काठमाडौं । चालू आर्थिक वर्षको २०७६/०७७ मा भारतबाट झन्डै १३ अर्ब बराबरको बिजुली आयात भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, गतवर्षको तुलनामा यसवर्ष बिजुली आयात कम भएको हो ।
गत आर्थिक वर्ष २०७५।०७६ मा झन्डै ३० अर्बको बिजुली भारतबाट आयात भएको थियो । यसवर्ष भने आयात ह्वात्तै घटेको हो । स्वदेशमै माग अनुसार बिजुली उत्पादन हुन थालेपछि आयात कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
उनले ५५ प्रतिशत बिजुली आयात कम भएको बताए । यो अवधिमा भारतबाट २ अर्ब ९० करोड १५ लाख युनिट हाराहारीको बिजुली आयात भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार दैनिक १५३ मेगावाट बिजुली भारतबाट आयात भइरहेको छ । भारतले विहार, उत्तरप्रदेश राज्यका साथै एनभीभीएन विद्युत् व्यापार निगम, पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बाट बिजुली आयात गर्ने गरेको छ । गतवर्ष प्राधिकरणले १ अर्ब रुपैयाँको बिजुली निकासी समेत गरेको थियो ।
सुख्खायाममा नदी बहाव घट्ने तर, विद्युत् माग उच्च हुने कारण भारतबाट विद्युत् आयात गर्र्नुपर्छ । यसवर्ष पनि गतवर्षकै हाराहारीमा बिजुली निकासी हुने प्राधिकराणको दाबी छ ।
झन्डै १२ सय मेगावाट हाराहारी बिजुलीको माग देशभर हुने गर्छ । पछिल्लो पटक चीनको वुहानबाट फैलिएको नोबेल कोरोना(कोभीड–१९) कोरोना भाइरसका कारण जारी बन्दाबन्दी(लकडाउन)ले उद्योग, कलकारखाना र ग्रार्हस्थ खपतमा बढ्न सकेन् । जसका कारण भारतबाट धेरै बिजुली आयात गर्नु नपरेको प्राधिकरणले जनाएको छ ।
हिउँदमा भन्दा बिद्युत् उत्पादन वर्षायाममा बढी हुने गर्छ । अहिले पनि लकडाउनकै समय छ । देशभर ९५० देखि १००० मेगावाट बराबर खपत भइरहेको प्राधिकरणले जनाएको छ ।
यो वर्ष प्राधिरकणले ४५६ मेगावाटको माथिल्लो तामाकोशी सहित १००० मेगावाट बिजुली उत्पादन हुने प्रक्षेपण गरेको थियो । कोभिडका कारण धेरै आयोजना थला परे । जसका कारण प्राधिकरणको लक्ष्यमा धक्का लाग्यो ।
लकडाउनकै अवधिमा निजीक्षेत्रका ४ ओटा आयोजना सम्पन्न भएर १४ मेगावाट बिजुली ग्रीडमा थपिएको छ । हालसम्म १५९ मेगावाट बिजुली थप भएको प्राधिकरणले जनाएको छ । हालसम्म जडित क्षमता बढेर १ हजार ३८० मेगावाट पुगेको छ, आगामी वर्ष धेरै बिजुली थप हुने अनुमान गरिएको छ ।
असोजपछि भने बिजुली ‘सरप्लस’
अहिले नै बिजुली खेर जाने अवस्था नरहेको प्राधिकरणले जनाएको छ । अहिले लकडाउन खुकुलो भएको र उद्योग, कलकारखाना लगायत घरेलु ग्राहकमा बिजुली खपत राम्रै भइरहेको छ ।
लकडाउनका कारण निर्माणधीन आयोजना ढिला हुने अवस्था छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना भदौपछि मात्रै उत्पादन थाल्नेछ । अन्य २÷४ ओटा आयोजना थपिने प्राधिकरणको प्रक्षेपण छ । त्यसपछि भने बिजुली कता खपत गर्ने भन्ने प्राधिकरणलाइ चिन्ता छ । असोजपछि भने बिजुली सरप्लस हुने घिसिङ बताउँछन् ।
निर्यातमै केन्द्रीत गरिने
असोजपछि बढी हुने वा सरप्लस बिजुली भारत निकासीमा जोड दिइने छ । हिउँदको समयमा स्वदेशमै खपत बढी हुने र बाँकी बिजुली भारत निर्यात गरिने घिसिङ बताउँछन् । असोजपछि कम्तीमा डेढ सय मेगावाट बिजुली सरप्लस हुने प्राधिकरणको प्रक्षेपण छ । ‘इनर्जी बैंकिङ प्रणाली’मार्फत बढी भएको समयमा बिजुली निकासी गर्ने र आवश्यक पर्ने बेला वा हिउँदको समयमा आयात गर्ने गरी सरप्लस बिजुलीको व्यवस्थापन हुने घिसिङको तर्क छ ।
स्वदेशमै लोड बढाउन उद्योग, इलेक्ट्रिक कुकिङ, इलेक्ट्रिक भेइकलका लागि बिजुली महशुल रेट पनि सस्तो भएको उनको भनाई छ ।