काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेको पैसा जम्मा गर्न लागेको छ । उद्योग प्रातिष्ठानमा कार्यरत कर्मचारीको बैशाखदेखि असारसम्म १ अर्ब २५ करोड रुपैयाँ सरकारले सुरक्षा कोषमा जम्मा गर्न लागेको हो ।
पहिलो किस्तावापत १८ करोड रुपैयाँ सरकारबाट प्राप्त भएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । बाँकी रकम असारभित्र प्राप्त भइसक्ने उनले बताए । ‘जेठ र असारको गरी ९४ करोड रुपैयाँ सरकारले भुक्तानी गर्न बाँकी छ । हामीले सरकारसंग मागिसकेका छौं । यो महिनाभित्र प्राप्त हुने छ’ उनले भने ।
कोरोना भाइरस महामारी नियन्त्रण रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) आदेशले उद्योग व्यवसाय बन्द भएपछि कोषमा आवद्ध व्यवसायिक प्रतिष्ठानहरुको वैशाखदेखि असारसम्मको योगदान रकम सरकारले तिर्ने घोषणा गरेको थियो । सरकारले बाँकी योगदान रकम जम्मा गरेपछि चालु आर्थिक वर्षमा कोषमा २ अर्ब ५० करोड रुपैयाँ थपिने कार्यकारी निर्देशक ज्ञवालीले बताए ।
कोषमा हालसम्म १२ हजार ४२१ रोजगारदाताबाट १ लाख ६६ हजार ६०० जना सुरक्षा कोषमा दर्ता भएका छन । हालसम्म १ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ कोषमा जम्मा भएको छ ।
यसैगरी निजामति करार सेवामा कार्यरत कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षामा ल्याउने तयारी भएको उनले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाहरुलाई पनि कोषमा आवद्ध गराउन प्रयास भइरहेको ज्ञवालीको भनाई छ । कोषको लगानी नीति मन्त्रिपरिषदमा विचाराधिन छ ।
कोषले अहिले संकलन भएको रकम बैंकहरुमा मुद्धति खातामा राखेर ब्याज आर्जन गरिरहेको छ । कोषले विभिन्न बैंकहरुको मुद्धति खातमा ३ अर्ब २७ करोड रुपैयाँ राखेको छ । लगानी नीति मन्त्रिपरिषदबाट स्वीकृति भएपछि कानूनले दिएको र प्रतिफल आउने क्षेत्रमा लगानी गर्ने तयारी कोषको छ । कोषमा बैंक तथा वित्तीय संस्था दर्ता भएका छैनन ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना नेपालको संविधानले नै सुरक्षा पाउने सम्पूर्ण मौलिक हकहरुलाई सुनिश्चित गर्ने आधार तय गरेकाले सरकारले कोष सञ्चालनमा ल्याएको हो ।
सामाजिक सुरक्षा कोषले सुरुमा चार योजना सञ्चालनमा हुने जनाएको छ । जसमा औषधोपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्त सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना छन ।
सामाजिक सुरक्षासम्बन्धी कार्यविधिमा रोजगारदाता कम्पनीले श्रमिकहरुको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टा गरेर त्यसमा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था छ ।
यसरी योगदानबापतको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरे मात्र सामाजिक सुरक्षा योजनाका सुविधा पाइनेछ । ०७५ गत मङिसर ११ गते नेपाल नयाँमा युगको सुरुवात नारा लिएर कोषको अवधारणा बृहत रुपका सार्वजनिक गरेको थियो ।