काठमाडौं । डिजेल/पेट्रोल आजको समयमा सबैको आवश्यकता हो । दुई पाङ्ग्रे मोटरसाईकल देखि चारपाङ्ग्रे र त्यसभन्दा बढी चक्कावाल सवारीसाधन सबैका लागि पेट्रोल/डिजेल अनिवार्य छ ।
विद्युतिय सवारीसाधन नभएकाले पनि पेट्रोलियम सवारीको बढी चाप हुनु अन्यथा होइन । तर, यहाँ चर्चा गर्न खोजिएको सवारी कुन चढ्ने वा नचढ्ने भन्नेमा होइन । यहाँ पेट्रोल पम्पहरुमा गएर लाइन लागेर पेट्रोल भर्दा दिएको रकमको फिर्ता पाउनुपर्ने रकम नपाउँदाको दुखेसो केलाउन खोजिएको हो ।
हेर्दा सामान्य र यसले के हुन्छ र भन्ने लागेपनि उपभोक्ताले खुद्रा रकममा ठूलो मूल्य चुकाईरहेका हुन्छन् । सेना र प्रहरीले सञ्चालन गरेका पम्पमा नगन्य छन् । त्यसैले अधिकांश पायक पर्ने नीजि पेट्रोल पम्पमा गएर आफ्नो सवारीमा पेट्रोल/डिजेल भर्ने गर्छन् । तर, प्रायः निजी पेट्रोल पम्पहरुले उपभोक्तालाई बाँकी खुद्रा रकम दिन हिच्काउँछन् वा दिँदैनन् भन्दा पनि हुन्छ ।
अझ कतिपय बेला खुद्रा पैसा चाहिनेले सुरुमै यतिको हालिदिनु भनेको भए त्यो बराबरको पेट्रोल भरिदिन्थ्यौं भन्न पनि भ्याउँछन् । तपाईं/हामी पेट्रोल पम्पमा पेट्रोल भरेपछि पेट्रोल पम्पले खुद्रा छैन भनेपछि एक/दुई रुपैयाँ त हो नि भनेर छोडिदिन्छौं । तर, सोच्नुस त तपाई/हामी कति जना दैनिक र साप्ताहिक रुपमा पेट्रोल पम्प पुग्छौं र पेट्रोल भर्छौं होला । र, खुद्रा पैसा छैन पछि मिलाउँला भनेर कतिपटक छाडेर आउँछौं होला ? पम्पले पछि मिलाउँला भनेर आश्वासन दिएपनि तपाईं अर्को पटक पेट्रोल भर्दा फेरी पुरानै पम्पमा पुग्ने र पुरानो बाँकी रकम छ भनेर कति जनाले ख्याल गरेका हुन्छौं । यसरी एक दुई जना मात्रै नभएको र लाखौं सवारी साधनले पटक–पटक खुद्रा पैसा छैन भनेर एक/दुई/तीन रुपैयाँ भनेर छाडेर हिँड्दा दैनिक कति लुटिरहेका होलान ?
नेपाल आयल निगमले पम्पहरुलाई तेल बेच्दा तपाई/हामीले किन्ने मूल्यमा नाफा जोडिसकेको हुन्छ । तर, निजी पम्पहरुले उपभोक्ताबाट खुद्रा रुपैयाँ नभएको भन्दै दैनिक एउटै पम्पले सयौं रुपैयाँ अधिक उठाईरहेको हुन्छन् ।
उपभोक्ता अधिकार अनुसन्धान मन्ञ्चका अध्यक्ष माधव तिमिल्सिनाले निजी पप्पहरुले खुद्रा पैसा नदिनु गैरकानुनी भएको बताउँछन् । केहीमा उपभोक्ताहरु सचेत नभएको र केही सचेत हुँदाहुँदै पनि पम्पले पैसा फिर्ता नदिँदा गुनासो गरेर फर्किने गरेका छन् । खासगरी, दुई पाङ्ग्रे सवारी साधनमा कम पेट्रोल जाने र ठाउँ (दूरी) अनुसार पेट्रोलको मूल्य हुने भएकाले उपभोक्ता बढी ठगिने गरेका छन् ।
अध्यक्ष तिमिल्सिना सेना र प्रहरीले सञ्चालन गरेको पप्पहरुमा जस्तैः निजी क्षेत्रका पम्पमा पनि अनिवार्य रुपमा खुद्रा पैसाको व्यवस्था हुनुपर्ने बताउँछन् । बोक्न झन्झटिलो र गहुँङ्गो हुने भएकाले पम्पहरुले एक÷दुई रुपैयाँको राखेका हुँदैनन्। यद्यपी, सेना र प्रहरी पेट्रोल पम्पहरुमा भने आवश्यकताअनुसार खुद्रा पैसा राखिएको हुन्छ ।
उपभोक्ताहरुलाई खुद्रा पैसा छैन भनेरै दैनिक पेट्रोल पम्पहरुले हजारौं रुपैयाँ लुटिरहँदा पनि नियामक निकाय नेपाल आयल निगम र बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित विभाग आँखा चिम्लिएर बसेका छन् । ‘सरकारी निकायले नै यस्ता कुरालाई झिना मसिना कुरा भन्दै टार्ने गरेका कारण पम्पहरुले उपभोक्तालाई लुटिरेहका छन्’, अध्यक्ष तिमिल्सिनाले भने ।
नेपाल आयल निगमका प्रवक्ता विनितमनी उपाध्यायले उपभोक्तालाई खुद्रा पैसा छैन भनेर टार्नु गैरकानुनी भएको बताए । पम्पहरुलाई सुरुमै नाफा राखेर तेल दिने गरेकोमा उल्टै उपभोक्तालाई खुद्रा पैसा छैन भनेर ठगी गर्नु गलत भएकाले आवश्यक छानविन र अनुगमन गरी कारबाहीको दायरामा ल्याउने उपाध्यायको भनाई छ ।
नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले उपभोक्तालाई खुद्रा पैसा दिने÷नदिने भन्ने विषय आफुहरुको हातमा नरहेको बताउँछन् । हामीले कर्मचारीहरुलाई जिम्मेवारी दिएका हुन्छौं र लिटरको हिसावले उनिहरुबाट पैसा लिने भएकाले कर्मचारीहरुले केहि तलमाथी गरेको हुनसक्ने उनले बताए । ‘हामीले धेरै पटक भनेका छौं, उपभोक्तालाई खुद्रा पैसा दिनु भनेर’, अध्यक्ष प्रधानले भने ‘तर, कर्मचारीले कहिलेकाँही बदमासी गरिदिन्छन् र त्यसको दोष हामीलाई आउँछ ।’
राष्ट्र बैंकले खुद्रा पैसा बजारमा कम दिएकाले पनि समस्या भएकाले अब सबै पप्पहरुमा खुद्रा पैसा व्यवस्था गर्न निर्देशन दिने प्रधानले बताए ।
अहिले देशभर १ हजार ४ सय भन्दा बढी पेट्रोल पप्पहरु सञ्चालनमा छन् ।
पछिल्लो समय राष्ट्र बैंकले एक र दुई रुपैयाँको नोट छाप्दैन र त्यसको सट्टामा सिक्का छाप्ने गरेको छ । सिक्का भारी हुने र बोक्ने झन्झटिलो हुने भएकाले पम्पहरु सिक्का राख्ने गर्दैनन् । जसले गर्दा आफूलाई चाहेको मात्रै पेट्रोल हाल्दा बच्ने खुद्रा पैसा पम्पहरुले दिँदैनन् ।
कतिपय बेला पम्पसँग खुद्रा पैसा खोजी गर्ने उपभोक्तालाई खुद्रा पैसा चाहिने मगन्तले आफै खुद्रा पैसा बोकेर आउनु नि ? भनेर अपमानित समेत गर्ने गरेको पाईन्छ ।