काठमाडौं । आज असार १५ अर्थात रोपाईं जात्रा तथा धान दिवस देशभर मनाइदैंछ । खेतमा रोपाईं गरी हिलाम्य भएको शरीरलाई शीतलता र ऊर्जा दिन दही चिउरा खाने पर्वका रुपमा पनि असार १५ लाई लिइन्छ ।
जेठ तेस्रो सातादेखि किसानहरु धान रोपाईंको चटारोमा हुन्छन् । असार १५ मा मनसुन सक्रिय भइ सबैतिर रोपाईं सुरु भइसक्छ । ‘मानो रोपेर, मुरी फलाउने’ महिनाका रुपमा असारलाई लिइन्छ ।
वि.सं २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवका रुपमा मनाउन थालिएको हो । त्यसअनुसार, आज १७ औं राष्ट्रिय धान दिवशका अवसरमा देशभर रोपाई जात्रा मनाइदैछ ।
दिवशको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ रहेको छ । राष्ट्रिय अनुसन्धान परिषद् (नार्क) र कृषि विभागको संयुक्त आयोजनामा खुमलटारमा विशेष धान दिवश तथा रोपाईं महोत्सव कार्यक्रम हुँदै छ ।
कृषिमन्त्री घनश्याम भुसाल उदयपुरको बेलका नगरपालिकामा चक्लाबन्दी खेती सुरु गर्ने कार्यक्रमसहित धान रोपाइँमा सहभागी हुँदैछन् । त्रियुगा नगरपालिकाका विभिन्न कृषिका संघसंस्था तथा निकायले आयोजना गर्ने रोपाईं महोत्सवमा मन्त्री भुसाल सहभागी हुने कार्यक्रम छ ।
धान नेपालको प्रमुख खाद्यवाली हो । देशको कुल ग्रार्हस्थ उत्पादन(जीडीपी) मा धानको महत्वपूर्ण योगदान रहन्छ । धान बढी फलेको वर्ष जीडीपी प्रतिशत वृद्धि हुन्छ । धान उत्पादनमा वृद्धि गर्ने लक्ष्यका रुपमा धान दिवश मनाउँछौं ।
हाम्रो कृषि प्रणाली वैज्ञानिक ढंगको छैन् । समयमै मल, बीउ किसानले पाउन सक्दैन । माटो परीक्षण, बीउ छनोट र मनसुनी वर्षाको भर पर्नुपर्ने बाध्यता छ ।
आयातमुखी उत्पादन
नेपालमा अधिकांश मोटो प्रकृतिको धानको बीउ रोपिन्छ । अधिकांश किसानले पुरानै जातको धानको बीउ रोप्ने हुँदा मोटा धानकै उत्पादन हुन्छ, अधिकांश नेपालीले मोटा चामल उपभोग गर्दैनन् ।
बास्नादार, बासमती तथा मसिनो चामल नै हामी नेपालीलाइ मनपर्छ । खान स्वादिलो हुने मसिना चामल भने यहाँ उत्पादन हुँदैन । त्यो भारतबाट नै आयात हुने गर्छ ।
मसिनो धान उत्पादन तथा क्षेत्र विस्तारतर्फ जोड दिन सकिएको छैन । मसिनो जातका धानको बीउका रुपमा चैतेधान र चैते ५ लगाय अन्य बीउ सिफारीस गरिएको छ । तर, त्यसको उत्पादन र क्षेत्र विस्तार हुन सकेको छैन् । मोटा धान भन्दा किसानलाइ मसिनो प्रकृतिको धान रोप्न प्रोत्साहन गर्नुपर्छ । चैतधानको बढी फल्ने र उत्पादन राम्रो हुने गर्छ ।
अहिलेको अवस्थामा मासिक २ अर्ब रुपैयाँको चामल भारतबाट आउने गर्छ । भन्सार विभागका अनुसार, गत आर्थिक वर्षमा झन्डै २८ अर्ब रुपैयाँ बराबरको चामल आयात भएको थियो ।
चालू आवमा भने कोभिड महामारी नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दीले आयात घटेको देखिन्छ । चालू आवमा हालसम्म १९ अर्ब रुपैयाँको चामल आयात भइसकेकेको छ ।
नेपालबाट पनि धान र चामल दुबै भारतमा निकासी हुने गरेको छ । अनौपचारिक निकासीका कारण भन्सार विभागको तथ्याँकमा आउने गरेको छैन ।उन्नत जात, मसिनो तथा चैतेधानको क्षेत्र विस्तार र उत्पादनमै जोड दिनुपर्ने विज्ञहरु बताउँछन् ।
अहिले चैतेधान करिव १ लाख हेक्टरमा मात्रै जमिनमा चैतधान विस्तार गर्न सकेमा धानमा करिव आत्मनिर्भर हुन सकिने अवस्था रहेको विज्ञ भोलामानसिंह बस्नेत बताउँछन् । चैतेधान नै खाद्य सुरक्षाका लागि बरदान रहेको उनी बताउँछन् ।
बर्षेको तुलनामा चैतेधानको उत्पादन प्रतिहेक्टर २५ प्रतिशतले बढ्ने उनको भनाइ छ । अधिकांश किसानले घाम नलागेको सिजनमा धान रोप्ने र पुरानो जातको धान रोप्ने कारणले उत्पादन बढ्न नसकेको उनी बताउँछन् ।
पुरानै जातको बीउ
भौगोलिक अवस्थिति र हावापानी सुहाउँदो धानबाली लगाउने गरिन्छ । खासगरी तराईमा राधा (राष्ट्रिय धानबाली) १२, राधा १३, राधा १४ जातका धान लगाउने गरिन्छ । मध्य पहाड र पश्चिम क्षेत्रमा राधा ४ जातको धान लगाउने गरिन्छ ।
पहाडी क्षेत्रमा लेकाली—१, लेकाली—२ धान लगाइन्छ भने तराइमा बहुगुणी १ र २ जातको धान रोप्ने गरिन्छ । राष्ट्रिय अनुसन्धान परिषद् (नार्क) ले विभिन्न जातका धानको सिफारीस गर्दै आएको छ । नार्कका अनुसार, अहिले मसिनो जातको रुपमा चैते—५ धान सिफारीस भइसकेको छ । नेपालमा झन्डै ३ हजार रैथाने जातका धान छन् ।
मल अभाव पुरानै रोग
असार १५ सम्म आइपुग्दा देशभर रासायनिक मलको हाहाकार छ । किसानले मल पाउन सकेका छैनन् । समयमै मल खरिद प्रक्रिया अघि नबढाइँदा किसानले मल नपाउने पुरानै रोग हो ।
पछिल्लो पटक भने कोभिड र बन्दाबन्दीका कारण मल ढुवानीमा समस्या भएका कारण पनि किसानले मल पाउन नसकेको सरकारी अधिकारीहरु बताउँछन् । करिब ५० हजार मेट्रिक टन मल भारतमै रोकिँदा देशभर मलको हाहाकारको भएको छ ।
सबैभन्दा ठूलो अनुदानका रुपमा किसानले पाउने रासायनिक मल नै हो । चालू आवमा साढे ९ अर्ब रुपैयाँ मलका लागि छुट्याएको थियो । आगामी आव २०७७।०७८ मा मलको अनुदान रकम बढाएर ११ अर्ब रुपैयाँ विनियोजन भएको छ ।
नेपालमा करिव ६ लाख मेट्रिकटन मल आवश्यक पर्छ । तर, नपुग ३ लाख मेट्रिकटन मुस्किलले आपूर्ति हुने गर्छ । नेपालमा मल उत्पादन हुँदैन । मागअनुसार मल भारतबाटै आयात गर्नुपर्छ । कृषि मन्त्रालयअन्र्तगतको कृषि सामग्री केन्द्र र साल्ट टेडिङ कर्पोरेसनले मल खरिद गरी बिक्री वितरण गर्छन ।
५ लाख टन धान अपुग
धानको उत्पादन र उत्पादकत्व बढाइ आत्मनिर्भर बन्ने कार्यक्रम र योजना बन्छन् । तर, फगत पछिल्लो एक दशकयता धान उत्पादनले त्यति फड्को मार्न सकेको छैन् । अर्थात स्वदेशी मागअनुसारको धान उत्पादन हुन सकिरहेको छैन् ।
कुल ६० लाख मेट्रिकटन धान उत्पादन भएमा पुग्ने अनुमान छ । करिव ५५ लाख ५० हजार मेट्रिकटन मात्रै उत्पादन भइरहेको छ । अझै ५ लाख टन अपुग रहेको सरकारी अधिकारी नै बताउँछन् ।
५ वर्षको तथ्यांक हेर्दा धान उत्पादनमा उतारचढाव भएको देखिन्छ । आर्थिक वर्ष २०७०/०७१ मा ५० लाख ४७ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।
त्यसयता, दुई आवमा धान उत्पादन घटेको छ । आव २०७१/०७२ मा ४७ लाख ८६ हजार र २०७२/०७२ मा ४२ लाख ९४ मेट्रिकटन धान उत्पादन भएको छ ।
त्यसपछि भने धान उत्पादन क्रमशः बढेको छ । आव २०७२/०७३ को तुलनामा आव २०७३/०७४ मा २२ प्रतिशत बढेर ५२ लाख २९ हजार टन धान उत्पादन भएको सरकारी तथ्यांक छ ।
त्यस्तै, आव २०७४/०७५ मा ५१ लाख ५२ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यो वर्ष समयमै मनसुन सुरु भएकाले सतप्रतिशत रोपाइँ हुने अनुमान छ ।
मनसुनकै भर
नेपालको कुल कुल खेतीयोग्य जमिनमध्ये १४ लाख ५८ हजार हेक्टरमा धान खेती हुन्छ । तर, अधिकांश जमिन मनसुनकै परमा रोपाईं हुन्छ । किसानले आकाश हेरेर खेती लाउनुपर्ने अवस्था छ । पर्याप्त सिँचाइ सुविधा पुग्न सकेको छैन् ।
अहिलेसम्म ४५ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलव्ध छ । बाँकी ५५ प्रतिशत धान खेतीयोग्य जमिन मनसुनमै निर्भर छ । समयमै वर्षाद भएको वर्ष धान उत्पादनको अवस्था राम्रो हुन्छ ।
हालसम्म कुल ३० लाख भन्दा बढि हेक्टर जमिन खेतीयोग्य जमिन छ । अधिकांश तराइका जिल्लामा केही सिँचाइ सुविधा राम्रो भए पनि पहाडी क्षेत्रमा पुग्न सकेको छैन् ।सिँचाई सुविधा, मल, बीउ र यान्त्रिकीकरण बिना धान उत्पादन बढ्न नसक्दैन ।
अहिले नेपालीको भात मात्र खाने संस्कृति भएका कारण चामलको आयात बढिरहेको हो । हरेक नेपालीले प्रतिवर्ष प्रतिव्यक्ति १३८ केजी चामल उपभोग गर्ने गरेको अध्ययनले देखाउँछ । तर, कृषियोग्य जमिन बाँझो हुने क्रम बढ्दै छ ।
यता, सहरीकरणले जग्गा प्लटिङ हुँदै गएकाले खेतीयोग्य जमिन खुम्चिएको छ । खाने मुख बढेको छ । खेतीयोग्य जमिन खुम्चिदै छ । यो पनि कृषि क्षेत्रको मुख्य समस्या हो ।
अहिले मनसुन सक्रिय भइसकेको छ । साउन अन्त्यसम्म नै रोपाइँ हुने भएकाले सतप्रतिशत नै रोपाइँ हुने देखिन्छ । मुलुकको आर्थिक वृद्धि गर्न व्यापार घाटा कम गर्न धान उत्पादनमा जोड दिनुपर्छ ।
त्यसका लागि किसानलाइ समयमै मल, बीउ तथा तालिम, सिँचाइ सुविधाको व्यवस्था गर्नु सरकारको दायित्व हो ।माटोको परीक्षण, बीउ छनौट, यान्त्रिकरण लगायतका कुरामा किसानले पनि ध्यान दिएमा धानको उत्पादन बढ्नेछ ।