काठमाडौं । दिनको १ बज्दै थियो । उखरमाउलो गर्मी उत्तिकै । बिपी सडक छिचोल्दै यात्रा सिन्धुलीको भिमानबाट उत्तरतर्फ मोडियो । हाई—वे छाडेर भिमानबाट निर्माणधीन मदनभण्डारी राजमार्ग हुँदै २० किलोमिटर पार गरेपछि आउँछ, दुधौली नगरपालिका । गाडी झ्याप्प दुधौली नगरपालिकास्थित कमला खोलाको किनार रोकियो ।
दुधौली नगरपालिका–४ कालापानीका केही स्थानीयहरु भर्खरै बनेको कमला पुलको एक छेउमा गफिँदै थिए । उनीहरु भएतिरै हामी पनि लाग्यौं । नजिकै पुग्दा रातो भेषमा देखिएकी नानीमायाँ श्रेष्ठ पुल बनेपछि पुराना दुःख हरण भएको सुनाउँदै थिइन् ।
हामीले थप जान्न खोज्यौं । पुलकै छेउमा पुगेपछि श्रेष्ठले विगतका तीता कुराहरु सुनाइन् । उनले भनिन् ‘पहिले खोलामा बाढी आउथ्यो, बगाउछ कि भन्ने डर हुन्थ्यो, दुःख बिमार हुँदा जान सक्दैनथ्यौं । अहिले पुल बनेपछि सजिलो भएको छ । राम्रो लागेको छ ।’
रसुवा कन्स्ट्रक्सनले ठेक्का लिएर सम्झौता अवधि भन्दा ११ महिना अघि नै पुल बनाएपछि स्थानीयहरुको दैनिकी फेरिएको छ । विगतमा उनीहरुका भोगाई र समस्या हरण भएको महशुस गर्न थालेका छन् । पुल २०७८ जेठ २६ सम्म सम्पन्न गर्ने सम्झौता हो । तर, २०७७ असार १५ मा नै पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि त्यहाँका स्थानीय खुसी देखिन्थे ।
कालापानीकै अर्का स्थानीय सनिलाल अधिकारी दुनुवार पनि मोटरेबल पक्की पुल बनेपछि अब ढुक्कले बाँचिने भइयो भनेर मख्ख थिए । किनकी, कमला खोलामा बर्खायाममा बाढी आएर मान्छे नबगाएको र नडुबाएको कुनै वर्ष छैन् । जेठ देखि भदौसम्म खोला वारपार गर्न सकिदैँन् । वि.सं २०२२ सालमा आएको बाढीले घरखेत डुबाएको र भाग्यले बाँचेको उनी सुनाउँदै थिए । त्यसपछि घर खोलाबाट केही माथि विस्थापन गरेको दुनुवार सम्झिन्छन् ।
दुधौली नगरपालिका—३ र ४ जोड्ने पुल दगाह र कालापानीको बीचमा पर्छ । कालापानीमा अस्पताल र विद्यालय नहुँदा धेरैवर्षअघि देखि खोला तरेर स्थानीयहरु दगाह पुग्ने गर्थे । ‘बर्खामा खोला बढेर तर्नै सकिने अवस्था हुन्थेन्, अरुले बोकेर लग्नुपर्ने, अरुको भर पर्ने हुन्थ्यो । डुबिन्छ कि मरिन्छ कि भन्ने डर मनमा हुन्थ्यो’ पसिना पुछ्दै विगत सम्झिदैं दुनुवारले भन्छन्, ‘अहिले हामी ढुक्क छौं । पुलले धेरै सहज भएको छ ।’
कमला खोलामाथि ५०० मिटरको पक्की पुल हालसालै बनेको हो । पुल बनेपछि त्यहाँका स्थानीय सहज रुपमा आवतजावत गर्न पाएका छन् । दैनिकी बदलिएको छ । अभिभावक ढुक्कसँग केटाकेटीलाइ विद्यालय पठाउन पाएका छन् । बाढी आएर बगाउँला वा मरिएँला कि भन्ने स्थानीयको विगतको पिर हटेको छ ।
स्थानीय निमकुमारी घिसिङ पुल नहुँदा धेरै मान्छे मर्ने गरेको सुनाइन् । ‘खोलामा कहिले पुल बन्ला भनेर सोच्थेम, खोलामा सधैं बाढी आएपनि तर्नुपथ्र्यो । धेरै मान्छे बगाउँथ्यो खोलाले । अहिले पुल बनेपछि धेरै सुविद्या भएको छ ।’ उनले बताइन् ।
ढुक्कले केटाकेटीलाइ विद्यालय पठाउन समस्या हुने गरेको विगत घिसिङले सम्झिइन् । ‘कहिँलेकाही केटाकेटी स्कुल नपठाउ जस्तो हुन्थ्यो । पठाउन परे मनमनै डर हुन्थ्यो । डुब्ने हुन कि यत्तिकै फर्कनन् कि भन्ने डर हुन्थ्यो । बिरामी हुँदा त झनै सकस हुन्थ्यो’ थप उत्साहीत मुद्रामा थप्छिन्, ‘अहिले पुल एकवर्षमै बनिहाल्यो । ढुक्कलै केटाकेटी स्कुल पठाउन र आवतजावत गर्न पाइएको छ । राम्रो भएको छ ।’
हरेक वर्ष खोलाको बाढीले नजिकैको खेतीयोग्य जमिन फाँट नै बगरमा परिणत गरिदिन्थ्यो । तर, पछिल्लो एक वर्षअघि पुलसँगै तटबन्ध बनेपछि स्थानीयले खेत रोपेर हरियाली बनाएका छन् ।
त्यतिमात्र होइन्, रसुवा कम्पनीले सोही खोलामा त्यो भन्दा पनि लामो ६०० मिटर लम्बाइको अर्को पक्की पुल समेत बनाइसकेको छ । उक्त पुल पनि सम्झौता अवधिभन्दा १७ महिना अघि नै सम्पन्न गरेको हो । कमला खोलामै ६०० मिटर लम्बाईको कमला पुल गएको असार १ गते पुल सञ्चालन आएको छ ।
पुल सोचेको भन्दा पहिले नै सम्पन्न भएकाले स्थानीय निकै खुसी भएको दुधौली नगरपालिका–११ का वडाअध्यक्ष कुमार लामा बताउँछन् । विगतमा कमला खोला तर्न निकै अप्ठ्यारो रहेको र पुल बनेपछि स्थानीयलाइ सहज भएको उनले बताए । ६०० मिटर लम्बाईको कमला पुलले सोही नगरपालिकाको ९ र ११ नम्बर वडा जोड्छ ।
पुल छिट्टै बनाएकाले रसुवा कन्ट्रक्सन कम्पनीले त्यहाँका स्थानीयको विश्वास समेत जितेको छ । त्यहाँका स्थानीयले कम्पनीको प्रशंसा समेत गरेका छन् । ‘रसुवा कम्पनीले निकै महेनत सँग एकवर्ष भित्रै पुल बनायो । हामीलाई सहज भयो । कम्पनी होस् त यस्तो?’ एक स्थानीयको भनाइ थियो ।
स्थानीयबासी, स्थानीय सरकारको सहयोग र अनुभवी प्राविधिक इन्जिनियर तथा कामदारको संयोजनले पुल सम्झौता अघि भन्दा एकवर्ष अघि बनेको रसुवा कन्ट्रक्सन कम्पनीका इन्जिनियर डिल्ली ढकाल बताउँछन् । बन्दाबन्दी(लकडाउन) मा पनि ‘फुल’ फेजमा मेहनतका साथ काम गरेकाले छिट्टै सम्पन्न भएको उनको भनाइ छ ।
दुवै पुलको सम्झौता र निर्माणको काम सँगसँगै भएको थियो । ५०० मिटर लम्बाइको कमला पुल २०७४ मंसिर २७ गते सम्झौता भएर २०७७ असार १५ मा सम्पन्न भयो । जुन, सम्पन्न गर्नुपर्ने अवधि २०७८ जेठ २६ सम्म अवधि थियो । ६६ करोड ४१ लाख लागतमा ११ महिना अघि नै पुल सम्पन्न भयो ।
अर्को, ६०० मिटर लम्बाइको पुल सम्झौता अवधिभन्दा १७ महिना अघि सम्पन्न भयो । २०७४ मंसिर २७ गते नै सम्झौता भइ निर्माण सुरु भएको पुल २०७७ असार ३० गते सम्पन्न भयो । पुल निर्माण सम्पन्न गर्ने सम्झौता अवधि भने २०७८ मंसिर २६ सम्म थियो । ७८ करोड ६१ लाखको लागतमा पुल निर्माण भएको हो । (सिन्धुलीबाट फर्किएपछि)