एजेन्सी । भारतीय उद्योगपति मुकेश अम्बानीको रिलायन्सको डिजिटल सब्सीडेरी कम्पनी जियोमा गुगलले पनि शेयर स्वामित्व खरिद गर्ने भएको छ । हाल गुगल र जियोबीच यस विषयमा कुराकानी भइरहेको ब्लुमबर्गले लेखेको छ ।
दुई कम्पनीबीच आगामी केही हप्तामा नै व्यवसायिक सम्झौता हुने उक्त विषयसँग जानकारहरुले बताएका छन् । गूगल अघि मुकेश अम्बानीको टक्नोलोजी उपक्रम जियोले फेसबुक लगायत विभिन्न प्राइभेट इक्युटीहरुबाट केही महिनामा नै १५ अर्ब डलरसम्मको लगानी जुटाईसकेको छ । जियोमा लगानी गर्ने हाईप्रोफाइल लगानीकर्ताको सूचीमा क्वालकम कर्पोरेसनको उपक्रम, सिल्भर लेक पार्टनर र मुबाडाला इन्भेस्टमेन्ट कर्पोरेसन रहेका छन् ।
केही दिन अघि इकोनोमिक टाइम्ससँगको अन्तरवार्तामा गुगलका सीईओ सुन्दर पिचाईले जियोप्रति गुगलको रुचीको विषयमा आएका खबरहरुलाई न त अस्विकार गरे न त पुष्टि नै गरे ।
विश्वको पाँचौं ठूलो अर्थतन्त्र भारत अहिलो विश्वका ठूला टेक कम्पनीहरुका लागि उदाउँदो युद्धमैदान हो । यसैकारण भारतको डिजिटल इकोसिस्टममा आफ्नो स्थानलाई बलियो बनाउन गुगलले आगामी पाँचदेखि सात वर्षमा भारतमा १० अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ । उसले भारतमा लगानी र साझेदारी दुबै भित्राउने सीईओ पिचाईले इकोनोमिक टाइम्ससँगको अन्तरवार्तामा बताएका हुन् । गत अप्रिलमा फेसबुकले जियोमा पाँच अर्ब ७० करोड डलरको लगानी गरेको थियो ।
यसरी जियोमा आएको एकाएक लगानी प्रस्तावहरुले रिलायन्स जियोलाई उर्जा उत्पादक कम्पनीबाट ई कमर्श जाइन्ट कम्पनी बनाउने अम्बानीको महत्वकांक्षालाई पुरा गर्ने देखिएको छ ।
जियोलाई अलीबाबाको भारतीय भर्सनको रुपमा विकास गर्ने अम्बानीको चाहाना छ । फेसबुकको लगानीसँगै सिलिकन भ्याल्लीबाट अनुमोदनको तोक पाएको जियोले दर्जनौं लगानीकर्तालाई आकर्षित गरेको छ । साथै एक अर्ब ३० करोड जनसंख्या भएको बजारमा अनलाइन रिटेल, कन्टेन्ट स्ट्रिमिङ, डिजिटल भुक्तानी, शिक्षा र स्वास्थ क्षेत्रमा सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।
रिटेल तथा डिजिटल जस्ता विजनेस टु कन्जुमर सेक्टरहरु आर्थिक झट्काबाट सजिलै प्रभावित हुँदैनन् । यी क्षेत्रहरुले प्रिमियम रिटर्न पाउन सक्छन् । जियोलाई यसैको लाभ छ यसमा कुनै सन्देह छैन ।’ इन्डिया इन्फोलाइन फाइनेन्स लिमिटेडका विश्लेषक हर्ष डोले भन्छन् ।
पाँच अर्ब ७० करोड मूल्यमा जियोको १० प्रतिशत स्वामित्व खरिद गरेको फेसबुकले उक्त साझेदारीबाट ह्वाट्सएपमार्फत लाखौं लाख भारतीय व्यवसायीहरु आफ्ना सेवाग्राहीहरुसँग जोडिने अपेक्षा गरेको छ । हालसम्म भारतमा ह्वाट्सएपका ४० करोड प्रयोगकर्ताहरु छन् । रिलायन्स जियो इन्फोकमको पनि वायरलेस सर्भिसको सब्सक्राइबर सोही संख्यामा रहेका छन् ।