काठमाडौं । २०७६ कात्तिक २६ गते भक्तपुरको कमलविनायक देखि नगरकोट जोड्ने सडक अलपत्र पारेको भन्दै निर्माण कम्पनी सैलुङ कन्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो पोल पोल र जताततै टाँगेर नगरकोटबासीले विरोध गरे । नगरकोटको सिको गर्दै दोलखाको चरिकोटमा पनि खाँडीचौर देखि चरिकोट सडक अलपत्र पार्ने कम्पनी सञ्चालकको फोटो त्यसै गरी टाँगे । त्यति मात्र होइन, दोलखाबासीले बृहत मानव साङ्लो स्वरुप विरोध जनाए । उनीहरुले ठेकेदारका नाममा शंखनाद समेत गरे ।
त्यसयता, स्थानीयले देशका विभिन्न ठाउँमा काम नगर्ने र ठेक्का अलपत्र छाड्ने ठेकेदार विरुद्ध यसै गरी विरोधका नयाँ नयाँ काईदा अपनाए ।
पछिल्लो पटक अधिकांश सडक आयोजनाका ठेक्का अलपत्र हुने गर्छन । त्यसपछि पुल, सिँचाइ लगायतका । पुलका ठेक्का हात पार्ने तर, नबनाएर पप्पु कन्ट्रक्सन कम्पनीले आफ्नो ‘इमेज’ बिगार्यो । धेरै पुलमा हात हाल्ने तर, पूरा नगर्ने पप्पु कालोसूचीमा परिसकेको छ ।
यहाँ ठेकेदारको नियत र बदमासीकै कारणले विगतमा धेरै पूर्वाधार आयोजना अलपत्र परे । जुन, अहिलेसम्म पनि पूरा हुन सकेको छैनन् । तर, ठेकेदार कम्पनीको व्यवस्थापकीय कार्यकुशलता, अनुभवी प्राविधिक र कामप्रतिको इमान्दारीता भएमा स्थानीयबासीले ठेकेदार कम्पनी सञ्चालकको फोटो पोल पोल झुड्याएर विरोध होइन्, दिल र मनमा सजाएर प्रशंसा गर्छन् । जनताको मन र विश्वास जित्ने निर्माण कम्पनीको नाम हो, रसुवा निर्माण कम्पनी ।
आफुले हात हालेका जुनसुकै प्रोजेक्ट खासगरी पुलहरु सम्झौता अवधिभन्दा पहिले नै बनाउने रसुवा कम्पनीको विशेषता नै बनेको छ । यसले अहिलेसम्म हेर्दा, सवैजसो खासगरी एकल वा जोइन्ट भेन्चरमा ठेक्का लिएका पुलहरु सम्झौता अवधि अगाबै सम्पन्न गरेको छ ।
हालै कम्पनीले सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ र ११ जोड्ने कमलाखोला माथि अहिलेसम्मकै लामो ६०० मिटरको पक्की पुल बनायो । जुन पुल सम्झौता अवधिभन्दा १७ महिना अघि अर्थात ३१ महिना
रसुवा कम्पनीले नै सोही नगरपालिकाको ३ र ४ जोडने गरी कमलाखोला मै अर्को ५०० मिटरको कमला पुल पपन निर्धारित समयभन्दा ११ महिना अघि नै सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
कम्पनीले त्यहाँकै ‘लोकल लेबर’ लाई काममा परिचालन गरेर ठेक्का पूरा गर्छ । स्थानीयले पनि रोजगारी पाउने र आफ्नो विकाशप्रति जिम्मेवार बनाएर विश्वास जित्ने गर्छ ।
कम्पनीले निर्धारीत समय अघि नै सक्ने महत्वपूर्ण कारण हो, अनुभवी र दक्ष जनशक्ति । लामो समय काम गरेको अनुभवी प्राविधिक तथा दक्ष इन्जिनियर, कम्पनीको व्यवस्थापकीय क्षमता, निर्माण सामग्रीको आपूर्ति र भुक्तानीमा ढिलाइ हुँदा पनि कम्पनीले आन्तरिक पूँजी परिचालन गर्ने हुँदा निर्धारीत समयभित्रै ठेक्का पूरा हुने गरेको कम्पनीका अध्यक्ष राजेन्द्र आचार्य बताउँछन् ।
दर्जनबढी पुल समयअगाबै पूरा
रसुवा निर्माण कम्पनीले कुनै पनि ठेक्काका आयोजना सम्झौता अवधिभन्दा ढिला गरेको रेकर्ड छैन । जुनसुकै अवस्था आइपरेपनि तोकिएको अवधिमै सक्नुपर्छ भनेर कम्पनीले स्रोत र साधन लगाउँछ । कम्पनीबाट प्राप्त विवरणअनुसार हालसम्म करिब दर्जन ठेक्काका पुल कम्पनीले निर्धारित समयअघि नै पूरा गरेको पाइयो । सिन्धुलीको दुधौली नगरपालिकास्थित कमलाखोलामा ६०० र ५०० मिटर लम्बाईका दुई जेठ र असारमा सम्पन्न भए । कोरोना भाइरस नियन्त्रण गर्न जारी बन्दाबन्दी(लकडाउन) कै अवधिमा पनि पुल निर्माण तीव्रता दिँदै पुल सम्झौता अवधि अघिभन्दा क्रमशः १७ र ११ महिनामा पूरा भए ।
त्यस्तै, कमला खोलामै अर्को ५०० मिटर लामो पक्की पुल सम्झौता अवधिभन्दा १८ महिना अघि नै पूरा भयो । जुन, पुल ६१ करोड २२ लाखको लागतमा दुधौली नगरपालिकास्थित जगादीमा बनेको छ । सिन्धुलीमै ४०० मिटर लामो मरिनखोलामा पनि पक्की पुल रसुवा कम्पनीले नै बनाएको थियो । उक्त पुल ४१ करोड १४ लाखको लागतमा सम्झौता अवधिभन्दा १८ महिना अघि नै सम्पन्न गरेको थियो ।
महोत्तरीको बर्दिबासमा रातुखोला पुल पनि रसुवा कम्पनीले सम्झौता अवधि पहिले नै बनाएको थियो । कुल २७ करोड ७७ लाख लागतमा २२५ मिटर लामो पक्की पुल सम्झौताको एक वर्ष अघि नै पूरा भएको थियो । दाङमा २०० र २२० मिटर लम्बाइका दुइओटा पक्की पुल पनि कम्पनीले सम्झौता अवधिभन्दा ६ महिना अघि सम्पन्न गरेको थियो ।
यता, कैलालीको सतिगढमा ५०० मिटर लम्बाइको पक्की पुल पनि सम्झौता अवधिभित्रै सम्पन्न भएको थियो । सुर्खेतमा भेरी नदीमाथि १८० मिटर लामो भेरी पुल पनि तोकिएको समयभित्रै कम्पनीले पूरा गरेको जनाएको छ ।
कम्पनीले मदनभण्डारी राजमार्गको पूर्वी खण्ड खासगरी सिन्धुली र उदयपुरमा ४३ ओटा पुल निर्माणकै चरणमा छन् । कुल २७२५ मिटरका ४३ ओटा पुल पनि सम्झौता अवधिभन्दा पहिले सम्पन्न हुने रसुवा निर्माण कम्पनीका कन्ट्याक्ट म्यानेजर सुदर्शन देवकोटाले बताए । ती पुल निर्माणको अन्तिम चरणमा छन् । हालसम्म पुलहरुको ९५ प्रतिशत भौतिक प्रगति छ
सडक देखि अस्पताल निर्माण पनि समय अगाबै
कम्पनीको मुख्यतया पुल निर्माणमै दक्षता छ । तर, यसअघि सडक र अस्पताल निर्माणमा पनि कम्पनीको अनुभव छ । जुन, सम्झौता समयअवघि अगाबै पूरा गर्यो । खासगरी जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०० बेडको अस्पताल रसुवा निर्माण कम्पनीले बनाएको थियो । उक्त अस्पताल निर्माण ३० महिनाभित्र पूरा गर्यो । भारतीय नाकाबन्दीका बाबजुद पनि कम्पनीले निर्धारीत समयअघि नै अस्पताल निर्माण पूरा गरेको थियो । ८६ करोड ८ लाखको ठेक्कामा अस्पताल निर्माण भएको थियो ।
त्यस्तै, केही सडक निर्माणमा पनि कम्पनीले रुची देखाउने गरेको छ । यसअघि मध्यपहाडी(पुष्पलाल) राजमार्गअन्र्तगत पाँचथर फिदिममा झन्डै २८ किलोमिटर सडक निर्माण सम्झौता अवधिभन्दा ७ महिना अघि नै पूरा गरेको थियो । ७३ करोड ९० लाखको ठेक्कामा सो सडक परियोजना सम्पन्न भएको थियो ।
बुबाले कम्पनी जन्माए, छोराहरुले अब्बल बनाए
वि.सं २०१९ सालमा बुबा अनन्तप्रसाद आचार्यले व्यक्तिगत नामबाट टेण्डर हालेर थालेको व्यवसाय अहिले पुल निर्माणमा अब्बल कम्पनी स्थापित हुन सफल भएको छ । उनका छोराहरु राजेन्द्रराज आचार्य, राममणी आचार्य र मोहन आचार्यसहित परिवारीक व्यवसायकै रुपमा कम्पनीलाइ अघि बढाएका छन् ।
बुबाले त्रिशुली हाइड्रोपावर बनिरहँदा घर नजिकै भएकाले त्यहाँ काम गरे । उनले त्यहाँ अनुभव र प्रविधि सिके ।
त्यतिवेला त्रिशुली हाइड्रोपावर भारतीय कम्पनीले निर्माण गर्दै थियो । त्यतिबेला व्यक्तिगत नाममा टेण्डर हाल्ने गरिन्थो । र, व्यक्तिकै नामबाट भुक्तानी दिने चलन थियो । २०१९ देखि ३२ सालसम्म यस्तै चलिरह्यो । वि.सं २०३२ सालमा कम्पनी रजिष्टर्ड गर्ने, ठेकेदारको वर्ग छुट्याउने भन्ने व्यवस्था आयो ।
त्यतिवेला व्यक्तिगत नामको सर्टिफिकेट र विवरणबाट आधारमा ‘सी’ वर्गको कम्पनी भनेर रसुवा निर्माण कम्पनीको स्थापना भएको सम्झिन्छन् अध्यक्ष राजेन्द्र आचार्य । त्यसपछि कम्पनी वर्गअनुसार ‘बी’ क्लास हुँदै २०४७ सालमा ‘ए’ वर्गको निर्माण कम्पनीका रुपमा स्थापित भयो ।
बुबाले सडक निमार्णको काम गरेपनि २०४२ सालबाट उनले सडकभन्दा पुलमा जोड दिन थाले । ‘बुवाले सुरु गरेको कम्पनी हामी तीन भाईहरुले निरन्ता दिँदै गयौं । अन्य डाइरेक्टर र अनुभवी प्राविधिक इन्जिनियर सवैले दुख गर्दै अहिले यहाँसम्म छौं,’ आचार्यले भने,‘पुलकै काम धेरै गरिसकेका छौं । पुल बनाउन नै विशेष दक्षता भएकाले सजिलो लाग्छ ।’
बुबाले सुरु गरेको व्यवसायमा छोरा मात्रै होइन, अहिले तेस्रो पुस्ता नातीहरुको पनि सहयोग छ । ‘हामी तीन दाजुभाइ त निरन्तर खटेकै छौं,’ आचार्यले भने, ‘मेरो छोरो पनि इन्जिनियर भयो । पोहोरदेखि उ पनि साइटमै पुगेर काम गरिरहेको छ । दाइको छोरो पनि इन्जिनियर हो । नातीहरुको पनि प्रोजेक्टमा सहयोग छ ।’
ठेक्का पूरा गर्दै, सम्मान बटुल्दै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ३०० बेडको अस्पताल निर्धारीत समयभित्रै पूरा गरेपछि कम्पनीले राष्ट्रिय रुपमै सम्मान र विश्वा जित्यो । दाङको तुल्सीपुर—घोराही सडक खण्डअन्र्तगत ग्वारखोलामा २०० मिटर पक्की पुल निर्धारीत समयभन्दा ८ महिना पहिले नै पूरा गरेपछि स्थानीयले फुलमाला तथा विभिन्न संघसंस्थाले सम्मान समेत गरे ।
त्यतिवेला नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन पूर्वाधार मन्त्री रघुबीर महासेठकै हातबाट कम्पनी सम्मानित भएको थियो ।