काठमाडौं । नयाँ प्रावधान अनुसार २ आर्थिक वर्षमा १ सय जना सम्म कामदार पठाउन नसक्ने म्यानपावर कम्पनी नवीकरण नहुने भएपछि सरकारलाई दबाव दिन वैदेशिक रोजगार व्यवसायी (वैरो)संघले आन्दोलनमा उत्रिएको छ ।
कोरोना भाइरसको प्रभावले समस्यामा पर्दा ५ सय ३१ वटा म्यानपावर कम्पनीहरुले १ सय जना कामदारलाई विदेशमा पठाउन सकेको छैन् । यो विषम परिस्थीतिलाई मध्यनजर गरी सरकारले नवीकरणको वातावरण नबनाएको भन्दै आन्दोलनमा उत्रिन लागेको संघका अध्यक्ष विष्णु गैरेको भनाई छ ।
सरकारले २०७५ फागुन १९ गते वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरि म्यानपावर कम्पनी नवीकरण गर्नको लागि पछिल्ला २ आर्थिक वर्षमा सय जना कामदार अनिवार्य विदेश पठाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । यो व्यवस्था अनुसार ८ सय ५३ म्यानपावर कम्पनी मध्ये ५ सय ३१ म्यानपावरले सय जना कामदार विदेश पठाउन सकेका छैनन् ।
व्यवसायीहरुले करिब १० महिना देखी १ सय जना कामदार अनिवार्य पठाउने प्रावधानलाई संशोधनका लागि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा लभिङ गरिरहेका थिए ।
विषेश गरी श्रम मन्त्रीको रुपमा रामेश्वर राय यादव आएपछि व्यवसायीहरु सक्रिय भएर त्यो व्यवस्थालाई संशोधन गर्न लागि परेका थिए । त्यहि अनुरुप मन्त्री यादवले पनि संसदमासंशोधनका लागि प्रस्ताव लगेका थिए । तर, एक्कासी संसद अधिवेशन नै अन्त्य गरेपछि व्यवसायीहरु समस्यामा परेका हुन् ।
संसद अधिवेशन नै अन्त्य भएपछि अहिले ठूलो संख्यामा व्यवसायीहरु मारमा परेपछि संघले चरणबद्ध आन्दोलनको तयारी गरेको हो । संघका महासचिव सुजित कुमार श्रेष्ठले पहिलो चरणमा मंगलबार वैदेशिक रोजगार विभागमा धर्ना दिन थालिएको बताए ।