काठमाडौं । राष्ट्रिय यातायात व्यवसायी महासंघले तत्काल सवारी चलाउन नसक्ने बताएपनि केही निजी यातायात कम्पनीहरुले भने धमाधम गाडी सञ्चालन गर्न थालेका छन् ।
उनीहरुले सरकारको निर्देशन अनुसार, ५० प्रतिशत भाडा वृद्धि गरी सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाएर गाडी सञ्चालन सुरु गरेको बताएका हुन् ।
सरकारले छोटो दूरीमा सवारी चल्न दिने निर्णय गरेको भोलिपल्ट देखि नै मयूर यातायातले गाडी चलाउन थालेको थियो । मयूरले दैनिक रुपमा गाडी थप गर्दै लगिरहेको अध्यक्ष मोहन श्रेष्ठले बताए । मेट्रोसिटी यातायातले पनि गाडी सञ्चालन सुरु गरेको छ ।
यता, नेपाल यातायातले पनि केही दिनभित्र गाडी सञ्चालनमा ल्याउने जनाएको छ । आउँदो साउन १ गतेदेखि साझा यातायातले पनि काठमाडौं उपत्यकामा गाडी सञ्चालनमा ल्याउने तयारी गरेको छ । तत्काल उपत्यका बाहिर भने साझाले गर्ने छैन् ।
यसअघि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने वातावरण बनाइदिएन भने कुर्लने यातायात व्यवसायी सरकारले अहिले गाडी चलाउँ भन्दा पनि मानेका छैनन् । खासगरी यातायात व्यवसायी महासंघ नै सरकारले गरेको निर्णय मान्न तयार छैन् । उनीहरुले सरकारलाई जसरी पनि घुँडा टेकाउन लागि परेका छन् ।
सरकारको निर्णय अटेर गरेर सार्वजनिक यातायात व्यवसायी सिन्डिकेट लाद्न खोजेको देखिन्छ । अहिले कोभिड–१९ का कारण अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ । सवै क्षेत्र प्रभावित भइरहेका बेला यातायात व्यववसायीले भने आफ्नो माग पूरा नभएसम्म गाडी चलाउँदिन भन्न नसुहाउने अधिकारीहरु बताउँछन् ।
तत्काल सरकारले यातायात व्यवसायीको माग पूरा गर्ने ध्याउन्नमा छैन् । बन्दाबन्दी(लकडाउन) का कारण लामो समयसम्म गाडी नचल्दा र ग्यारेज राख्दा पार्टपुर्जा बिग्रेको, सर्विस गर्नुपर्ने, शुरक्षित उपकरणको व्यवस्था गर्नुपर्ने, पुनर्कर्जा र सहुलियत ऋण दिने व्यवस्था नगरेसम्म गाडी चलाउने निष्कर्षमा महासंघ पुगेको छ ।
उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङलाई भेटेर आइतबार ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्बाङले गाडी सञ्चालन गर्न आग्र गरे । तर, यातायात व्यवसायीको अडान कायमै रह्यो । उनीहरु आफ्ना माग पूरा नभएसम्म गाडी चलाउने वातावरण नभएको बताएका थिए ।
महासंघका महासचिव सरोज सिटौलाले बैंकको किस्ता, सवारी मर्मत, सर्विस तथा यातायात मजदुरको शुरक्षाका लागि केही न केही राहत नदिएसम्म गाडी चलाउन नसक्ने स्थिति रहेको बताउँछन् ।
उनले गाडी सडक ल्याउन नै व्यवसायीलाइ प्रतिगाडी ५० हजार देखि २ लाख रुपैँयासम्म मर्मत तथा सर्भिस खर्च लाग्छ । तर, यातायात व्यवसायी सँग त्यो खर्च नभएकाले सरकारलाइ गुहार गर्नुपरेको बताए ।
दिगो सार्वजनिक यातायातका महासचिव लालप्रसाद गुरागाईले सरकारले महामारीको समयमा सार्वजनिक यातायात सञ्चालन गर्न मपदण्डसहितको नीति नल्याएसम्म हँचुवाको भरमा गाडी चलाउन सक्ने अवस्था नरहेको बताए । उनका अनुसार यातायात चालक गाउँ गएको तथा महामारीको ः त्रासले सुरक्षा ग्यारेन्टी नभएसम्मा गाडी निकाल्न मान्दैनन् ।
‘सरकारले भने जरी ५० प्रतिशत भाडा बढाएर सार्वजनिक यातायात सञ्चालन गर्दापनि तेल खर्चनै धान्न नसक्न अवस्था छ’ उनले भने ‘यस्तो अवस्थामा सरकारले हँचुवाको भरमा सर्वजनिक यातायात सञ्चालन अनुमति दिएको छ ।’