काठमाडौं । जापानको प्राचीन खानाको परिकार रामेन नेपालमा भित्रिएको छ । नेपाल विजनेश ग्रुपले दुईओटा रेष्टुरेन्ट सञ्चालन गरी सो परिकार भित्र्याएको हो ।
परिकार बनाउने प्रविधि भित्राउन २ करोड रुपैयाँ लगानी भएको ग्रुपका अध्यक्ष अर्जुन अधिकारीले बताए । सो परिकार बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्ट र ठमेलमा रहेको काठमाडौं गेष्ट हाउसमा पाइन्छ ।
जापानमा लामो समयदेखी रेष्टुरेन्ट सञ्चालन गर्दै आएका अर्घाखाँचीका अधिकारी सहित ४ जनाको समूहले सो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । अधिकारीले जापानमा एक दर्जन रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । विदेशमा रेष्टुरेन्ट सञ्चालनको अनुभवलाई नेपालमा पनि सदुपयोग गर्ने र नेपालीहरुलाई रोजगारी दिने उद्धेश्यले लगानी गरिएको सञ्चालक अधिकारीको भनाइ छ ।
रामेन जापानको चर्चित परिकार हो । विषेश गरी नेपालीहरुलाई लक्षित गरी रेष्टुरेन्ट सञ्चालन गरिएको भएपनि त्यहाँ बढि मात्रामा जापानीहरु जाने गरेका छन् । पछिल्लो समय जापानमा धेरै नेपालीहरु आवातजावत गर्ने भएकोले नेपालमा पनि रामेनको स्वाद चखाउने उद्धेश्यका साथ १ बर्ष भित्रमा ४ वटा आउटलेट सञ्चालन गर्नका लागि अध्ययन भइरहेको उनको जानकारी दिए ।
तत्कालका लागि पार्क भिलेजमै सेन्टर किचन स्थापना गरेका छन् । सेन्टर किचनबाटै २० वटा भन्दा बढि रेष्टुरेन्टहरुलाई रामेन बिक्रि गर्दै आएका छन् । दैनिक ७० जना भन्दा बढिलाई एक रेष्टुरेन्टबाट रामेनका परिकारहरु पस्किन सकिने उनको भनाई छ ।
रामेनको लागि ग्रुपले भैरहवा लगाएतका क्षेत्रमा किसानहरुलाई गहुँ, जहु र फापर उत्पादन गर्न लगाएका छन् । नेपाली उत्पादनलाई प्रयोग गर्ने उद्धेश्य कम्पनीको रहेको छ । रामेन जापानको छिटो र स्वास्थ्यकर खाना हो ।
नेपालमा पनि स्वास्थ्यकर परिकार बनाउन पिउन तथा प्रयोग गर्नका लागि पानी उत्पादन गर्ने सोच बनाएका छन् । काठमाडौंमा मात्र करिब २७ वटा भन्दा बढि जापानीज रेष्टुरेन्टहरु सञ्चालनमा छन् । ती मध्ये १२ वटा रेष्टुरेन्टमा रामेन पाइन्छ ।
नेपाल भ्रमण बर्ष २०२० नजिकिरहेको बेला रामेनको परिकार नेपालमा पनि पाइने भएपछि जापानका पर्यटकहरुलाई नेपाल बसाईमा थप सहयोग पुग्ने अपेक्षा लिइएको छ । बुढानिलकण्ठमा रहेको रेष्टुरेन्टको आगामी शनिबार नेपालका लागि जापानीज राजदुत मासाशी ओगावाले उद्धघाटन गर्ने भएका छन् ।
जापानमा पछिल्लो समय धेरै नेपालीहरु अध्ययनका लागि जाने गरेका छन् । यस्तै भ्रमणका लागि पनि नेपालीहरु जापानमा पुग्ने गरेका छन् । जापान पुगेका अधिकाशंले रामेनको स्वाद चाखेका हुन्छन् । त्यही स्वादलाई नेपालमा पनि निरन्तरता दिने उद्धेश्य अधिकारी सहितको रहेको छ ।
नेपाल एयरलाइन्सले आगामी भदौबाट जापानको ओसाकामा सिधा उडान गर्ने तयारी गरिरहेको छ । जापानीज खाना नेपालमा पनि पाउने भएपछि त्यहाँका पर्यटकहरुलाई यहाँ आउन थप सहज हुने सञ्चालक अधिकारीको विश्वास छ ।