझैपनि भारतको गुजरात र विहारबाट थप सलह आउन सक्ने बताइरहेका छन् । सलह नियन्त्रण गर्न तत्काल रासायनिक बिषादीको प्रयोग गर्ने अवस्था नरहेको र भगाउने र तर्साउने विधि नै उत्तम रहेको कीट विज्ञ बताउँछन् ।
नार्कका एक कृषि विज्ञले नेपालमा सलहको सानो मात्रै झुण्ड आएकाले खासै क्षति नभएपनि बाक्लो र ठूलो सलहको ग्रुप आएमा सरकारले नियन्त्रण गर्न सक्ने अवस्था नरहने बताउँछन् । हुन पनि त्यस्तै अवस्था छ । कुनै तयारी बिना भविष्यमा अझै ठूलो सहलको झुण्ड भित्रिएमा तत्काल नियन्त्रण गर्न सक्ने अवस्था देखिन्न ।
‘मलाइ लाग्छ अहिले देखिएको केही सानो झुन्ड मात्र हो । ठूलो झुन्डका रुपमा नेपालमा आएको जस्तो लाग्दैन’ नार्कका कीट अनुसन्धान विभागका प्रमुख वैज्ञानिक डा. प्रेमनिधी शर्माले भने, ‘ठूलो झुण्डमा सलह किरा आएमा नियन्त्रण गर्न गाह्रो हुन्छ । यो त जंगल, खोला, खेतमा पनि फैलिन सक्छ । त्यो अहिले सबैतिर फैलिएको हो कि होइन् भनेर अध्ययन हुनु जरुरी छ ।’
सलह प्रकोप भित्रिएमा कसरी नियन्त्रण गर्ने भन्ने न कुनै रणनीति बन्यो, न त कुनै पहल भयो । सलह किरा मार्न प्रशस्त बिषादी तथा कीट चाहिन्छ । यदि सलहको प्रकोप व्यापक फैलिएमा विभिन्न बिषादी जोगाड अहिले नै गर्नुपर्ने हो । तर, त्यसतर्फ कृषि मन्त्रालयले ध्यान दिएको देखिदैन् ।
केही प्रदेश र स्थानीय सरकारले सलह संकलन गरेर ल्याउनेलाई प्रतिकिलोका दरले रकम दिने घोषणा गरे । प्रदेश नम्बर ५ ले प्रतिकिलो सलक जम्मा गर्नेलाई २० दिने भनेपछि यो प्रक्रिया अन्य प्रदेश र स्थानीय सरकारले पनि अघि बढाएका छन् ।
हालै कार्यदल र मन्त्रालयका पदाधिकारीले पनि सलह संकलन गरेर ल्याउनेलाइ प्रतिकिलो ५०० रुपैयाँ दिने प्रस्ताव मन्त्रालयमा पेश गरे । यसअघि निकै कम रकम भएकाले सलह नियन्त्रणमा आकर्षण नभएकाले यो प्रस्ताव गरेपनि निर्णय भएको छैन् ।
मन्त्रालयले बजेटको नभएको भन्दै पन्छिएको छ । त्यसका लागि अर्थ मन्त्रालयसँग बजेट स्वीकृति गराउनुपर्ने मन्त्रालय स्रोत बताउँछ ।
चालू आर्थिक वर्ष सकिएकाले बजेट नभएको कृषि मन्त्रालय बताउँछ । मन्त्रालयले अर्थबाट बजेट माग गर्नुपर्ने र स्वीकृत भएर आएपछि कार्यान्वयन हुने बताउँछ । तर, नयाँ आर्थिक वर्ष सुरु भएर अर्थले बजेट स्वीकृत गर्ने कहिले हो त्यसको अत्तोपत्तो छैन् । ठूलो झुण्डको सलह आइहाल्यो भने के अर्थ मन्त्रालयको सहमति र बजेट कुरेर बस्न सकिएला ? तर, अवस्था यस्तै देखिन्छ ।
यसअघि असार १३ गते भारत हुँदै नेपालमा सलह किरा प्रवेश गरेको थियो । बारा र पर्सा हुँदै नेपाल छिरेको त्यो सलहको किरा झुण्ड झुण्डमा फैलिएर देशका विभिन्न ठाउँमा क्षति पु¥यायो । भलै, ठूलो क्षति भने गरेन् । विभिन्न जिल्लामा गरी कुल ११ सय हेक्टर जमिनको बालीनालीमा भने क्षति पु¥याएको विवरण प्राप्त भयो । त्यतिवेला आएको सलह प्रतिकुल मौसमका कारणले निक्रिय भइसके । मरिसके ।
त्यसपछि असार २८ गते पनि फेरी दाङ हुँदै फेरी सलहको अर्को ठूलो झुण्ड प्रवेश गर्यो । त्यो सलहको झुण्ड पहिलाको भन्दा ठूलो थियो । दाङ हुँदै प्युठान, कपिलवस्तु, रुपन्देही हुँदै अहिले सलहको झुण्ड रोल्पातिर लागिसकेको छ ।