काठमाडौं । चालू आर्थिक वर्षको ९ महिना (चैत मसान्त)सम्म दुग्ध विकास संस्थानले कच्चा दूध सङ्कलन र खरिद गरी ग्रामीण क्षेत्रमा २ अर्ब २ करोड रुपैयाँ प्रवाह गरेको छ ।
विसं २०२६ सालमा स्थापना भएको संस्थानमा हाल १२ सय दुग्ध उत्पादक सहकारी संस्थामार्फत दैनिक २ लाख लिटर दूध खरिद हुने गरेको छ । दूध खरिद गरी प्रतिदिन करिब १ करोड रुपैयाँ ग्रामीण क्षेत्रमा प्रवाह भएको संस्थानले जनाएको छ ।
संस्थानले चालू आवको ९ महिनामा ४ करोड ८५ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
संस्थानले ५० वर्ष पूरा गरी हालै स्वर्ण महोत्सव तथा ५१ औं वार्षिकोत्सव मनाएको छ । संस्थानको स्वर्ण महोत्सव तथा ५१ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले संस्थानका उत्पादन गुणस्तरीय हुनुपर्छ भने पनि कति भएको छ भन्ने आशङ्का उव्जिएको बताए । संस्थानले गुणस्तरीय दुग्ध उत्पादन, प्रशोधन र ब्रान्डिङ गर्न प्रयत्न गरे पनि अझै गर्न नसकेको आरोप लगाए ।
‘डीडीसीले राम्रो गर्नुपर्छ भन्ने भावना लिएको छ । तर, कति गरेको छ भन्ने आशङ्का उबिजएको छ,’ मन्त्री खनालले भने, ‘पक्कै पनि केही आशङ्का उव्जिएका छन् । आगामी दिनमा राम्रो गर्छ भन्ने विश्वास मलाइ छ ।’
उपभोक्तालाई मर्का नपर्ने र गुणस्तरीय उत्पादनमा जोड दिँदै संस्थानलाई नाफामूलक बनाउनुपर्ने मन्त्री खनालको भनाइ छ ।
उनले धूलो दूधको आयात प्रतिबन्ध केही समय कायम राख्ने बताए । संस्थानलाई विकास, प्रवद्र्धन र गुणात्मक क्षमता अभिवृद्धि गर्नका लागि बजेटको समस्या नहुने खनालको भनाइ छ । ‘संस्थानलाई नाफामूलक नै बनाउने हो । उपभोक्तालाई मर्का नपर्ने गरी र गुणस्तरीय उत्पादनमा जोड दिनु आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि पैसाको समस्या होइन । यहाँ काम गर्ने तरिकाको समस्या हो ।’
मन्त्रालयका सहसचिव विमलकुमार निर्मलले संस्थानको गुणात्मक क्षमता बढाउँदै दूधमा आत्मनिर्भरमुखी कार्यक्रममा जोड दिइएको बताए । सेवामुखी, गुणस्तरीय र कम मूल्यका दुग्ध पदार्थ उत्पादनमा नयाँ प्रविधिको प्रयोग र बजारीकरणमा संस्थानले जोड दिनुपर्ने उनको भनाइ थियो ।
नयाँ नयाँ प्रविधिसहितका दुग्धजन्य पदार्थ उत्पादन र बजारीकरण गर्दै आफ्नो कारोबार र आम्दानी बढाउँदै लग्न सफल भएको संस्थानका महाप्रबन्धक शैलेन्द्रकुमार घिमिरेले बताए । विगतमा दूधले बजार नपाई ‘मिल्क होलि डे’ मनाउनुपर्ने बाध्यता संस्थानकै कारण अन्त्य भएको घिमिरेको भनाइ छ ।
आधिकारिक ट्रेड युनियन दुग्ध विकास संस्थानका सहदेव अर्यालले दूध उत्पादन बढाई आत्मनिर्भर बन्न साना÷ठूला दूध किसानलाई परिमाणका आधारमा अनुदान दिनुपर्ने बताए ।
संस्थानमा हाल करिब २ लाख कृषि परिवार संलग्न छन् । गत आवमा संस्थानले कच्चा दूध सङ्कलन गरी ५ करोड ४६ लाख लिटरबाट गाउँका किसानलाई २ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी गरेको थियो । वि.सं २०२६ सालमा दुग्ध विकास बोर्ड ऐन, २०२१ अन्तर्गत दुग्ध विकास संस्थानमा परिणत भएको थियो ।
दुग्ध पदार्थ बिक्री वितरण गर्न डीडीसीको केन्द्रीय कार्यालय लैनचौरमा ३ हजार लिटर दूध प्रतिघण्टा प्रशोधन गर्न सकिन्छ ।
बालाजु, विराटनगर, हेटौंडा, पोखरा, लुम्बिनी, नेपालगन्ज, कोहलपुर, जनकपुर, धनगढीमा डीडीसीका दुग्ध वितरण आयोजना छन् । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडांै, प्रदेश ५ को लुम्बिनी र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुग्ध वितरण आयोजना छन् । खासगरी ४६ जिल्लाबाट करिब २ लाख किसान स्थानीय दूध सङ्कलनमा संलग्न छन् ।
हाल ५ ओटा चिस्यान केन्द्र, ८ ओटा प्रशोधन कारखाना सङ्कलन प्रशोधन तथा बिक्री वितरण, याक चिज उत्पादन कारखाना १० ओटा, पशु आहार कारखाना १ र विराटनगरमा धूलो दूध कारखानाबाट प्रतिदिन ६ मेट्रिक टन एसएमपी कन्भर्सन हुन्छ । संस्थानले हालै चकलेट फ्लेभर्ड फ्रेस मिल्क (२०० एमएल) बजारमा ल्याएको छ ।