काठमाडौं । यातायात व्यवसायीहरुले तत्काल सार्वजनिक यातयात सञ्चालन नगर्ने निर्णय गरेका छन् । सरकारले विहीबार छोटो दूरीका यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै यातायात व्यवसायी महासंघले बैठक बसेर तत्काल सार्वजनिक यातायात चलाउन नसक्ने अवस्था आएको बताएको हो ।
सरकारले जिल्लाभित्र मात्रै ५० प्रतिशत बढी भाडा लिएर सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो । राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले आफुँसँग कुनै छलफल र संवाद नगरीकन सरकारले गरेको निर्णयप्रति नमान्ने बताएका छन् । कोभिड—१९ का कारण ४ महिनादेखि सार्वजनिक यातायात सञ्चालन हुन सकेको छैन् ।
यसअघि यातायात व्यवसायीले बैंकको किस्ता, भाडा र सवारी मर्मतका लागि सरकारले राहत प्याकेज ल्याएर सार्वजनिक यातायात सञ्चालनको वातावरण बनाउनुपर्ने बताउँदै आएका थिए । अहिले पनि सार्वजनिक सवारी कसरी चलाउने भन्ने जानकारी बिना सरकारले गरेको निर्णय नमान्ने उनीहरुले बताएका छन् ।
यसअघि पनि यातायात व्यवसायीले निजी सवारीलाइ यात्रु बोक्न नदिन सरकारसँग माग समेत गर्दै आएका छन् । उनीहरुले छिट्टै सार्वजनिक यातायात सञ्चालनका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए । तर, छोटो दूरीका लागि मात्रै यातायात खुल्न दिने सरकारले निर्णय गरेपछि उनीहरुलाइ चित्त बुझेको छैन् ।
लामो समय गाडीहरु ग्यारेजमा थन्किएर बिग्रेको र मर्मत गर्नुपर्ने अवस्था छ । तत्काल सार्वजनिक यातायात चलिहाले पनि यात्रु नहुने र मर्मतका लागि ठूलो खर्च लाग्ने भएकाले पनि यातायात व्यवसायीले तत्काल सञ्चालन नगर्ने बताएका हुन् । उनीहरुले ४ महिनादेखिको बैंको ब्याज, घरभाडा तथा कर्मचारीका तलव दिन सकेका छैनन् ।
त्यतिमात्रै होइन्, सार्वजनिक यातायात छोटो दूरीमा मात्रै खुल्न थालेपछि उनीहरुलाई बैंक तथा वित्तीय संस्थाले किस्ता, ब्याज र घरभाडा अत्याउने छ ।
अहिले धेरै यातायात व्यवसायीलाइ बैंकले ऋण, किस्ता तथा ब्याज तिर्न ताकेता गरेको छ । गाडी नचलेपछि यातायात व्यवसायीले बैंकको किस्ता तिर्न सकेको छैनन् । बैंकले तारन्तार अत्याएपछि केही यातायात व्यवसायीले मोबाइल अफ नै गरेर बसेको छन् ।