काठमाडौं । सरकारले बन्दाबन्दी(लकडाउन)लाई थप कडाई गर्ने हल्ला र किसान खेतीपातीमा व्यवस्त हुन थालेपछि कुखुको चल्लाको मुल्य घटेको छ । एक त लकडाउनले व्यापार छैन् । अर्कोतिर, किसान खेतीपातीमै व्यस्त हुन थालेकाले उनीहरुले चल्ला हालेका छैनन् ।
किसानले चल्ला नहाल्दा चल्लाको माग घट्न गइ प्रतिचल्ला मुल्य १५ रुपैयाँले घटेको नेपाल कुखुरा बजार व्यवस्थापन संघ अध्यक्ष कृष्णहरि लोहनीले बताए । उनले बुधबारदेखि चल्लाको मुल्य घटेको उनले बताए ।
बुधबार र आइतबार चल्लाको मुल्य ४० देखि ४५ रुपैयाँ बिक्री भएको उनले बताए । तर, त्यसअघि ५५ देखि ६० रुपैयाँ सम्म प्रतिचल्ला बिक्री भइरहेको थियो । ‘एक हप्ताअघि चल्लाको रेट ५५/६० नै थियो । तर, बुधबारदेखि ४० देखि ४५ रुपैयाँमा बिक्री भइरहेको छ’ उनले भने, ‘किसानहरु खेतीपाती व्यवस्त भएकाले चल्ला हालेनन् । अहिले चल्ला साउनमा बिक्री हुने भएकाले साउनमा मासु कसैले खाँदैनन् । र, अहिले लकडाउन पनि भयो । यसले पनि चल्लाको माग भएन् र, मुल्य घट्न गयो ।’
असार/साउनमा खासै मासुको खपत बढी नहुने भएकाले पनि चल्लाको मुल्य घट्न गएको उनको भनाइ छ । चल्ला हालेका किसानले ३५ दिन पालेपछि मात्र कुखुरा मासुका लागि तयार हुन्छन् ।
तर, काठमाडौंमा भने चल्लाको ७० रुपैयाँ रेट कायम छ । चिवतनका तुलनामा १० रुपैयाँ व्यापारीले कमिसन खाने उनी बताउँछन् । अहिले चल्लाको उत्पादन लागत पनि ३५ देखि ४० रुपैयाँसम्म पर्ने गर्छ । ह्याचरी उद्योगीले चल्लाको माग घटेपछि मुल्य घटाएरै चल्ला बेच्न थालेका हुन् ।
यता, ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेलले भने चल्ला र कुखुरा बजारमा ‘सर्टेज’ रहेको बताए । तर, उनले चल्लाको मुल्य उस्तै रहेको र खासै कम नभएको बताउँछन् । ‘लकडाउन भरी किसानले चल्ला नै हालेनन् । यसले कुखुरा बजारमा सर्टेज छ ।’ उनले भने ।