परिवारमा जिजुबाजेदेखि नै सेवा क्षेत्रमा जागिरे । राणा परिवारमा सेवा क्षेत्रमा जागिर खाने चलन पहिल्यैदेखिकै थियो । जागिरको लिगेसीले प्रकाश जबरा (जङ्गबहादुर राणा) लाई पनि छोयो । र उनी राष्ट्रिय अनुसन्धान विभागको जागिरमा रमाइरहेका थिए ।
जागिरमा हुँदा रमाइरहेका राणाको भित्रभित्रै रहर भने अर्कै थियो ।
राणाको रहर थियो, सजावट । त्यो रहर उनीमा सानैदेखि नै थियो । केही सामान नमिलेको देख्यो कि त्यसलाई उनी मिलाएर राख्ने गर्थे । कुन सामानलाई कसरी मिलाउनुपर्छ भनेर सोच्ने गर्थे । घरमा होस् या साथीकहाँ हुँदा सामान नमिलेको देखे भनेर मिलाउने गर्थे । यस्तो अवस्थामा आफ्नै कोठामा अनेक सजावटका सामान नहुने कुरै भएन ।
राम्रा फर्निचर र सजावटको सामानले उनलाई लोभ्याइरहन्थ्यो । त्यसैले बुझ्ने भएदेखि उनी राम्रा फर्निचरमा दख्खल राख्न थाले । केही आफैले डिजाइन गरेर, केही बेलायती डिजाइन हेरेर कालिगडलाई अर्डर गरेर फर्निचर तयार पार्न थाले । नेपालकै काठ, हातले निर्माण गरेका फर्निचर र फर्निचरमा देखिने राजसी ठाँटले उनका आफन्तलाई पनि ती फर्निचर आकर्षित गरिरहेको थियो ।
आफ्नो रहर पूरा गर्न उनले बनाएका फर्निचरको उनलाई अर्डर आउन थालेको थियो । जति बेला उनी जागिरमै थिए ।
६ वर्षअघि मात्र क्लासिक भिक्टोरियन फर्निचरको इम्पेरियल फर्निचर नामक सोरुम खोलेका राणाले २५ वर्षअघि नै यही व्यवसायलाई स्थापित बनाइसकेका थिए । कुनै व्यवसाय रहरले थालिन्छन् । रहरले नै थालेका व्यवसाय स्थापित भएर अगाडि बढेको पनि पाइन्छ । राणाको रहरको काम अहिले नेपालको सम्भ्रान्त वर्गका लागि सबैभन्दा बढी माग हुने व्यवसाय भएको छ ।
‘फर्निचर व्यवसायमा म रहरै रहरले प्रवेश गरे,’ बालुवाटारस्थित सोरुमभित्र सजिएका महँगा फर्निचरको बीचमा रहेर राणाले असार अन्तिम साता क्यापिटल नेपाललाई भने, ‘जागिरमा थिएँ तर अर्डर आउन थालेपछि अर्डर लिँदै आफन्त र चिनेजानेका साथीहरुकोमा फर्निचर दिन थालें ।’
‘पहिला आफ्नै सौख र रहर पूरा गर्नका लागि फर्निचर बनाउने र सजाउने गर्थें । अर्डर आउन थालेपछि व्यवसाय बन्यो । त्यसपछि ६ वर्षअघि सोरुम नै खुल्यो,’ उनले भने ।
राणाले एकदुई आफन्तहरुका घरहरु सजाउन थाल्दाथाल्दै व्यवसाय सुरु गरे । आफन्तहरु जसले उनलाई विश्वास गरे, उनीहरुकहाँ मात्र राणाले फर्निचर पुर्याए ।
सोरुम खोल्नुअघि नै राणाले राष्ट्रिय अनुसन्धान विभागको डीएसपीबाट राजीनामा गरिसकेर व्यवसायलाई अँगालिसकेका थिए । त्यसैले उनले फुल टाइम नयाँनयाँ फर्निचरमा डिजाइन र घरभित्र इन्टेरियरको चासोलाई अगाडि बढाउँदै लगेका थिए ।
नेपालभित्र हातले बनाएका राम्रा काठबाट बनेका फर्निचरको चर्चा आफन्त, साथीभाइ हुँदै दरबारसम्म पुगेको थियो ।
‘त्यो बेला श्रुति सरकारको विवाहका लागि फर्निचर पनि मैले गरें, दरबारबाट पनि फर्निचरबारे चासो बढेपछि अर्काे व्यवसाय थप्नुभन्दा यसको नै दायरा फराकिलो बनाउने योजना बन्यो र कालिगड, इन्टेरियर डिजाइनर थप्दै गएँ,’ उनले भने ।
दरबार मात्र होइन, गणतन्त्र आएपछि राणाले राष्ट्रपति कार्यालयमा पनि आफ्ना भिक्टोरियन क्लासिक फर्निचरलाई पुर्याए । राष्ट्रपति कार्यालय शितलनिवासमा उनका धेरै फर्निचर पुगेका छन् । शीतल निवासमा बेलायती क्यासिक भिक्टोरियन फर्निचर पहिलादेखि नै थिए ।
पहिला राजाका विदेशी पाहुना आउँदा तिनलाई शीतल निवासमा राख्ने गरिन्थ्यो । २०४३÷४४ सालमा राणाले चिनेका प्रज्वन्नविक्रम शाहले शीतल निवासको एउटा कुर्सी मर्मतका लागि बोलाएका थिए । उनले एक जना भारतीयलाई लिएर शीतल निवास गए । ती भारतीयले राणालाई भने, ‘यो मर्मत गरेर के हुन्छ ? म एउटा कुर्सीको पाँच लाख दिन्छु ।’
उनलाई अचम्म लाग्यो, पछि बुझ्दा भारतीयहरुले नेपालका प्राचीन, राणा, राजाहरुको निवासका पुराना फर्निचर लगेर त्यसैको कपी गरेर बजारमा पठाउने गर्दा रहेछन् ।
‘दरबारमा भएका अधिकांश फर्निचर प्राचिन र कलात्मक हुने गर्छन् । त्यही भएर उनीहरु पुराना फर्निचरलाई महँगोमा खरिद गर्ने रहेछन्,’ राणाले भने, ‘ पछि रामवरण यादव राष्ट्रपति भएपछि मलाई त्यहाँबाट बोलाएका थिए, गएँ । तर त्यहाँ अर्कै रङ पोतिसकिएको थियो,’
नेपालमा क्लासिक भिक्टोरियन फर्निचर जङ्गबहादुर राणा बेलायत गएर आएपछि भित्रिएको हो । बेलायत गएर आउँदा केही फर्निचर ल्याएपछि भिक्टोरियन फर्निचरहरु दरबारतिर देखिएका हुन् । अहिले नेपालमा पाइने सबै क्लासिक फर्निचर भिक्टोरियनकै कपी भएको राणा बताउँछन् ।
आफनै दाइ विकास राणाको घरमा इम्पेरियलका सबै फर्निचर छन् । घरका सजिएका फर्निचर हेर्दा लाग्छ, इम्पेरियलको मुख्य सोरुम नै यही हो ।
इम्पेरियलले अहिले व्यवसायी दीपक मल्होत्रा, हेम गुरुङ, विनोद ज्ञवाली, रघु पुरी, राजु ढकाल, एचएन राइलगायतकहाँ उनका फर्निचरमार्फत अहिले सजावटको काम गरिरहेको छ ।
‘सोरुममै आएर सिङ्गल सिङ्गल सामानहरु धेरैले लैजानुभएको छ, सिंहदरबारभित्र पनि विभिन्न मन्त्रालयमा सामान गएको छ,’ राणाले भने ।
नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरुले आफ्नो मुलुक जाँदा पनि इम्पेरियलका फर्निचर लैजाने गरेका छन् । सबैभन्दा बढी त चीनतिर इम्पेरियल फर्निचरका सामान पुगेका छन् ।
बेल्जियमस्थित नेपाली दूतावासका राजदूतले नेपालमा पनि यस्तो फर्निचर बन्छ भनेर देखाउनकै लागि दूतावासका लागि फर्निचर अर्डर गरिसकेका छन् ।
किन बढिरहेको छ त इम्पेरियल फर्निचरको डिमान्ड ?
राणा भन्छन्, ‘यो ह्यान्डमेड हो, युनिक डिजाइन हुन्छ । त्यसैले यसको माग बढी रहेको हो । हातले नै बनाउने भएपछि समय लाग्छ, माग बढी छ । तर त्योअनुसार दिन सकिएको छैन ।’ यो फर्निचर निर्माणका लागि दक्ष कालिगड आवश्यक पर्छ । तर नेपालमा कालिगडकै अभाव छ ।
‘नेपालमा यो काम सिक्न खोजे जस्तो पाइँदैन, यसमा दैनिक २ हजार कमाउन सकिन्छ, महिनामा ६० हजार तर ३० हजारका लागि हाम्रा युवाहरु खाडी मुलुक पुगेका छन,’ उनले भने ।
सरकारले पनि नेपालमा पनि यस्तो बन्छ भनेर ध्यान नै दिएको पाइँदैन । नेपालको ह्यान्डमेड क्यासिक फर्निचर विदेशमा निर्यात गर्न सकिने प्रशस्त सम्भावना छ । तर प्रवद्र्धन गर्न सरकारले नै योजना नबनाएको राणाको भनाइ छ ।
सलिड उडद्वारा नेपालमै बनेका क्लासिक भिक्टोरियन डिजाइनका फर्निचरमा सिसौका काठ प्रयोग भएका छन् । प्रख्यात डिडेकोर, भर्सासी ब्रान्ड फ्याब्रिक इम्पेरियल फर्निचरमा प्रयोग हुन्छन् । नेपालमा पाउने काठ विदेशमा पाइँदैन, नेपालको काठमा कलर पनि राम्रो हुन्छ । त्यसैले पछिल्लो पटक सम्भ्रान्त परिवारको घरमा इम्पेरियल फर्निचरका सामान सजिने गरेका छन् ।
सामान, समय र मिहिनेत हेरेर फर्निचरको मूल्य तय हुन्छ । इम्पेरियलका फर्निचर गोल्डेन र मरुन कलरका कम्बिनेसनमा उत्पादन हुने गर्छन् । त्यसैले पनि यसको आकर्षण ज्यादा देखिन्छ ।
पहिला घर बनाइसकेपछि सर्ने बेलामा फर्निचरको चासो हुन्थ्यो । तर अहिले घर बनाएर कलर गर्ने बेलामा कस्ता फर्निचर राख्ने भन्ने चासो हुने गरेको राणा बताउँछन् । ‘अझ हाम्रो फर्निचर बनाउन त २ महिनाभन्दा बढी लाग्छ, त्यसैले इन्टेरियर गर्ने हो भने घर बनाएर फिनिसिङ हुनुअघि नै अर्डर गर्नुपर्छ,’ उनले भने ।
बालुवाटारमा ६ हजार स्क्वायर फुटमा इम्पेरियल फर्निचरको सोरुम छ । असारको अन्तिम सातादेखि धापासीमा पनि नयाँ सोरुम खुलेको छ ।