काठमाडौं । चैत ११ देखि मुलुकभर बन्दाबन्दी (लकडाउन) चलिरहँदा पनि अत्यावश्यक सेवासँगै धेरै कामहरु भएका छन् । काठमाडौँ उपत्यकाभित्र र बाहिर पनि लकडाउन नभनीकन केही क्षेत्रमा निरन्तर काम भइरहे । सरकारले लकडाउनमा अत्यावश्यक बाहेकका सबै उद्योग, व्यवसाय तथा सेवाहरु बन्द गर्ने घोषणा गरेको थियो । यसले सरकारी कामकाज बन्द गराएसँगै अरु धेरै सेवा बन्द भए ।
तर, कतिपय कार्यालयहरु भने निरन्तर चलिरहे । उपभोग्य सामग्रीहरुको अनलाइन डेलिभरी होस् या विभिन्न रेस्टुरेन्टले ग्राहकको रोजाइअनुसार घरघरमा खाजा र खाना पुर्याउने काम चलिरहेका थिए, जुन हालसम्म पनि कायम छ । यसबीचमा लकडाउनका कारण घरमै बसेका उपभोक्तालाई आवश्यक खाद्य सामग्रीहरुको अनलाइन डेलिभरीका लागि विभिन्न मोबाइल एप्सहरु निर्माण भएको पाइन्छ ।
डिजिटल प्रविधिमार्फत घरमै बसीबसी आवश्यकताअनुसार अर्डर गर्न सकिने र शून्य कमिसनमा ग्राहकलाई घरमै सेवा पु¥याउन थुप्रै एप्सहरु सार्वजनिक भए । लामो समयदेखि ग्राहकलाई सेवा दिदै आएको भाटभटेनी सुपरमार्केटले लकडाउन सुरु भएदेखि नै होम डेलिभरीको काम अघि बढायो । अनलाइन र टेलिफोनमार्फत सामानको आदेश (अर्डर) आएका सामग्रीहरु भाटभटेनीले घरसम्मै पुर्याइदिने गरेको छ ।
त्यस्तै, सेल्सवेरीले पनि अनलाइन डेलिभरी गरिरहेको छ । लकडाउनपूर्व नै सुरु गरेको अनलाइन डेलिभरी सेवा लकडाउनबीच पनि आफ्ना ग्राहकलाई घरसम्मै पुगेर सहयोग गर्ने काममा सेल्सवेरी जुटिरह्यो ।
आफ्ना ग्राहक लकडाउनका समय अत्यावश्यक सामानको अभावमा झेलिनु नपरोस् र घरबाहिर निस्कन नपाउने अवस्थामा पनि आफूले चाहेको सामान उपलब्ध होस् भनेर उद्देश्यअनुरुप सहज र सरल तरिकाबाट खाद्य सामग्रीहरु घरघर पुर्याउन सेल्सवेरीले कुनै कसर बाँकी राखेन । सेल्सवेरीले आफ्नो सेवालाई अझ प्रभावकारी बनाउन भन्दै लकडाउनकै बीचमा अनलाइन एप ग्यापु बजारसँग सहकार्य गरेको छ ।
निम्बसले पनि लामो समयदेखि अनलाइन सेवा दिदै आएको निम्बसबजारडटकममार्फत आफ्ना ग्राहकलाई होम डेलिभरीको सुविधा दि“दै आएको छ । लकडाउनका बीचमा पनि निम्बसले धेरै उपभोक्तालाई घरमै आवश्यक खाद्य सामग्रीहरु पुर्याइदिएको छ ।
बिगमार्टले पनि लकडाउनको बेला खाद्यडेलिभरी गरेको छ । यो सेवा अहिलेपनि निरन्तर दिइरहेको छ ।
खाद्य कम्पनी पनि होम डेलिभरीमा
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लकडाउनका बेला उपभोक्तालाई सहज होस् भन्दै होम डेलिभरीको सुविधा दिएको छ । सुरुमा चक्रपथभित्र मात्र होम डेलिभरी गर्दै आएको खाद्य कम्पनीले सस्तो डिल नामक कम्पनीसँगको सहकार्यमा चक्रपथबाहिर पनि सेवा दिन थालेको हो ।
कम्पनीका महानिर्देशक नेत्र सुवेदीले अनलाइन अर्डर र डेलिभरीलाई थप सुदृढ र विस्तार गर्ने उद्देश्यले सस्तो डिलसँग सहकार्य गरिएको बताए । कम्पनीले साल्ट ट्रेडिङ कर्पोरेसनको गहुँको पिठो, आयोडिन नुन र दुग्ध विकास संस्थानको घ्यु पनि बिक्रीमा राखेको छ । यसअघि कम्पनीले चामल र सिमी मात्र बेच्दै आएको थियो ।
डल्लेले खुवायो दैनिक २ सय १७ जनालाई निःशुल्क खाना
लकडाउनपछि अत्यावश्यकीय सेवामा क्रियाशीललाई डल्ले रेस्टुरेन्टले दैनिक २ सय १७ जनालाई निःशुल्क खाना खुवाएको छ ।
सबै रेस्टुरेन्ट बन्द गरेर घरमै बसिरहेका बेला डल्ले रेस्टुरेन्टले भने ड्युटीमा खटिएका १ सय ८० जना प्रहरी, कोरोना भाइरसको उपचार केन्द्र टेकु अस्पताल र प्रयोगशाला शुक्रराज ट्रपिकल अस्पताल टेकुमा क्रियाशील चिकित्सकहरु ६० जना, भाइरससम्बन्धी जानकारी लिन र दिन सरकारले बनाएको निःशुल्क टेलिफोन सेवामा क्रियाशील चिकित्सक १२ जना र भाइरसको आशंका लागेका बिरामी बोक्न सरकारले तयार पारेका २५ वटा एम्बुलेन्सका चालकलाई खाना खुवाएको हो ।
डल्लेले लकडाउन सुरु भएको एक सातापछि निःशुल्क खाना खुवाउने बैैशाख ३ सम्म गरेको सञ्चालक आलोक योञ्जनले जानकारी दिए । डल्ले रेस्टुरेन्टले लकडाउनकै बीचमा अनलाइन र टेलिफोनमार्फत अर्डर लिएर होम डेलिभरीको सुविधासमेत सुरु गरेको छ ।
रेबानद्वारा दैनिक ५० जना पर्यटकलाई निःशुल्क खाना
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले लकडाउनका कारण नेपालमा रोकिएका विदेशी पर्यटक ५० जनालाई दैनिक निःशुल्क खाना खुवाएको छ ।
रेबानका अध्यक्ष अरनिको राजभण्डारीले ठमेलको लाबेला र नर्थ फिल्ड रेस्टुरेन्टमा पर्यटकलाई खाना खुवाइएको जानकारी दिए । अलपत्र परेका पर्यटकको सहयोगका लागि रेबानले सदस्य रेस्टुरेन्टबाट १० हजारदेखि १५ हजारसम्म सहयोग संकलन गरेको थियो ।
रेबानले लकडाउनकै समय अर्डर साथी नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
लकडाउनले गर्दा रेस्टुरेन्ट बन्द गर्नु परेको र आफ्ना ग्राहकहरु घरमा थुनिएको अवस्थामा पनि अनलाइनमार्फत सेवा दिने उद्देश्यले रेबानले आफ्नै मोबाइल एप ल्याएको हो । अर्डर साथीमार्फत ६० भन्दा बढी रेस्टुरेन्टहरुको खाना र खाजाको अर्डर एकै पटकमा लिन सकिन्छ ।
पाँचतारे होटल द एभरेस्ट पनि होम डेलिभरी गर्दै
पाँचतारे होटल द एभरेस्ट होटलले पनि होम डेलिभरी सेवा सुरु गरेको छ । होटलको फेसबुक पेजमार्फत खाना र खाजा डेलिभरीका लागि सुविधा दि“दै आएको छ । होटलले विशेषगरी बिरयानीपारखीलाई होम डेलिभरी सुविधा उपलब्ध गराएको हो । त्यसो त, एभरेस्टले अन्य खाना र खाजाको परिकार पनि होम डेलिभरी गर्दै आएको छ ।
फुडमाण्डुको सेवा निरन्तर
लामो समयदेखि अनलाइन डेलिभरी गर्दै आएको फुडमाण्डुले लकडाउन अवधिमा पनि आफ्नो सेवालाई निरन्तरता दिएको छ । विभिन्न रेस्टुरेन्टहरुसँगको सहकार्यमा फुडमाण्डुले होम डेलिभरी सुविधा दिएको हो । यसले गर्दा रेस्टुरेन्टहरुलाई पनि केही सहज भएको थियो भने उपभोक्ताले पनि घरमै बसी रेस्टुरेन्टको खाना र खाजा खान पाएका छन् ।
द बर्गर हाउसको पनि होम डेलिभरी सुविधा
बर्गरपारखीहरुलाई ध्यानमा राखेर द बर्गर हाउसले आफ्नो फेसबुक पेजमार्फत होम डेलिभरीका लागि अर्डर लिएर सुविधा दिइरहेको छ । काठमाडौ“ उपत्यकाभित्र आक्रामक ढंगले आफ्नो शाखा विस्तार गरिरहेको बर्गर हाउसले लकडाउनकै बीचमा निःशुल्क खानासमेत खुवाएको थियो ।